विशेष
1610447260.jpg

१४ वर्षीय सत्यम् सोनीले कालो प्यान्ट, कालो ज्याकेट, कालो जुत्ता र सेतो पन्जा लगाएका थिए। हातमा मोबाइल थियो। फ्रन्ट क्यामेरा भएको मोबाइल थियो। उनी सेल्फीका सोखिन थिए। फेसबुकमा उनले धेरै सेल्फी पोस्ट गरेका छन्।

NLG Insurance
agrakhi
Yeti parketing

आइतबार दिउँसो उनी बुवासँगै पसलमा थिए। यत्तिकैमा उनले रेलको आवाज सुने। उनलाई रेलको छतमा उभिएर सेल्फी खिच्न मन लाग्यो। दायाँबायाँ नहेरी सत्यम् फटाफट रेल स्टेसन पुगे। त्यहाँ तेलको ट्यांकर रोकिएको थियो। उनका लागि त्यो सेल्फी खिच्ने अवसर बनिदियो।

सत्यम् रेलको छतमा चढे। मुस्कुराए अनि सेल्फी लिन दाहिने हात उठाए। त्यही बेला उनले रेलमाथिबाट लगिएको बिजुलीको हाइटेन्सन तार छुन पुगे। ठूलो झट्का लाग्यो र उनी जल्न पुगे। करेन्ट लागेर शरीर जलेपछि उनी तड्पिँदै मृत्युलाई अँगाल्न पुगे। केही मिनेटमै शव रेलको छतबाट भुइँमा खस्यो।

सत्यम् झारखण्डको रामगढ जिल्लास्थित चितरपुरका सन्तोषकुमार सोनीका एक्ला छोरा हुन्। अब सन्तोषकी एक छोरी मात्रै छिन्। उनले पटकपटक आफ्ना दाजुका बारेमा सोध्ने गर्छिन्। बुबाआमासँग उनलाई दिने जवाफै छैन।

सत्यंका पिता गहिरो शोकमा छन्। बोल्न पनि सकेका छैनन्। उनका अधिकांश नातेदारको चितरपुर बजारमा भाँडापसल छ। 

‘हामीले सत्यम् घर गएको ठानेका थियौं। चितरपुरमा आइतबार बजार लागेकाले भीड थियो। तर केही मानिसले हामीलाई एउटा केटा स्टेसनमा जिउँदै जलेको बताए। मानिसहरु उसलाई हेर्न गइरहेका थिए,’ उनका हजुबुवा गंगा प्रसादले भने, ‘केही मानिस आए र हामीलाई सबै कुरा भने तब मात्रै हामी स्टेसन गयौं। त्यहाँ सत्यंको शव थियो। थाहा छैन, हामीले कुन गल्तीको सजाय पायौं।’

कसरी भयो घटना? 

प्रत्यक्षदर्शीका अनुसार सत्यम् छतमा चढेको कसैले देखेका थिएनन्। मानिसले उनी जल्न थालेपछि चिच्याएको आवाज सुने। त्यसपछि मात्र मानिसका आँखा रेलको छतमा गयो। उनलाई बचाउने प्रयास नभएको पनि होइन। तर त्यसअघि नै उनले संसार छाडिसकेका थिए।

मायाल स्टेसनका मास्टर मुकेश कुमारका अनुसार मालगाडी दिउँसो ३ः४२ मा आएर रोकिएको थियो। दुर्घटना ३ः५५ मा भएको थियो। 
राँची रेलमण्डलका मुख्य जनसम्पर्क अधिकारी निरजकुमारले भनेका छन्, ‘हामीलाई ती किशोरको मृत्युले दुःखी तुल्याएको छ। जिन्दगी अनमोल छ। रेलको छतमा चढ्नु घात हुन सक्छ। मानिसले यस्तो गर्नु हुँदैन।’

पहिले पनि भएको थियो दुर्घटना

सत्यंको मृत्युको केही दिनअघि मुमला जिल्लाको छिडियमा पिकनिक गएकी १४ वर्षीया कुजुर सेल्फी खिच्ने क्रममा ४० मिटर गहिरो खाडलमा खसेकी थिइन्। उनको घटनास्थलमै मृत्यु भएको थियो। 

सन् २०१९ को जुनमा पिस्तोलसँग सेल्फी खिच्ने क्रममा सहिबगन्ज जिल्लाका पवन पासवानको गोली चलेर मृत्यु भएको थियो। 

फेब्रुअरी २०१९ मा रेलअगाडि उभिएर सेल्फी खिच्ने क्रममा २० वर्षीय फैसलको ज्यान गएको थियो। भारतमा मात्र होइन, विश्वमा यस प्रकारका घटना धेरै भएका छन्।

मृत्यु हुनेको संख्या भारतमा धेरै

अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) का विद्यार्थीले गरेको अध्ययनअनुसार सेल्फी खिच्ने क्रममा मृत्यु हुनेको संख्या भारतमा सबैभन्दा धेरै छ। सेल्फी दुर्घटनामा मृत्यु हुनेमा भारतपछि रुस, अमेरिका र पाकिस्तानका नागरिक छन्। 

ती विद्यार्थीले अक्टोबर २०११ देखि नोभेम्बर २०१७ बीचको तथ्यांकका आधारमा यस्तो दाबी गरेका हु्न्। यस अवधिमा सेल्फी खिच्ने क्रममा भएको १३७ दुर्घटनामा २५९ जनाको मृत्यु भएको उनीहरुको अध्ययन प्रतिवेदनमा उल्लेख छ।

अध्ययन प्रतिवेदन ‘अ बून और बेन’ शीर्षकमा जर्नल अफ फ्यामिली मेडिसिन एन्ड प्राइमरी केयरमा प्रकाशित छ। अध्ययनअनुसार सेल्फी लिने क्रममा मृत्यु हुनेमा ७२.५ प्रतिशत पुरुष र २७.५ प्रतिशत महिला छन्। ज्यान गुमाउनेमा अधिकांश युवा छन्।

घटना नियन्त्रण गर्ने कसरी?

केन्द्रीय मनोचिकित्सा संस्थानका एसोसिएट फ्रोफेसर डा. सञ्जय मुण्डा भन्छन्, ‘मानिस आफ्ना धेरै भन्दा धेरै तस्बिर फेसबुक वा अन्य सामाजिक सञ्जालमा पोस्ट गर्न चाहन्छन्। उनीहरुले आफ्नो तस्बिरमा धेरै लाइक आओस् भनेर निकै जोखिम लिएर तस्बिर खिच्छन्।’

अनि दुर्घटना निम्तिने उनको भनाइ छ।

यस्तो प्रवृत्ति नियन्त्रण गर्न चिकित्सकीय उपचारभन्दा आत्मनियन्त्रण राम्रो उपाय भएको उनको भनाइ छ। मानिसलाई जीवनको मूल्यबारे थाहा हुन आवश्यक छ। मानिसका लागि सेल्फी र सामाजिक सञ्जालभन्दा जीवित रहनु ठूलो कुरा हो। बीबीसी हिन्दीबाट 
 

प्रतिक्रिया दिनुहोस्