विराटनगर– ९ वर्षदेखि रोगले थलिएका भोजपुर षडानन्द नगरपालिका–४ का ७० वर्षीय रामबहादुर राईको उद्धार गरिएको छ।
प्रदेश १ सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले उनको उद्धार गरेकी हुन्।
राईको स्वास्थ्यमा केही महिनादेखि जटिल समस्या देखिएको छ। आर्थिक अवस्था कमजोर भएकाले उनी उपचार नगराई रोग पालेर बस्न बाध्य थिए।
राईको स्वास्थ्य अवस्था बिग्रिएपछि घरमा खानलाउनको समस्या छ। श्रीमतीको पनि निधन भइसकेको छ।
घरमा भएका एक छोरा (२५ वर्ष) पनि मानसिक रोगी छन्।
दुवैजनालाई उद्धार गरी विराटनगरको मानव सेवा आश्रममा ल्याइएको छ।
एक महिनाअघि राईको स्वास्थ्यमा थप समस्या देखिएपछि स्थानीय खार्तम्छा स्वास्थ्यचौकीले स्लाइन पानीलगायत प्राथमिक उपचार गरेको थियो।
घरमा ओढ्ने-ओछ्याउने समस्या भएपछि राईलाई परालमा राखेर स्लाइन पानी दिइएको थियो।
सो तस्बिर सामाजिक अभियन्ता झकिन्द्र खतिवडाले सामाजिक सञ्जालमा राखेपछि राईको स्वास्थ्य उपचार र रेखदेखको व्यवस्था सरकारले मिलाउनुपर्ने आवाज उठेको थियो।
राईको उद्धार गर्दै राज्यमन्त्री गजमेरले स्वास्थ्य उपचार र रेखदेखको काम सरकारले गर्ने बताइन्।
सहयोगापेक्षी तथा सडक आश्रित व्यक्तिहरूको उद्धार तथा पुनर्स्थापनाको काममा प्रदेश सरकार लागेको उनको भनाइ छ।
सामाजिक विकास मन्त्रालयले मानव सेवा आश्रमसँगको सहकार्यमा सहयोगापेक्षी तथा सडक आश्रितको उद्धार गर्दै आएको गजमेरले बताइन्।
मानव सेवा आश्रम विराटनगर प्रदेश १ संयोजक नवराज केसीले राईको रेखदेख र स्वास्थ्य उपचारको व्यवस्था मिलाइएको बताए। उनले भने, ‘स्वास्थ्य परीक्षणपछि रोगबारे थाहा हुनेछ।’