काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघमा नेतृत्व हस्तान्तरण भएको छ।
आइतबार एक समारोहका बीच अध्यक्ष भवानी राणाले नवनिर्वाचित अध्यक्ष शेखर गोल्छालाई पद हस्तान्तरण गरेकी हुन्।
मुख्य निर्वाचन अधिकृत उपेन्द्र केशरी न्यौपानेले महासंघमा निर्वाचित अध्यक्षसहितको अन्य पदाधिकारी तथा सदस्यहरुलाई प्रमाणपत्र वितरण गरे।
नवनिर्वाचित अध्यक्षबाट वरिष्ठ उपाध्यक्ष तथा पदाधिकारीसहित अन्यलाई पनि पद तथा गोपनियताको सपथ ग्रहण गराइएको छ।
नेतृत्व हस्तान्तरण गर्दै निवर्तमान अध्यक्ष भवानी राणाले आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गर्न पाएकोमा भन्दै आफ्नो कार्यकालको टिमलाई धन्यवाद दिइन्।
उनले नयाँ अध्यक्ष शेखर गोल्छाले महासंघलाई अझै सफल बनाउने विश्वास व्यक्त गरिन्।
सपथ ग्रहण कार्यक्रममा नव निर्वाचित अध्यक्ष शेखर गोल्छाले महासंघ आफ्नो परिवारका लागि मन्दिर रहेको बताए।
उनले आफ्ना हजुरबुवा रामलाल गोल्छा तथा बुवा हुलासचन्द्र गोल्छाले देखेको महासंघको नेतृत्व गर्ने सपना आफूले पुरा गर्ने बताए।
उनले निवर्तमान अध्यक्ष भवानी राणाको प्रसंशा गर्दै आफूले उनको वरिष्ठ उपाध्यक्ष भएर काम गर्न पाउनुमा गर्ववान्वित भएको बताए।
उनले महासंघलाई गुटउपगुट र राजनीति गर्ने थलोका रुपमा विकसित हुन नदिने बताए।
साथै गोल्छाले अब प्यानल निर्वाचनसँगै सकिएको भन्दै अब सवै एक भएर अघि बढ्ने बताए। उनले सबल महासंघ बनाउन आफूसँग विभिन्न चरणका योजना रहेको सुनाए।
उनले व्यवसायीलाई राहत, देशको आत्मनिर्भर अर्थतन्त्र तथा सचिवालयको सुदृढिकरण लगायतका योजना रहेको सुनाए।