पत्रकार केदार वाशिष्ठ (भट्टराई) लुम्बिनी र कपिलवस्तुको राजनीतिक उत्खनन गर्दा नेपालबारे थुप्रै तथ्य फेला परेको बताउँछन्। प्राचीन कालदेखिको नेपाल काठमाडौं उपत्यका कि त्यसबाहिरको भूक्षेत्र पनि हो? नेपाल जातीय हो कि भौगोलिक नाम हो? किरात र लिच्छविका अध्ययन क्षेत्र कस्ता छन्? नेपालका बासिन्दा र तिनले बोल्ने भाषा कसरी र कहिलेदेखि नेपाली नै हो? यी र यस्ता थुप्रै प्रश्नको जवाफ बोकेको उनको कृति ‘नेपाल विद्या’ यसै साता सार्वजनिक भएको छ। ‘नेपाल विद्या’ बारे भट्टराईसँग नेपाल समयले गरेको संवाद:
नेपाल विद्या कुन विधाको कस्तो पुस्तक हो ?
नेपाल विद्या आफैंमा एउटा विधा हो। यो नेपालबारे समग्र विषय क्षेत्रको अध्ययन, अध्यापन र अनुसन्धानको विधा हो। देशीय विद्या अध्ययन परम्पराअनुरूप नेपालको अध्ययन हो यो।
कुनै पनि विषयमा एकल विषयक वा अन्तरविषयक अध्ययन हुन सक्छ र नेपालभित्रै वा बाहिर जहाँबाट पनि अध्ययन गर्न सकिन्छ। समग्रमा भन्दा यो राष्ट्रियताको केन्द्रमा रहेर खोज तथा सत्यापन गर्ने विधा हो।
यसमा कस्ता खालका रचना संकलित छन्?
नेपाल विद्या विधा निर्माण गर्ने पुस्तक हो। यस पुस्तकमा तीन वटा खण्ड छन्। पहिलो खण्डमा विधा निर्माणको सिद्धान्तका लागि आवश्यक सैद्धान्तिक आधार छ। सिद्धान्त स्थापना गर्दा देशीय विद्यासम्बन्धी अन्तर्राष्ट्रिय पक्षको खोजी गरिएको छ र ती देशका लागि पनि देशीय विद्या अध्ययनलाई स्थापना गर्ने अन्य सैद्धान्तिक पक्ष केलाइएको छ। त्यसका साथै नेपाल विद्याबारे बाहिरबाट भएका अध्ययन पनि केलाइएको छ। देशीय विद्याको प्रयोजन र महत्त्वलाई दर्शाउन नेपाली उदाहरण दिइएको छ।
पछिल्ला दुई खण्ड नेपाल विद्याको सिद्धान्तसम्बन्धी छन्। आमपाठकका लागि सिद्धान्त बुझ्न सहज होस् भनेर दुई वटा विषयको अनुसन्धानात्मक प्रयोग यसमा देखाइएको छ। तीमध्ये लुम्बिनी र कपिलवस्तुको राजनीतिक उत्खनन शीर्षकको पहिलोमा बुद्ध, लुम्बिनी र कपिलवस्तु जस्ता हाम्रा विभूति र सम्पदामाथि भएको अन्तर्राष्ट्रिय राजनीतिको पर्दा उघारिएको छ।
तेस्रो खण्डको शीर्षक ‘सिला खोजेको भाषा’ छ। यो नेपालका भाषाहरुको ऐतिहासिक खोजी र नेपाली भाषाबारे विदेशी अध्ययनले धकेलेको अनावश्यक राजनीति र नेपाली विद्वत्वर्गबाट पनि भएको त्यसै खालको अध्ययनको पुष्टि हो। नेपाली भाषाका लागि बेलायती अध्येताले दिएका खस, गोर्खा, पर्वते भाषा जस्ता नाम रहेको तर नेपाली नामचाहिँ पृथ्वीनारायण शाहको एकीकरणपछि मात्र लादिएको भन्ने अन्ध अध्ययन परम्परालाई यसले सच्याएको छ।
