काठमाडौं– नेपाल राष्ट्र बैंकले गत मंसिरमा नेपालको मुद्रास्फीति (मूल्यवृद्धि) ३ प्रतिशतभित्रै रहेको बताएको छ।
राष्ट्र बैंकले चालू आर्थिक वर्ष ०७७–०७८ को पाँच महिना (साउन–मंसिर) को आर्थिक स्थिति सार्वजनिक गर्दै मूल्यवृद्धि ३ प्रतिशतभित्रै सीमित रहेको जानकारी दिएको हो।
त्यसैगरी मंसिरमा वार्षिक उपभोक्ता मुद्रास्फीति २.९३ प्रतिशत छ। गत आर्थिक वर्ष ०७६–०७७ को सोही महिनामा वार्षिक मुद्रास्फीति ६.५५ प्रतिशत थियो। चालू आर्थिक वर्षमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.२३ प्रतिशत रहेको र गैरखाद्य तथा सेवा समूहको १.१६ प्रतिशत रहेको उल्लेख गरेको छ।
राष्ट्र बैंकका अनुसार काठमाडौं उपत्यकामा मुद्रास्फीति ३.७१ प्रतिशत, तराईमा २.३५ प्रतिशत, पहाडमा ३.९५ प्रतिशत र हिमालमा ४.२२ प्रतिशत मूल्यवृद्धि दर छ।