बुधबार, वैशाख १२, २०८१
  • गृहपृष्ठ
  • समाज
  • चित्रकलामार्फत असमानताविरुद्ध आवाज बुलन्द पार्दै सुनैना

चित्रकलामार्फत असमानताविरुद्ध आवाज बुलन्द पार्दै सुनैना

नौ कक्षामा पढ्दा डोली चढाइएकी कलाकार सुनैनाले स्नातकसम्म पढिन्, मिथिला चित्रकलालाई विश्वमञ्चसम्म पु-याइन् र चित्रकलामार्फत महिला सशक्तीकरणको आवाज उठाइरहेकी छन्। तर कसरी? 
 |  शनिबार, मंसिर २०, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २०, २०७७

नौ कक्षामा पढ्दा डोली चढाइएकी कलाकार सुनैनाले स्नातकसम्म पढिन्, मिथिला चित्रकलालाई विश्वमञ्चसम्म पु-याइन् र चित्रकलामार्फत महिला सशक्तीकरणको आवाज उठाइरहेकी छन्। तर कसरी? 

triton college

सुनैना ठाकुरका आमा र हजुरआमाले घरका भित्तामा चित्र बनाउँथे। अघिल्लो पुस्ताको सीप घरका भित्तामै सीमित थियो। सर्लाही श्रीनगरकी सुनैनाले त्यसको दायरा फराकिलो बनाउने अठोट गरिन्। परिणामस्वरुप उनी मिथिला चित्रकलाको पहिचान संसारका विभिन्न देशमा पु-याउन सफल भएकी छन्।

परम्परागत मैथिल जनजीवन, रीतिरिवाज र पौराणिक घटनावली प्रस्तुत गरिने नेपाली लोककलाको अभिन्न अंंग मिथिला चित्रकलामा प्रतीकात्मक र आध्यात्मिक बिम्बहरू असाध्यै चोटिला र सुन्दर हुन्छन्। 

परम्परागत रुपमा कोहबर, बाँस, लट्पटिया सुगा, विधि–विधाता आदि विषयमा कोरिने मिथिला चित्रकलालाई घरका भित्ताबाट अहिलेको अवस्थामा ल्याइपु-याउन धेरै लोककलाकारले योगदान दिएका छन्। त्यस्तै योगदान दिनेको सूचीमा अग्रपंक्तिमा पर्न सफल छिन् सुनैना ठाकुर। कलामार्फत आफ्नो सिर्जनायात्रालाई उचाइमा पु-याउन उनले गरेको संघर्षको कथा पनि कम रोचक छैन।

corrent noodles
Metro Mart

यसरी बस्यो जग 
मिथिला चित्रकला सिक्न सुनैनालाई कुनै ‘इन्स्टिच्युट’ धाउनु परेन। आमाहरूले भित्तामा कोरेको चित्र नै उनको पाठशाला बन्यो। 

विद्यालयको पढाइका लागि किनिएका कापी उनले चित्र बनाएरै सकाउन थालिन्। बिस्तारै ती चित्रलाई गाताभित्रै सीमित राख्न मन भएन र, अगाडि बढ्ने प्रयास गरिन्। तर, परिवार र समाज तगारो बनेर उभिए। 

‘हाम्रो समुदायमा छोरीको पनि रहर हुन्छ, उनीहरु पनि पखेटा फैलाउँदै स्वतन्त्र आकाशमा उड्न चाहन्छन्/सक्छन् भन्ने सोचिँदैन,’ सुनैना विगत सम्झिन्छिन्, ‘छोरीबुहारीलाई घरभित्रै सीमित बनाउने सामाजिक व्यवस्था छ।’ 

स्कुले विद्यार्थी छँदै आफ्नो कलालाई घर र समुदायको चौखटभन्दा बाहिर पनि लैजानुपर्छ भन्दा सुनैनामाथि परिवारिक बन्देज झन् बढ्न थाले। परिवारले सुनैनालाई आफ्नो कला समुदायबाहिर त के विद्यालयसम्म पनि पु-याउन नदिने भयो। परिवारले उनलाई १६ वर्षको उमेर, कक्षा ९ मा पढ्दै गर्दा डोली चढाइदियो। 

झन्डै २० वर्षअघिका दिन स्मरण गर्दै उनी भन्छिन्, ‘परिवारलाई पनि के दोष दिनु र! त्यो बेलाको सामाजिक परिपाटी त्यस्तै थियो।’ 

उनले आफ्नो पढाइलाई निरन्तरता दिने जिद्दी गरिरहिन्। अन्ततः परिवारलाई राजी गराएरै सिउँदोमा सिन्दुर सजाएरै विद्यालय जान थालिन्। 

‘विवाहपछि पढाउने चलनै थिएन। मेरा सबै सँगीले विवाहपछि पढाइ छोडे,’ ठूला आँखा विस्फारित बनाउँदै सुनैना भन्छिन्, ‘मैले घर र माइती दुवैलाई राजी गराउन सकें, पढाइ र कला सँगै अगाडि बढाएँ।’ 

