काठमाडौं- आज ३३ औँ विश्व एड्स दिवस ।
एचआइभी नियन्त्रण तथा रोकथामको लागि विश्वव्यापी ऐक्यवद्दता तथा साझा जिम्मेवारी भन्ने नाराका साथ विभिन्न चेतनामूलक कार्यक्रम गरेर विश्वभर एड्स दिवस मनाइँदै छ ।
एचआईभी र एड्ससम्बन्धी प्रभावकारी रोकथाम, हेरचाह, सहयोग तथा उपचार सेवाको लागि विश्वव्यापी ध्यानाकर्षण गर्दै जनचेतना जोगाउन सन् १९८८ देखि हरेक वर्ष डिसेम्बर १ तारिखमा यो दिवस मनाइन्छ ।
नेपालमा २९ हजार ५०३ जना एचआईभी संक्रमित रहेको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रको तथांक छ । जसमध्ये ६० प्रतिशत पुरुष र ४० प्रतिशत महिला छन् ।
बालबालिका र वयस्कको संख्या १९ हजार ४१० छ । नेपालमा प्रतिवर्ष जोखिमयुक्त वर्ग ५ प्रतिशत तथा सामान्य जनसंख्यामा एचआईभी संक्रमणको दर शुन्य दशमलव १३ प्रतिशत रहेको छ ।
कोरोना भाइरसको महामारीका कारण एचआईभी सङ्क्रमित र एचआईभी सर्न सक्ने जोखिममा रहेका समूहलाई स्वास्थ्य सेवा पहुँचमा चुनौती बढेको भन्दै जनस्वास्थ्यविद्हरुले चिन्ता ब्यक्त गरेका छन् ।
सरकारले सन् २०१० देखि २०१९ सम्म एड्सका कारण हुने मृत्युदर ८५ प्रतिशतले घटाएको दाबी गरेको छ । यस्तै, स्वास्थ्य मन्त्रालयका अनुसार नयाँ सङ्क्रमण हुने दर ६४ प्रतिशतले घटेको छ।सन् २०३० सम्ममा नेपालबाट एड्सको महामारी अन्त्य गर्ने सरकारको रणनीति छ ।