काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा एथ्लेटिक्सतर्फ म्याराथनमा पुष्पा भण्डारीले राष्ट्रिय कीर्तिमान कायम गरिन्। उनले कान्छीमाया कोजुको रेकर्ड पाँच मिनेटले ब्रेक गरेर कीर्तिमान कायम गरेकी थिइन्।
२ घण्टा ५० मिनेट ११ सेकेन्डमा दौडिएर पुष्पाले बनाएको रेकर्ड अहिले गायबजस्तै छ। गत मंसिर १५ गते साग सुरु भएको एक वर्ष पूरा भयो तर उनले बनाएको रेकर्ड अझैसम्म धेरैलाई थाहा छैन।
देशमा सबैभन्दा कम समयमा म्याराथन दौडने महिला को हुन् भनेर खोज्यो भने पनि पुष्पाको नाम कतै भेटिँदैन। वेबसाइटमा पनि उनको रेकर्ड अपडेट गरिएको छैन। पुष्पाको बुझाइमा यसको एकमात्र कारण हो– नेपाल एथ्लेटिक्स संघले उनको रेकर्डको बेवास्ता गर्नु।
यता उनले सागको प्रमाणपत्र पाउँदा भने रेकर्ड राखेको भन्दा ३३ सेकेन्ड बढेर पत्र प्राप्त भएपछि उनको आक्रोश ह्वात्तै बढ्यो। उनले सामाजिक सञ्जालमा गुनासो पोख्न ढिलो गरिनन्। ‘मेरो २ घण्टा ५० मिनेट ११ सेकेन्ड हो टाइमिङ तर प्रमाणपत्रमा २ घण्टा ५० मिनेट ४४ सेकेन्ड छ। ३३ सेकेण्ड केको सजाय हो मलाई ?’ पत्र प्राप्त भएपछि उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी थिइन्।
तर राष्ट्रिय खेल परिषद्(राखेप)ले भने सो गल्ती सच्याइएको बताएको छ। ‘हामीलाई टेक्निकल कमिटीले दिएको ह्यान्डबुकमा ४४ सेकेन्ड छ। फेरि संघका गुरुले दिँदा ११ सेकेन्ड नै रहेछ। हामीले सच्याएर अर्को प्रमाणपत्र तयार गरिसकेका छौं,’ राखेपका राष्ट्रिय टिम तयारी समितिका निर्देशक महेन्द्रकुमार राईले भने।
प्रमाणपत्रमा सच्चिए पनि राष्ट्रिय रेकर्ड सबैले थाहा पाउनुपर्ने तर्क गर्दै संघमा निकैपटक बिन्ति विसाउँदा पनि संघले उनको आग्रहलाई वास्ता नगरेको पुष्पा बताउँछिन्।
पुष्पाको गुनासो उनकै शब्दमा
मैले साग गेममा नेपाली महिला म्याराथनको राष्ट्रिय रेकर्ड बनाएको थिएँ। कान्छीमाया कोजुको रेकर्ड ५ मिनेटले ब्रेक गरेर २ घण्टा ५० मिनेट ११ सेकेण्डमा कुदेर रजत पदक र रेकर्ड गरेको आजसम्म अपडेट भएको छैन। त्यति मात्र होइन, सागमा प्राप्त सर्टिफिकेटमा पनि ३३ सेकेन्ड बढी लेखिएको थियो।
मलाई पहिलेदेखि नै संघले बेवास्ता गर्ने गरेको छ। मेरो संघमा कोही नभएकोले हो कि जस्तो लागेको छ । गएको आठौं राष्ट्रिय खेलकुदमा आएको फास्ट टाइमको रेकर्ड अपडेट भयो तर मेरो अन्तर्राष्ट्रिय इलेक्ट्रोनिक टाइमको भने रेकर्ड अझैसम्म आएको छैन।
यसबारे मैले चिफ कोच र एथ्लेटिक्स सङ्घ अध्यक्षलाई दुईरतिन पटक भने पनि उहाँले रिपोर्ट दिएका छौं हामी फेरि भन्छौं भन्नुहुन्छ।
भोलि कुनै खेलाडी २स्५०स्४३ मा दौड्यो भने के हुन्छ रु मैले फास्ट टाइममा कुद्दाकुद्दै पनि अरुको रेकर्ड कायम हुन्छ।
पहिले म सातौं नेशनल गेममा फस्ट हुँदा पनि क्लोज क्याम्पमा चाहिँ गेम हुने बेलामा मात्र परेँ। अरु इभेण्टको सेकेण्ड, थर्डलाई सुरुबाटै राखिएको थियो जुन कि म्याराथनको थर्डसम्मलाई क्लोज क्याम्पमा राख्नु पर्ने हो। म पछिल्लो राष्ट्रिय गेममा दोस्रो भएको थिएँ। तर सागमा अरुभन्दा धेरै पछि मात्र क्लोज क्याम्पमा परेँ।
मैले राष्ट्रिय गेममा पदक ल्याउन लागेको ०६८ सालदेखि हो। तर राष्ट्रिय छनौटमा सेकेण्ड हुँदा पनि ३ पटक क्लोज क्याम्पमा परेको छैन।
संघमा पनि मेरोबारे चिन्ता लिने कोच हुनुन्न। त्यसैले हो मलाई बारम्बार बेवास्ता गरिएको। संघ वा कुनै संस्थाले सम्मान दिने बेला रेकर्ड र पोइन्टको आधारमा दिन्छ। यसो हुँदा एउटाले कीर्तिमान कायम गरेको हुन्छ र सम्मान भने अरुले पाउँछ।
यस्तो अवस्थामा पहुँचमा भएका मानिस चुप लागेर बसेका कारण हामी पहुँच नभएका खेलाडी पछि परेका छौं। फेरि खेलाडीले संघमा गएर धेरै विदाद गर्न पनि मिलेन। समय पनि हुँदैन। अनि मानसिक रुपले पनि स्वास्थ्य रहन ट्रेनिङमा लाग्नु पर्छ।
गएको सागको क्लोज क्याम्पमा संघको व्यवहार देख्दा र यस्ता विभिन्न कारणले मलाई त घरिघरि खेल छाड्न मन लाग्छ।