बिस्तारै उनको रुचि र कामबारे परिवार सहयोगी बन्यो। उनीभित्रको सिर्जना घरका भित्ताबाट कागज र कपडामा फैलिए।। परिवारले कुरा बुझे पनि समुदायबाट भने अड्चन आइरह्यो।

कलाको घेरो बढ्दै जाँदा उनी परिवार र समुदायमा मात्र सीमित रहन सकिनन्। आफ्ना चित्रकलाबारे बुझाउन, बेच्न र थप नयाँ गर्न नयाँ नयाँ मान्छे भेट्नुपथ्र्यो। तर समाजलाई यही विषय ‘मसला’ भइदियो। उनीमाथि लाग्ने लाञ्छनाका तारबार झन् कडा हुन थाल्यो। 

यहींनेर उनलाई परिवारले दरिलो साथ दियो। ‘घरपरिवारको साथ पाएपछि त मैले अरुको कुरा सुन्नै छोडें, पढाइ र काममा दत्तचित्त भएँँ।’ 

पढाइले दिएको बल
विवाहलगत्तै केही समय रोकिए पनि उनले पढाइलाई स्नातक तहसम्म पु¥याइन्। भन्छिन्, ‘पढाइले गर्दा लैंगिक भेदभाव, महिला हिंसा र आफ्नो हकबारे थाहा पाएँ, त्यसविरुद्ध जुध्न थालें।’ 

उनले असमानता र कुरीतिविरुद्धको अभिव्यक्तिका लागि चित्रकलालाई माध्यम बनाइन्। मिथिला चित्रकलामार्फत आवाज बुलन्द पार्न थालिन्।

मिथिला संस्कृतिको उत्थान, महिला सशक्तीकरण र लैंगिक समानतालाई ‘थिम’ बनाएर अगाडि बढेकी सुनैनाले अहिले यो विषयलाई सशक्त रुपमा उठाइरहेकी छन्। भन्छिन्, ‘एउटै चित्रले पनि म र मजस्ता सयौं मानिसको आवाज बोलिरहेको हुन्छ।’ 

फराकिलो चिनारी
आफ्नो सपना पूरा गर्न सुनौनाले गरेको संर्घषले उनीमात्र नभएर मुलुक र मिथिला चित्रकलाई अन्तर्राष्ट्रिय समुदायमाझ चिनाउँदै छ।

चित्रकलाको यात्राकै क्रममा उनले यूएनडीपीको ‘एन पिस अवार्ड २०१२’, अमेरिकास्थित सर्च फर कमन ग्राउन्डको ‘कमन ग्राउन्ड अवार्ड २०१६’, केयर नेपालको ‘सफल महिला उद्यमी अवार्ड २०१५’, ‘ललितकला विशेष पुरस्कार २०१७’, ‘राष्ट्रिय ललितकला पुरस्कार २०१८’ प्राप्त गरिसकेकी छन्।

त्यस्तै आरजेअफ इन्टरनेसनल अवार्ड २०१८, स्वरिङ आर्ट ग्रुप भारतको तर्फबाट बेष्ट पेन्टिङ अवार्ड २०१८ लगायत दजनौं पुरस्कारबाट सम्मानित भएकी छन्। 

सुनैनाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा दर्जन बढी एकल प्रदर्शनी गरिसकेकी छन्। यी प्रदर्शनीमा उनले ‘लाइभ पेन्टिङ’ पनि प्रदर्शन गर्छिन्। भन्छिन्, ‘थुप्रै कलाप्रेमीले लाइभ पेन्टिङलाई राम्रो रकम तिरेर तत्कालै किनेका पनि छन्।’ 

उनले न्युयोर्कमा सन् २०१६ र २०१९ मा दुई पटक एकल प्रर्दशनी गरिसकिन्। नयाँ दिल्लीमा २०१५, श्रीलंकामा २०१८ मा र जापानमा २०१९ मा दुई पटक प्रदर्शनी गरिसकेकी छन्। यीमध्ये केही एकल र केही संयुक्त प्रदर्शनी थिए।

गएको चैतमा जापानमा अर्को एकल प्रदर्शनीका लागि उनका चित्रकला जापान पुगिसकेका थिए। १३ चैतमा उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जापान उड्ने तयारीमा थिइन्। तर, कोरोना महामारीले उनको त्यो यात्रामा विराम लाग्यो। प्रदर्शनीका लागि जापानमा गरिएको तयारी, हल बुकिङलगायतबाट करिब ८ लाख नोक्सान भयो। 

लकडाउन खुलेर जनजीवन सामान्य हुन थालेपछि उनले टोकियोमा प्रदर्शनी गर्ने योजना बनाइन्। लकडाउनअघि पठाएका ३० वटा चित्र टोकियोमै थिए। लकडाउनको थिममा बनाइएका आठ थप चित्र पनि जापान पठाइन्। 

नोभेम्बर २५ देखि डिसेम्बर १ सम्म ‘भर्चुअल मिथिला चित्रकला प्रदर्शनी’ टोकियोमा प्रदर्शन भयो। 

