बिहीबार, वैशाख १३, २०८१

संक्रामक रोगजस्तै फैलिन्छ 'अति आत्मविश्वास'

कुनै बेला अमेरिकाको सातौं ठूलो कम्पनी एनरोन घोटालाका लागि कुख्यात भयो र टाट पल्टियो। यस्तो हुनुमा कर्मचारीको सामूहिक अहंकार एउटा कारण थियो।
 |  शनिबार, मंसिर १३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर १३, २०७७

कुनै बेला अमेरिकाको सातौं ठूलो कम्पनी एनरोन घोटालाका लागि कुख्यात भयो र टाट पल्टियो। यस्तो हुनुमा कर्मचारीको सामूहिक अहंकार एउटा कारण थियो। 

triton college

-डेभिड रब्सन

सन् १९८० को दशकको उत्तरार्धमा मनोवैज्ञानिक जेम्स रिजनले सडक दुर्घटना हुनुमा मानिसको कस्तो सोचले काम गर्दो रहेछ भन्नेबारे खोजी सुरु गरे।

म्यानचेस्टर सुपर मार्केट र कार पार्किङ क्षेत्रमा अध्ययन थालेका उनले ५२० जना सवारीचालकलाई उनीहरुले गरेको गल्ती ठ्याक्कै के थियो, त्यो सम्झन भने।

गाडी फर्काउँदा पछाडिको ऐना हेर्न बिर्सिएका थिए कि? चौबाटोमा पुग्ने बेला गलत लेन पो समाएका थिए कि?

corrent noodles
Metro Mart

ट्राफिक नियम उल्लंघनका अन्य प्रश्नसँगै जेम्सले ती चालकले गाडी हाँक्ने उनीहरुको सीप अरुको तुलनामा कस्तो ठान्छन् भनेर पनि सोधे।

तपाईंलाई लाग्ला लामो समयदेखि गाडी चलाइरहेका धेरै मानिस आफ्नो क्षमताबारे सचेत हुन्छन्। तर वास्तविकता त्यस्तो रहेनछ।

५५० मध्ये एक प्रतिशतभन्दा कम अर्थात् पाँच जनाले मात्र आफ्नो सीप औसतभन्दा नराम्रो रहेको बताए।

बाँकी खराब चालक जसले निरन्तर दुर्घटना गराएका थिए, उनीहरुले आफूलाई अरुजस्तै राम्रो ठाने। धेरैले त आफूलाई निकै राम्रो चालक ठान्दा रहेछन्। यो एउटा सामूहिक भ्रम थियो जसका कारण उनीहरुले आफूले राम्रोसँग गाडी हाँक्न नसक्दा दुर्घटना गराएकोतर्फ ध्यानै दिएका थिएनन्।

तीन दशकपछि, मनोवैज्ञानिकले विभिन्न क्षमता र विशेषतामा त्यस्तै भ्रमपूर्ण आत्मविश्वासबारे अध्ययन गरेका छन्। हामी अरु धेरैभन्दा बुद्धिमान, सिर्जनात्मक, भरपर्दो, विचारशील, इमानदार, स्वतःस्फूर्त र हितैषी छौं भन्ने भ्रममा हुन्छौं। 

हालै नर्थ क्यारोलिना विश्वविद्यालयका प्रोफेसर इथान जेलले विगतमा भएका अध्ययनको मिहीन विश्लेषण गरेका छन्। उनी भन्छन्, ‘तपाईंले मानिसलाई स्व–मूल्यांकनको अवसर दिनुभयो भने सबैले आफूलाई औसतभन्दा माथिकै ठान्छन्, त्यो पनि सबैजसो विधामा।’ 

अधिकांश चालक अति आत्मविश्वासी हुन्छन् र सडकमा आफ्नो क्षमताको गलत आकलन गर्छन्– यस्तो अति आत्मविश्वासले दुर्घटना निम्त्याउँछ।

यसका परिणाम गम्भीर हुन सक्छन्। प्रोफेसर रिजनका अनुसार सडकमा आफ्नो क्षमतामाथि अति–आत्मविश्वासले ठूलो दुर्घटना हुन्छ।

