काठमाडौं– गैरकानुनी रुपमा तीन जनालाई दक्षिण अफ्रिका पुर्याएर बन्धक बनाएर राखेको अभियोगमा फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले ताप्लेजुङ, गेंरिडदेन गाउँपालिका– ४ घर भएका ४३ वर्षीय गणेशकुमार लोंवालाई महाराजगञ्जबाट पक्राउ गरेको हो।
वैदेशिक रोजगारीमा आकर्षक तलब दिलाई दिने प्रलोभनमा पारेर तीनजनालाई गैरकानूनी तवरले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट भारत, खाडी मुलुक हुँदै साउथ अफ्रिका पुर्याएको खुलेको छ।
‘त्यहाँ लगेर शारीरिक, मानसिक र आर्थिक शोषण गरी ४–५ महिनासम्म बन्धक बनाइराखेको देखिन्छ,’ ब्यूरोका प्रवक्ता एसपी अनुराग द्विवेदीले भने।
बन्धक बनाएर राखिएका तीनै जना कोही नभएको मौका पारी भागेर नेपाली राजदूतावासमा पुगेका थिए। दूतावासको समन्वयमा आफन्तहरुको सम्पर्कमा आई नेपाल फिर्ता भएपछि पीडितले ब्यूरोमा जाहेरी दिएका थिए।
ब्यूरोले पक्राउ परेका व्यक्तिलाई काठमाडौं जिल्ला अदालतबाट म्याद थप लिएर आवश्यक अनुसन्धान अघि बढाएको छ।