आफू जनकपुरमै रहेर उनले टोकियोको प्रदर्शनीमा आएका कलापारखीसँग विमर्श गरिन्। त्यसक्रममा उनका १५ वटा कला बिक्री भए। 

उनी भन्छिन्, ‘नेपाली कला, संस्कृतिका ती चित्र विदेशीले आफ्ना घर, अफिसमा सजाएका होलान्। नेपाल र नेपालीलाई चिनाउने सुन्दर माध्यम हो– चित्रकला।’   

रोजगारी पनि
झन्डै एक दशकदेखि उनले ‘महिला क्षमता विकास केन्द्र’ मार्फत महिलालाई चित्रकला तालिम र कलाको व्यवसायीकरणमा सघाइरहेकी छन्। संस्थाको सुरुका  दिन सम्झँदै सुनैना भन्छिन्– ‘तालिम लिने महिला खोज्दै गाउँघर चहार्दा पनि कोही आउँदैनथे। परिवारले महिलालाई बाहिर निस्कनै नदिने।’ 

त्यसपछि उनले नयाँ उपाय सोचिन्। केही महिलालाई तिहार र छठको अवसरमा भित्तामा बनाइने चित्र कपडामा बनाउन राजी गराइन्।

अधिकांशलाई आफैंले रङ र कपडा किनेर दिइन् र तीमध्ये राम्रा कला छानेर आफैंले खरिद गरिन्। धेरथोर रकम हात परेपछि उनीहरुले परिवारबाट अलिक सहयोग पाए। बिस्तारै समुदायको तगारो साँघुरिँदै गयो।   

संस्थामार्फत झन्डै ३५० महिलालाई निःशुल्क तालिम दिएकी सुनैनाले ती महिला र आफ्ना चित्रकला राखेर जनकपुरको जानकी मन्दिर परिसर र काठमाडौंको ठमेलमा ‘सुनैना आर्ट ग्यालरी’ चलाइरहेकी छन्। १८ जनालाई प्रत्यक्ष रोजगारी दिएकी छन्। तीमध्ये १४ जना महिला छन्।

लकडाउनको सिर्जना
लकडाउनका बेला अरु जस्तै सुनैना पनि घरभित्रै बस्न बाध्य भइन्। एक दुईदिन त राम्रै बित्यो। त्यसपछि उनलाई छटपटी हुन थाल्यो। नहोस् पनि किन? लकडाउनअघि कहिले जनकपुर, कहिले काठमाडौं, कहिले आयोजकसँग छलफल, कहिले तालिम, कहिले वक्ता बन्नुपर्ने हुँदा उनलाई एकछिन फुर्सद हुँदैन्थ्यो। 

केही दिन घोरिएपछि सुनैनाको दिमागमा नयाँ विचार फु¥यो। बजारमा मास्कको व्यापार व्यापक बढेको थियो। मास्कको अभावका समाचार सञ्चारमाध्यममा आइरहेका थिए। 

उनले मास्कलाई नयाँ रुप दिने योजना फुराइन। मिथिला चित्र कोरिएका मास्क बनाउन थालिन्। त्यसबारे ग्राहकको प्रतिक्रिया राम्रो आउन थालेपछि बिस्तारै साडी, कुर्ता, ब्याग, कप लगायतमा पनि चित्र कोर्न थालिन्। 

अहिले उनलाई मिथिला चित्रकला भएका मास्कको माग धान्न धौधौ छ। उनले बनाएका मास्क डिजाइनअनुसार ८० देखि ३५० रुपैयाँसम्म बिक्री भइरहेका छन्।  स्थानीय बजारमा मिथिला आर्ट गरिएको साडी, सल, झोला, कुर्ताको माग पनि उत्तिकै छ। तर विदेशी ग्राहकमा निर्भर काठमाडौंको ग्यालरी भने ठप्पप्रायः छ। 

सुनैना भन्छिन्, ‘समयअनुसार चल्नुपर्छ, लकडाउनमा नयाँ सिर्जना नगरेको भए त चौपट हुन्थ्यो।’  

सुनैनालाई घरको चौघेरामा खुम्चिएका थुप्रै महिलालाई मिथिला चित्रकलामार्फत बाहिर ल्याउनु छ। उनीहरूको सशक्तीकरणमा मद्दत गर्नु छ। दाइजो प्रथा उन्मूलनका लागि काम गर्नु छ। समुदायका महिलालाई स्वाबलम्बी बन्न प्रेरित गर्नु छ। 

झन् महत्त्वपूर्ण काम गर्नु छ– मिथिला चित्रकलालाई विद्यालयको पाठ्यक्रममा समावेश गराउने। विद्यालयका पुस्तकमा विदेशी चित्रकलाका ठाउँमा मौलिक मिथिला कला समावेश गराएर बालबालिकाले आफ्नो कला, संस्कार र संस्कृतिबारे जानकारी दिने।
 

प्रकाशित: Dec 05, 2020| 03:08 शनिबार, मंसिर २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।