यस्तो प्रवृत्तिले चिकित्सा क्षेत्रमा रोगको निदानमा गम्भीर त्रुटि हुन सक्छ। कानुनी क्षेत्रमा गलत आरोप र न्याय अवरुद्ध हुन सक्छ, व्यापार व्यावसायमा व्यवस्थापकीय घमण्डले गर्दा कम्पनीले घोटाला गर्ने वा टाट पल्टने सम्भावना हुन्छ।

अति–आत्मविश्वासलाई ‘सबै पूर्वाग्रहको जननी’ भनिन्छ। त्यसैले नोबेल पुरस्कार विजेता वैज्ञानिक डेनियल खानिमेनले भनेका छन्, ‘यदि मसँग जादुको छडी हुँदो हो र, त्यसले मनोविज्ञानमा एउटा मात्र काम गर्न सक्दो हुँ भने मैले सबैको दिमागबाट ‘आफू उत्कृष्ट छु’ भन्ने भावना मेटाइदिने थिएँ।’

हालैमा योर्क विश्वविद्यालयमा मनोविज्ञानकी प्राध्यापक जोय चेङले यस्तै एउटा अध्ययन गरेकी छन्। उनका अनुसार अति–आत्मविश्वास सरुवा रोगजस्तै हुन सक्छ । अर्थात् एउटा व्यक्तिको अति–आत्मविश्वास अर्काेमा सर्छ ।

‘तपाईं अति–आत्मविश्वास भएको मान्छेको संगतमा हुनुहुन्छ भने तपाईंले पनि आफ्नो क्षमतालाई बढ्तै मूल्यांकन गर्न थाल्नुहुन्छ,’ चेङ भन्छिन्। यो त्यस्तो प्रवृत्ति हो जसले भ्रमपूर्ण सोचलाई सामूहिक रुपमा फैलाउँछ र मानिस बहकिन थाल्छ।

आत्मविश्वासको प्रवाह

चेङले अमेरिकाको आर्थिक केन्द्र वाल स्ट्रिटका मानिसको व्यवहारले अध्ययनमा उत्पे्ररित भएको बताएकी छन्, जहाँ अहंकार व्याप्त रहेको मानिन्छ। ‘सबै क्षेत्रमा यस्तो हुँदैन,’ उनी भन्छिन्, ‘शिक्षा क्षेत्रमा हेर्नुभयो भने अधिकांश शिक्षकको व्यवहार त्यस्तो देखिँदैन।’

यो फरकले उनी सोच्न बाध्य भइन्– के कुनै निश्चित क्षेत्रका व्यक्तिको समूहले अरुमा अहंकार बढाउन सक्छ?

केही अध्ययनहरुले यस्तो सम्भावनाको संकेत गरेका छन्। बैंकरहरु पेसामा अभ्यस्त हुँदै जाँदा उनीहरुको अति–आत्मविश्वासको तह पनि बढ्दै गएको देखिन्छ। यो सहकर्मीबाट सर्दै आउँछ। चेङले उक्त कुरालाई प्रयोगशालामै पुष्टि गर्ने प्रयास गरेकी छन्।

सो कुराको परीक्षण गर्न उनले केही व्यक्तिहरुलाई दुई चरणको परीक्षणमा सहभागी गराइन्।

पहिलो चरणमा सहभागीलाई एक्लाएक्लै राखेर विभिन्न मानिसको अनुहारको फोटो देखाइयो र अनुहारमा अभिव्यक्त भावअनुसार उनीहरुको व्यक्तित्वको मूल्यांकन गर्न भनियो। यो काममा केहीले सफलता हासिल गरे अर्थात् उनीहरुले फोटोमा देखिएको अभिव्यक्तिलाई सही पहिचान गरे। त्यसपछि उनीहरुको आत्मविश्वास मापन गर्नका लागि उनीहरुलाई बाँकी सहभागीको तुलनामा आफ्नै क्षमता मूल्यांकन गर्न भनियो।

फेरि त्यही कार्यलाई जोडी बनाएर दोहो¥याइयो। यस पटक अघिल्लो परीक्षणमा अति आत्मविश्वास देखिएकासँग नम्र खालका सहभागीको जोडी बाँधेर आफ्नै क्षमताबारे मूल्यांकन गर्न भनियो– अति–आत्मविश्वास संक्रामक हुन्छ कि हुँदैन भन्ने हेर्नु थियो। यसपटक पहिले अति–आत्मविश्वास नदेखाएकाले पनि आफ्नो मूल्यांकन बढाए।

