काठमाडौं। शान्ति स्थापनार्थ दक्षिण सुडानको क्युबेट इलाकामा तैनाथ नेपाली शान्ति सैनिकले त्यहाँका स्थानीय वासिन्दाहरूलाई सम्भावित ठूलो जातीय हिंसाबाट जोगाएका छन्।
त्यहाँ तैनाथ कालीध्वज गणअन्तर्गतको क्याम्पबाट १० मंसिरमा खटिएको टोलीले सम्भावित ठूलो जातीय हिंसाबाट जोगाएको नेपाली सेनाले जनाएको छ।
गणको हेडर्क्वाटर तैनाथ रहेको स्थान रुम्बेकबाट ७० किलोमिटर उत्तर पश्चिममा रहेको उक्त इलाका नजिक एक क्याम्पमा चोरी गर्न आएको भनिएको कोगोरो जातिका एक व्यक्तिको झडपका क्रममा मृत्यु भएको थियो।
उक्त घटनापछि कोगोरो र आइएल जातिका मानिसहरूबीच हिंसाको रूप लिएको थियो। हिंसा भड्किन सक्ने खबरपछि सह-सेनानी विज्ञान विष्टको कमाण्डमा उक्त इलाकामा परिचालन भएको टोलीले दुई पक्षबीच झडप हुनबाट जोगाएको थियो।
उक्त इलाकाको सुरक्षा स्थिति सामान्य भएपछि यूएन मिसनका अन्य निकायहरूबाट त्यहाँ विभिन्न जातीय समुदायहरूबीच शान्ति कायम गराउने काम सुरु भएको थियो।
जातीय द्वन्द्वका कारण नरसंहारबाट गुज्रेको मुलुकमा हिंसा हुनबाट जोगाउन शान्ति सैनिकहरूले पुर्याएको योगदानलाई संयुक्त राष्ट्र संघले उच्च प्रशंसा गरेको नेपाली सेनाले जनाएको छ।