त्यसका लागि बेलायती अध्ययन परम्पराअघिको ल्याटिन परम्पराका सामग्री प्रमाणका रूपमा केलाइएको छ। सन् १७१७ मा नै नेपाली भाषा भनी अध्ययन भएको, सन् १७५९ मा रोमबाट देवनागरी लिपिमा नै नेपाली भाषा छपाइको युगमा प्रवेश गरेको र सन् १७७१ मा व्याकरण परम्परामा प्रवेश गरेको र त्यससँगै समानान्तर रूपमा नेवारी भाषाको पनि अध्ययन भएको ती सामग्रीले स्पष्ट गरेका छन्।
यी दुई प्रयोगले नेपालको राष्ट्रियतालाई केन्द्रमा राखेर सत्यापन गरेका छन् र सिद्धान्त खण्डको उदाहरणका रूपमा काम गरेका छन्। त्यसैले यी तीनवटै खण्ड नेपाल विद्या विधा निर्माणका आधार हुन्।
तपाईंको यो अनुसन्धान व्यक्तिगत हो ?
यो अनुसन्धान नितान्त एक्लो हो। यसमा कुनै संघसंस्थाको सहयोग पाइएको मात्र होइन खोजिएको नै छैन। मैले मेरो विद्यावारिधिको अनुसन्धानमा संस्थागत र व्यक्तिगत पनि असहयोग पाएकाले एक्लो प्रयासमा यो अनुसन्धान गरेको हुँ। तर मैले स्वदेशी र विदेशी विद्वान्, प्राध्यापक, विषय विज्ञहरुसँग निरन्तर सम्पर्कमा रहेर यो काम पूरा गरेको छु।
अनुसन्धानका लागि भौगोलिक क्षेत्रमा पनि पुग्नुभयो होला? सामग्री संकलन र विश्लेषण गर्दाका केही स्मरणीय सन्दर्भ छन् कि?
यो ऐतिहासिक पक्षको अनुसन्धान हो, त्यसैले यसमा स्थलगत अध्ययनको त्यति आवश्यकता नै परेन। लुम्बिनी क्षेत्रको भने अवलोकन भ्रमण गरेको हुँ। सामग्री संकलन पनि अधिकांशतः इन्टरनेटका खुला स्रोतका र कतिपय पैसा तिरेर गरिएका पनि छन् तर त्यस्ता पैसा तिर्नुपर्ने सामग्रीका लागि धेरै परिचित र अपरिचित मित्रहरुको सहयोग छ।
सामग्री संकलनका क्रममा मैले चिन्दैनचिनेका विदेशी महानुभावले मैले खोजेका र मागेका अति दुर्लभ सामग्री पठाइदिनुभएको छ। अचम्म लाग्दो कुराचाहिँ विभिन्न वृत्ति पाएर विदेशमा रहेका तिनै स्रोत र सामग्रीलाई सिरक र डसना बनाउने अनुसन्धानकर्ताले पनि किन त्यस्ता विषय नदेखेका होलान् भन्ने लाग्छ।
मेरो अनुभवले के देखाएको छ भने अनुसन्धानका लागि स्रोत र सामग्रीको समस्या होइन दृष्टिकोण, इच्छाशक्ति र लगनको अभाव मूल समस्या हो। अनि बेलायती अध्ययन परम्पराको अन्धभक्त भएर लाग्नु नेपालको अध्ययन परम्पराको मूल समस्या हो। एक किसिमले भन्ने हो भने अध्ययन अनुसन्धानमा रहेको उपनिवेशीकरण नेपालको समस्या हो।
यो अनुसन्धानात्मक पुस्तक आमपाठकले कति रुचाउलान्?
