काठमाडौं- १७ वर्षीया अमृताकुमारी साहको गत वर्ष फागुनमा विवाह भयो।
गाउँकै एक युवकसँग तीन वर्षदेखि प्रेम सम्बन्धमा रहे पनि परिवारका सदस्यहरुको दबाबमा उनले सर्लाहीको विष्णु गाउँपालिका–१ का रूपेश साहसँग मागी विवाह गरिन्।
विवाह भएपछि उनीहरुको सम्बन्ध केही दिन सुमधुर चल्दै थियो। यहीबीचमा उनका पतिलाई छुरा प्रहार गरी ज्यान मार्ने आक्रमण भयो।
पतिमाथि आक्रमण भएपछि उनी माइतीमा आएर बसिन्। उनको माइती घर माधवनारायण नगरपालिका–७ लौकाहा टोल हो। उनको यसअघि नै प्रेम सम्बन्ध रहेको र आक्रमणसमेत भएपछि श्रीमानसँगको सम्बन्धमा खटपट शुरु भयो।
विवाह भएको पाँच महिनामै असार २०७७ मा उनीहरुबीच सम्बन्ध विच्छेद भयो। त्यसयता अमृता माइती घरमै बस्न थालिन्।
त्यसलगत्तै सर्लाहीको विष्णु गाउँपालिकाका रुपेश साह (अमृताका पूर्व श्रीमान) ले अमृता र उनका प्रेमिको नाममा ज्यान मार्ने उद्योगमा किटानी जाहेरी दिए।
आफूले विवाह गरेर पठाएकी छोरीको सम्बन्ध विच्छेद हुनु र ज्यान मार्ने उद्योगमा किटानी जाहेरी परेपछि अमृताका बुवा ५५ वर्षीय रामअयोध्या साह तनावमा देखिए।
समाजमा अपहेलित हुने डरले बन्यो हत्या योजना
पूर्व प्रेमीसँग छोरी भाग्न सक्ने र प्रहरीमा किटानी जाहेरीसमेत परेकाले छोरी पक्राउ पर्न सक्ने बुझेका रामअयोध्या साहले छोरीको हत्या गर्ने योजना बनाए। अमृताका बाबु आमालाई उनको प्रेम सम्बन्ध पनि स्वीकार थिएन।
‘छोरी पक्राउ परे इज्जतसमेत जाने र समाजबाट अपहेलित हुनुपर्ने डरले हत्याको योजना बनेको देखिन्छ,’ जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक सुशील पाण्डेले भने।
शुरुमा रामअयोध्या साहसमेतले भारतमा उपचारको लागि लगेर त्यही मार्ने योजना बनाएका थिए। तर, उक्त योजना सफल हुन सकेन। त्यसपछि पुनः अर्को योजना बनाइयो।
२६ कार्तिकमा अमृता माइतीघरमा राति आमासँग सुतिरहेकी थिइन्। हत्या योजनामा संलग्न रहेकी अमृताकी आमा सीतादेवी साह शौचालय निस्किन्। त्यही समयमा ४/५ जनाको समूहमा आएका अपरिचित व्यक्तिहरुले अमृतालाई गोली प्रहार गरे।
कन्चटमा ताकेर हानिएको गोली लागेर अमृताको घटनास्थलमै मृत्यु भयो। आफ्नो योजना नखुलोस् भनेर अमृताका बुवाआमा घटनापछि चिच्याएर गाउँलेको सहारा लिए।
तर, धेरै दिन उनीहरुको योजना लुक्न सकेन। भारत लगेर मार्ने योजना असफल भएपछि देवाही गोनाही नगरपालिका–२ लक्ष्मिनिया कुरुनिया बस्ने कैमलु देवानलाई अमृताका बुवाले एक लाख रुपैयाँ फिरौती दिए।
पूर्व योजनाअनुसार देवानले नै २६ कात्तिक रातिको समयमा अमृतालाई गोली हानी हत्या गरे।
प्रहरीले अमृताको हत्यामा संलग्न रहेका उनका बुवाआमासहित ७ जनालाई पक्राउ गरिसकेको छ।
पक्राउ पर्नेहरुमा देवाही गोनाही नगरपालिका–२ लक्ष्मिनिया कुरुनिया बस्ने ६० वर्षीय शेख अलियास, ४० वर्षीय बहुदल भन्ने ईस्लाम अन्सारी, ३६ वर्षीय शेख ईम्प्ताज, मृतकका बुवा ५५ वर्षीय रामअयोध्या साह, मतृककी आमा सीता देवी साह, परोहा नगरपालिका–४ बस्ने ४६ वर्षीय छोटेलाल साह र देवाही गोनाही नगरपालिका–२ लक्ष्मिनिया कुरुनिया बस्ने कैमलु देवान छन्।
प्रहरी निरीक्षक पाण्डेका अनुसार पक्राउ परेका सातै जनालाई रौतहट जिल्ला अदालतबाट ज्यानसम्बन्धी कसूरमा म्याद थप गरी थप अनुसन्धान भइरहेको छ।