रौतहट– करिब १३ वर्षअघि रौतहटको राजपुर फरहदवामा भएको बम विस्फोटका घाइतेको हत्या प्रकरणमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ।
पूर्वमन्त्री मोहम्मद आफताब आलमका भाइ राजपुर नगरपालिकाका मोहम्मद महताब आलम आइतबार राति भारतको मोतीहारीबाट पक्राउ परेका हुन्।
महताबलाई सीमा क्षेत्रबाट पक्राउ गरिएको प्रदेश २ का प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिंहले जानकारी दिए।
दाजु पक्राउ परेदेखि महताब फरार थिए। प्रहरी स्रोतका अनुसार उनलाई भारतीय प्रहरीको सहयोगमा पक्राउ गरिएको हो।
मोतीहारीस्थित आफन्तकहाँ बस्दै आएका महताबलाई रौतहट र भारतीय प्रहरीको संयुक्त टोलीले पक्राउ गरेर नेपाल ल्याइएको बुझिएको छ।
पहिलो संविधानसभा निर्वाचनअघि २०६४ चैत २७ राति राजपुर नगरपालिका–४ स्थित आलमका काका सेख इद्रिसको गोठमा बम विस्फोट भएको थियो ।
पूर्वमन्त्री आलम र उनका भाइ महताबलगायत ११ जनामाथि उक्त विस्फोटमा घाइते भएका यमुना गाउँपालिका–४ का त्रिलोकप्रसाद सिंह (पिन्टु), ओसी अख्तरलाई इटा भट्टामा जिउँदै जलाइएको आरोप छ।
मुख्य आरोपित आलम पुर्पक्षका लागि गत कात्तिक २९ गतेदेखि काठमाडौंको नक्खु कारागारमा छन् ।
मृतक पिन्टुका बुवा श्रीनारायण सिंह र अख्तरकी आमा रुक्साना खातुनले कांग्रेस नेता आलमलगायत ४ जनाविरुद्ध २०६५ वैशाख ९ गते किटानी जाहेरी दिएका थिए ।
घटनाको दुई महिनापछि २०६५ असार १ र ९ गते आलम र महताबसहित ४ जना पक्राउ परेका थिए तर चारै जनाको म्याद थप गरेर एकै दिनमा अनुसन्धान सकी सरकारी वकिलको कार्यालय गौरमा मिसिल पेस गरी साँझपख प्रमाण नपुगेको भन्दै छाडिएको थियो ।
आरोपितहरू छुटेपछि २०७१ मंसिर २० गते पीडितका तर्फबाट छानबिन गरिपाउन भनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा निवेदन दिइएको थियो । न्याय नपाएको भन्दै पीडितले सर्वोच्च अदालतमा रिट हालेपछि पुनः छानबिन गर्न आदेश भएको थियो ।
त्यसपछि पक्राउ परेका आलमलगायतका ११ जनाविरुद्ध अनुसन्धान गरी कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थलगायत कसुरमा जन्मकैद सजायको मागसहित अभियोगपत्र दर्ता गरिएको छ ।