हरेक मानिसका आआफ्नै रुचि र चाहना हुन्छन्, पठन संस्कृतिमा पनि यो रहन्छ। तर सबै मानिसको राष्ट्रियताप्रतिको रुचि वा सम्मान निःसर्त हुन्छ। नेपाल विद्या राष्ट्रियताको जगमा निर्माण हुने र त्यसलाई पुष्टि गर्ने विधा भएको हुनाले यसमा सबैको रुचि रहन्छ। उदाहरणका लागि पहिलो प्रयोग लुम्बिनी र कपिलवस्तुको राजनीतिक उत्खनन सान्दर्भिक हुन्छ।
बुद्धको राष्ट्रियताबारे आउने गरेका अनर्गल प्रचारले जति नेपालीको चित्त दुख्थ्यो र बुद्ध नेपालमा जन्मेका हुन् भन्ने अभिव्यक्ति आउँथ्यो, त्यसैको विस्तारित रूप यो अध्ययन हो। यसमा बुद्ध, बुद्धको जन्म र जीवनकालका स्थलमाथि दुई सय वर्षभन्दा बढीदेखि हुँदै आएको राजनीति र घिनलाग्दो दाउपेच देखाइएको छ।
यस अध्ययनमा उनीहरुकै स्रोत सामग्री प्रयोग गरेर उनीहरुलाई नै जवाफ दिइएको छ। त्यसैले यो आमपाठक मात्र होइन समग्र नेपालीको रुचिको विषय हो। सिला खोजेको भाषाले पनि मानव जीवनको अभिन्न वस्तु भाषाको ऐतिहासिक पक्षको सत्यापन गरेको छ। नेपालको संस्कृति, भाषा, जाति, भूगोल, इतिहास यसमा छ, काल्पनिक कुरा छैन। गैरआख्यान विधाको विशेषता रहेको नेपाल विद्या सबैलाई प्रिय लाग्नेछ।
नेपालमा अध्ययन अनुसन्धान परम्परा कस्तो रहेको पाउनुभयो?
मैले यसबारे पुस्तकमा कृतज्ञता ज्ञापन गर्ने सन्दर्भमा पनि उल्लेख गरेको छु। केही विशिष्ट अध्ययनलाई छाडेर नेपालको अनुसन्धान परम्परा परम्परावादी, झारा टार्ने र गुदीविहीन छ। बढुवाका लागि र नामका अगाडि डा. थप्ने मोहमा गरिएका पीएचडी जस्ता औपचारिक अनुसन्धानको स्तर धेरै नै खस्केको छ।
साँच्चिकै मिहिनेत गरेर पीएचडी गर्नेहरु डा. लेख्न हिच्किचाउन थालेका छन्। नेपाल विद्याको परिचर्चाका लागि आमन्त्रित एक प्राध्यापकले आफूले यही कारणले डा. लेख्न छाडेको बताउनुभएको थियो। सञ्चारमाध्यममा पनि पीएचडी वा त्यस्तै अनुसन्धानहरु बौद्धिक चोरीका माध्यम बन्न थालेका समाचार आइरहेको पाइन्छ। देशको विद्या परम्परामा यो पेचिलो समस्या हो।
पाठकले यो पुस्तक किन पढ्ने?
पाठक स्वतन्त्र र सार्वभौम हुन्छ। पाठकले यही नै पढ्नुपर्छ भन्ने लेखकीय आग्रह हुनु हुँदैन। विषयवस्तु, भाषा, शैली पाठकका आआफ्नो रुचिका हुन्छन्। यति हुँदाहुँदै पनि मलाई के लाग्छ भने हरेक पाठकको अन्तर्मनमा रहेको राष्ट्रियताको हार्दिक पक्षले यो नेपाल विद्या पुस्तक पढ्न मात्र होइन नेपाल विद्या विधाको अध्ययन, अध्यापन र अनुसन्धानमा लाग्न प्रेरित गर्नेछ।