काठमाडौं - रेलिगेसन जोन नजिक रहेको बर्नलीविरुद्ध जित निकाल्दै म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिग (ईपीएल)को शीर्षस्थानमा उक्लिएको छ।
बर्नलीको मैदानमा मंगलबार राति सम्पन्न खेलमा घरेलु टिम १-० गोलअन्तरले पराजित हुँदा युनाइटेडले शीर्षस्थानमा उक्लने मौका पाएको हो।
युनाइटेडका लागि फ्रेन्च फरवार्ड पाउल पोग्वाले ७१औैं मिनेटमा निर्णायक गोल गरे। मार्कस रासफर्डले दिएको पासलाई उपयोग गर्दै पोग्वाले गोल गर्दै युनाइटेडलाई जित दिलाए।
जितसँगै युनाइटेड ईपीएलको शीर्षस्थानमा उक्लिएको छ।
त्यस्तै मंगलबार रातिको अर्को खेलमा एभर्टनले उल्भसलाई २–१ गोलअन्तरले हराएको छ।
खेलको छैटौं मिनेटमा चुका आइवूबीले गरेको गोलमा एभर्टनले सुरुआती अग्रता पाएको थियो।
तर, १४ औं मिनेटमा उल्भसका नेभेसले गोल गर्दै खेललाई बराबरी बनाए।
पहिलो हाफमा बराबरी भए पनि दोस्रो हाफको ७७ औं मिनेटमा भिनसेन्ट किनले गोल गर्दै पाहुना टिमलाई जित दिलाए।
जितसँगै एभर्टन अंक तालिकाको चौथो स्थानमा छ भने उल्भस १४औं स्थानमा छ।