अर्थ समाचार

आन्तरिकसँगै बाह्य क्षेत्र पनि कमजोर, दलदलमा फस्दै अर्थतन्त्र

1610547616.jpg

काठमाडौं- नेपालको आन्तरिक आर्थिक क्षेत्रसँगै बाह्य क्षेत्र पनि कमजोर बन्दै गएको छ। चालू आर्थिक वर्षको पाँच महिनाको तथ्यांक हेर्ने हो भने बाह्य क्षेत्र कमजोर बन्दै गएको देखिन्छ।

NLG Insurance
agrakhi
Yeti parketing

नेपाल राष्ट्र बैंकका अनुसार गत कात्तिक मसान्तको तुलनामा मंसिर महिनामा वैदेशिक विनिमय सञ्चिति ३१ अर्ब ७३ करोड रुपैयाँले कमी आएको छ। कात्तिक मसान्तसम्म इतिहासकै सबैभन्दा धेरै रहेको विदेशी मुद्राको सञ्चिति मंसिर महिनादेखि ओरालो लाग्न थालेको हो।

नेपाल राष्ट्र बैंकका अनुसार कात्तिक मसान्तमा १५ खर्ब ६ अर्ब ६ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा रहेकोमा मंसिर महिनामा १४ खर्ब ७४ अर्ब ३४ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा सञ्चिति रहेको छ। 

पछिल्लो समयमा आयातमा आएको वृद्धि र निर्यातमा भएको गिरावटसँगै वैदेशिक मुद्रा सञ्चितिमा कमी आएको हो। भन्सार विभागका अनुसार कात्तिकको तुलनामा मंसिरमा १.०३ प्रतिशतले आयातमा वृद्धि भएको छ।

त्यस्तै निर्यात पनि ५.६९ प्रतिशतले खुम्चिएको छ। नेपालमा सामान आयात हुँदा वैदेशिक मुद्रामा भुक्तानी दिनुपर्ने तथा निर्यात् हुँदा वैदेशिक मुद्रा आम्दानी हुने गर्दछ। यी दुबैमा आएको परिवर्तनका कारण वैदेशिक मुद्राको सञ्चितिमा कमी आएको हो। 

त्यस्तै आयातमा आएको वृद्धिसँगै शोधनान्तर बचतमा पनि कमी आउन थालेको छ। चालू आर्थिक वर्षको पाँच महिनमा शोधनान्तर स्थिति १ खर्ब ६ अर्ब ४८ करोड रुपैयाँ बचतमा छ। 

कात्तिकमा एक खर्ब १० अर्ब ६५ करोड बचतमा थियो। भने सन् २०२० को जुलाईमा सबैभन्दा बढी २ खर्ब ६८ अर्ब रुपैयाँ बचतमा थियो। शोधनान्तर स्थितिले नेपालको बाँकी देशसँगको आयात र निर्यातको वित्तिय लेनदेनलाई बुझाउछ। नेपालमा बाहिरिने भन्दा भित्रिने रकम बढी भएमा शोधनान्तर बचत हुन्छ। 

त्यस्तै आयत र निर्यातसँगै सम्बन्धित कुरा हो चालू खाता। चालू आर्थिक बर्षको पहिलो पाँच महिनामा चालू खाता २१ अर्ब ३२ करोड रुपैयाँले घाटामा छ। यो घाटा चालू आर्थिक वर्षमा नै पहिलो घाटा हो। यो घाटा अघिल्लो वर्षको तुलनामा भने कम हो। 

आयात र निर्यात वैदेशिक लगानी र रेमिट्यान्ससँग सम्बन्धित छ। गत आर्थिक वर्षको तुलनामा खुद प्रत्यक्ष वैदेशिक लगानी ३१.५ प्रतिशतले कमी आएर गत मंसिर मसान्तसम्ममा ४ अर्ब ५० करोड रहेको छ। 

गत आर्थिक वर्षको मंसिरसम्ममा खुद प्रत्यक्ष वैदेशिक लगानी ६ अर्ब ५७ करोड रुपैयाँ रहेको थियो। तर कात्तिक मसान्तको तुलनामा वैदेशिक लगानी जम्मा ५० करोड रुपैयाँले मात्र बढेको छ। तर रेमिट्यान्समा भने वृद्धि कायमै छ । 
अन्य देशमा भने बाह्य अवस्था कमजोर हुँदै गएको अर्थ भनेको आन्तरिक आर्थिक अवस्था बलियो बन्दै जानु हो। अर्थात् सामान्य अर्थमा नेपालमा पूँजीगत आयात भइरहेका कारण बाह्य क्षेत्र कमजोर बन्दै गएको भन्ने बुझिन्छ तर नेपालको हकमा त्यस्तो होइन।

आन्तरिक आर्थिक अवस्था कमजोर हुनुका साथै बाह्य क्षेत्र पनि कमजोर हुन थाल्नु भनेको नेपालको अर्थतन्त्र दलदलमा फस्न थालेको संकेत भएको राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा.मीनबहादुर श्रेष्ठ बताउँछन्। 

राष्ट्र बैंकका अनुसार नेपालमा कच्चा सोयाबिन तेल, चामल, एमएस बिलेट, दूरसञ्चार उपकरण तथा पार्टपूर्जा, कोइला लगायतको आयात ह्वात्तै बढेको छ। जसले पूँजी निर्माणका लागि कम सहयोग गर्दछन्। कच्चा सोयाविन तेल नेपालमा रिफाइन भएर निर्यात हुने गरेको छ। जसले नेपाललाई फाइदा होइन घाटा नै पुर्याइरहेको छ।

त्यस्तै चामलको आयात गत वर्षको मंसिरमा भन्दा चालू आर्थिक वर्षमा ६५.३ प्रतिशतले आयात बढेको छ। मंसिर महिनामा मात्र नेपालमा १८ अर्ब १७ करोड रुपैयाँ बराबरको चामल आयात भएको छ। खाद्यान्नको आयातले व्यापारघाटा बढाउनका लागि ठूलो मद्दत गर्दछ,पूँजी निर्माणका लागि होइन। 

देशको आन्तरिक अर्थतन्त्र सुधार हुन पूँजीगत आयात हुनुपर्छ भने पूँजीगत खर्च बढ्नुपर्छ, राजस्वमा पनि कमी आएको छ। राजस्वको आयकरको मात्रा बढी भएमा मात्र देशको अर्थतन्त्रमा बढोत्तरी हुने सम्भावना हुन्छ। तर हाल यी सबै सुचकहरुमा कमी आइरहेको छ। 

कर्जामा आएको ४.९ प्रतिशतको बढोत्तरी केही सकारात्मक भए पनि ती सबै कर्जा आयातको लागि मात्र प्रवाहित भएको नेपाल राष्ट्र बैंकको तथ्यांकले नै स्पष्ट पार्दछ। 

प्रतिक्रिया दिनुहोस्