काठमाडौं– सत्तारूढ नेकपा विवाद स्थायी कमिटीमा प्रवेश गरेको छ।
आज (आइतबार) दिउँसो १ बजेदेखि सुरु हुने स्थायी कमिटीमा नेकपाका अध्यक्षद्वयका प्रस्तावमाथि छलफल हुँदैछ।
दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले पेस गरेको राजनीतिक प्रस्ताव (आरोपपत्र) बारे सचिवालयमा टुंगो नलागेपछि यसलाई स्थायी कमिटीमा छलफल गर्न लागिएको हो।
सहमतिका आधारमा अघि बढ्ने समझदारी तोड्दै अब विवादको टुंगो स्थायी कमिटीबाट लगाइनेछ।
साढे दुई वर्षअघि पार्टी एकता घोषणा गर्दा समझदारीपत्रको पहिलो बुँदामा ‘आगामी एकता महाधिवेशन वैचारिक, राजनीतिक विषय एवम् नेतृत्व निर्माण र संगठनसम्बन्धी विषय अल्पमत, बहुमतका आधारमा नभई सहमति र समझदारीका आधारमा टुंगो लगाउने’ भनिए पनि समझदारी नभएपछि विवाद स्थायी कमिटीमा प्रवेश गर्न लागेको हो।
स्थायी कमिटीमा पुगेको विवाद बहुमत अल्पमतको आधारमै निर्णय हुन सक्ने एक सदस्य बताउँछन्। बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली उपस्थित हुने सम्भावना कमजोर रहेकाले बहुमत र अल्पमतका आधारमा निर्णय हुन सक्ने उनको तर्क छ।
यदि निर्णय बहुमतकै आधारमा हुने हो भने ओली हरेक कमिटीमा अल्पमतमा पर्ने देखिएको छ। उनी सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटीदेखि संसदीय दलमा समेत अल्पमतमा पर्ने छन्।
आफू अल्पमतमा रहेकै कारण ओलीले स्थायी कमिटी बैठक नडाक्न सचिवालय बैठकमा दबाब दिँदै आएका थिए।
सचिवालयमा ओली अल्पमतमा
नेकपाको सचिवालयमा नौ जना सदस्य छन्। प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष शर्मा ओली पक्षमा तीन जना र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल पक्षमा पाँच जना छन्।
सचिवालयका सदस्यमध्ये स्पष्ट रुपमा ओलीका पक्षमा ईश्वर पोखरेल र विष्णु पौडेल देखिएका छन्।
कार्यकारी अध्यक्ष पुष्पकमल दाहालका पक्षमा माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ छन्।
सचिवालय सदस्य रामबहादुर थापा पछिल्लो विवादमा तटस्थ देखिएका छन्। तर शनिबार बसेको सचिवालय बैठकमा उनले विवाद समाधानका लागि कार्यदल बनाउनुपर्ने मध्यमार्गी प्रस्ताव ल्याएका थिए।
प्रस्तावमा ओलीले समर्थन जनाए पनि दाहाल–नेपाल समूहले औचित्यहीन बताएपछि त्यो अघि बढ्न सकेन। प्रधानमन्त्री बनाउने ओलीको प्रस्तावले केही समयका लागि उनका पक्षमा देखिएका वामदेव गौैतम अहिले कित्ता परिवर्तन गरी दाहाल नेपाल समूहमा पुगेका छन्।
स्थायी कमिटीमा दाहाल–नेपाल समूहकै वर्चस्व
प्रधानमन्त्री एवम् अध्यक्ष ओली पार्टीको स्थायी कमिटीमा समेत अल्पमतमा छन्। अर्का अध्यक्ष दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल एउटै कित्तामा उभिएपछि अध्यक्ष ओली अल्पमतमा परेका हुन्।
४५ सदस्यीय नेकपाको स्थायी कमिटीमा हाल ४४ जना छन्। अग्निप्रसाद सापकोटा सभामुख बनेपछि एक स्थायी समिति सदस्य पद रिक्त छ।
स्थायी कमिटी सदस्यमध्ये ओलीका पक्षमा १२ सदस्य र अर्का अध्यक्ष दाहाल–नेपालको पक्षमा ३० जना सदस्य छन् ।
सचिवालय सदस्यसमेत रहेका स्थायी कमिटी सदस्य रामबहादुर थापा र अर्का स्थायी कमिटी सदस्य लेखराज भट्ट पछिल्लो विवादमा ओली निकट देखिएका छन्। तर पूर्व पार्टी माओवादीमा उनीहरूको संलग्नताले बहुमत–अल्पमतको पक्षमा जाने अवस्था आएमा उनीहरू कता लाग्छन् भन्ने टुंगो छैन।
यस्तै पूर्व माओवादी समूहमा रहेका स्थायी कमिटी सदस्यहरु हरिबोल गजुरेल, मणि थापा, देवेन्द्र पौडेल र टोपबहादुर रायमाझी पार्टीमा उत्पन्न विवाद समाधानका लागि दुई अध्यक्षलाई मिलाउन मध्यस्थकर्ताको भूमिका निर्वाह गर्दै आएका छन्।
उनीहरूले गत साता अध्यक्ष ओली र अर्का अध्यक्ष दाहाललाई छुट्टाछुट्टै भेटेर पार्टी एकता बचाउनुपर्ने पक्षमा लबिङ गरेका थिए।
ओलीको पक्षमा को को?
केपी शर्मा ओली
ईश्वर पोखरेल
विष्णु पौडेल
सुवास नेम्वाङ
सत्यनारायण मण्डल
रघुवीर महासेठ
पृथ्वीसुब्बा गुरुङ
किरण गुरुङ
शंकर पोखरेल
प्रदीप ज्ञवाली
छविलाल विश्वकर्मा
र विष्णु रिमाल
दाहाल–नेपाल पक्षमा को को?
पुष्पकमल दाहाल
माधवकुमार नेपाल
झलनाथ खनाल
वामदेव गौतम
नारायणकाजी श्रेष्ठ
भीम रावल
वर्षमान पुन
शक्ति बस्नेत
जनार्दन शर्मा
हरिबोल गजुरेल
चक्रपाणि खनाल
लीलामणि पोखरेल
मणि थापा
पम्फा भुसाल
मातृका यादव
गणेश शाह
देव गुरुङ
देवेन्द्र पौडेल
टोपबहादुर रायमाझी
गिरिराजमणि पोखरेल
अष्टलक्ष्मी शाक्य
युवराज ज्ञवाली
रघुजी पन्त
बेदुराम भुसाल
घनश्याम भुसाल
भीम आचार्य
गोकर्ण विष्ट
योगेश भट्टराई
सुरेन्द्र पाण्डे
मुकुन्द न्यौपाने
केन्द्रीय कमिटीमा पनि ओली अल्पमतमा
केन्द्रीय कमिटीमा समेत अध्यक्ष ओली अल्पमतमा छन्।
नेकपा केन्द्रीय कमिटीमा कुल ४४५ सदस्यमध्ये अध्यक्ष ओलीका पक्षमा १४४ जना र अर्का अध्यक्ष दाहालका पक्षमा ३०१ जना छन्।
संसदीय दलमै पनि ओलीले गुमाए बहुमत
ओलीले प्रतिनिधिसभाको संसदीय दलमै बहुमत गुमाएका छन्। संसदमा नेकपाका कुल १७४ जना सांसद छन्। तीमध्ये ओली पक्षमा ७८ र दाहाल–नेपाल पक्षमा ९६ जना छन्।