काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाको खोपमा सबै मुलुक र जनताको सहज पहुँच तथा उपलब्धता हुनुपर्ने बताएका छन्।
कोभिड–१९ सम्बन्धी संयुक्त राष्ट्रसंघको ३१औं विशेष महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोनाका खोपहरू विश्वव्यापी सार्वजनिक वस्तु हुनुपर्ने बताएका हुन्।
रेकर्डेड भिडियोमार्फत बिहीबार राती सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मानव समुदाय नै संकटमा परेको समयमा जीवन रक्षाका खोपहरू उपलब्ध नभएसम्म विश्व महामारीबाट सुरक्षित नहुने बताएका छन्।
प्रधानमन्त्री ओलीले विश्वका ठूला मुलुक र कम्पनीले खोप उत्पादनका लागि गरेका प्रयासको प्रशंसासमेत गरेका छन्।
नेपाल सरकारले कोरोना महामारीबाट जनतालाई जोगाउन अहोरात्र खटिरहेको बताउँदै स्वास्थ्य सेवा सुधारमा पनि ध्यान दिइरहेको बताएका छन्।
कोरोनाको परीक्षण, उपचार निःशुल्क गरिरहेको बताउँदै स्वास्थ्य पूर्वाधार निर्माणमा तीनै तहका सरकार लागिपरेको प्रधानमन्त्रीले बताएका छन्। उनले भनेका छन्, ‘६८ वटा प्रयोगशालामार्फत् कोरोना परीक्षणलाई देशव्यापी बनाइएको छ।’