‘यो बडो रोचक थियो,’ चेङ भन्छिन्।

दोस्रो चरणको अध्ययन अझ आश्चर्यपूर्ण थियो। यस पटक व्यक्तिको फोटो हेरेर वजन पत्ता लगाउन भनियो। 

जोडी बाँधिएन। बरु उदाहरणका रुपमा अरु सहभागीको उत्तर दिइयो। वास्तवमा सहभागीलाई गलत उत्तर सुनाइएको थियो। यो प्रयोगमा सहभागीले अरुको उत्तर र प्रस्तुतिलाई चेतावनी वा शंकाका रुपमा हेर्लान् भन्ने अपेक्षा गरिएकोमा त्यसविपरीत उनीहरु अरुकै लहलहैमा लागे।

कुनै अति–आत्मविश्वासी व्यक्तिको सम्पर्कमा पुग्दा व्यक्तिको मूल्यांकनको तह १७ प्रतिशतले बढेको देखियो। आफूलाई औसतभन्दा १० प्रतिशत कम क्षमतावान् ठान्नेले आफ्नो क्षमताको मूल्यांकन औसतभन्दा २५ प्रतिशत बढी गर्न थाले।

थप प्रयोगबाट चेङले एकजनाको आफू उत्कृष्ट छु भन्ने अति–आत्मविश्वास अर्को व्यक्तिमा पनि सर्न सक्छ र एकल स्रोतबाट आएको आति–आत्मविश्वास सर्दै जाँदा समूहमा फैलिन सक्छ भन्ने पक्कापक्की गरिन्।

यो ‘भरिएर पोखिने’ शैलीलाई प्रोफेसर चेङले दस्तावेजमा उल्लेख गरेकी छन्। त्यो के भने, एउटा क्षेत्रमा अति–आत्मविश्वास देखाएको व्यक्ति अर्को क्षेत्रमा झन् अहंकारी रुपमा प्रस्तुत हुन सक्छ।

अति–आत्मविश्वासी व्यक्तिसँग केही बेरको संगतको परिणाम केही दिनसम्म देखिन सक्छ।

अध्ययनबाट आएको निष्कर्षले जेल प्रभावित छन्। ‘यसले हामीलाई अति–आत्मविश्वास कसरी पैदा हुन्छ र किन यो कुनै समूह विशेषमा अन्यमा भन्दा धेरै हुन्छ भन्ने बुझ्न मद्दत गरेको छ,’ उनी भन्छिन्।

सामाजिक रीतिअनुसार नै यसको निर्माण हुने उनको अनुमान छ। 

‘अरुका अगाडि आत्मविश्वासको व्यवहार देखाउँदा समाजमा महत्त्व बढ्ने वा उत्कृष्ट ठानिने पनि कारण हुन सक्छ।’

कुनै पेशामा ठालू पल्टिनुलाई शक्तिको संकेत मानिन्छ। तर यस्तो अति आत्मविश्वासको प्रदर्शन संक्रामक हुन्छ र व्यक्तिलाई मात्र होइन संस्थालाई पनि डुबाउँछ ।

रहस्यमयी संयन्त्र

चेङको अध्ययनको परिणाम अन्य धेरै अध्ययनसँग मिल्छ। जस्तै साझा घटनाबारे हाम्रोे स्मृति, सौन्दर्यप्रतिको दृष्टिकोण वा राजनीतिप्रतिको विचार। ‘तपाईं जोसँग बढी हिमचिम गर्नुहुन्छ उसको व्यवहार र सोचाइ तपाईंले पनि ग्रहण गर्ने सम्भावना धेरै हुन्छ,’ चेङ भन्छिन्।

चेङका अनुसार कार्यस्थलमा यस्तो कसरी हुन्छ भन्ने अनुमान गर्न निकै सजिलो छ। 

‘मान्नुस् तपाईं एउटा बैंकर हुनुहुन्छ। तपाईं काममा प्रवेश गर्दा सामान्य हुनुहुन्छ। जति जति तपाईं कार्यालयको वातावरणमा अभ्यस्त हुँदै जानुहुन्छ, सहकर्मीका अहंकारयुक्त अभिव्यक्तिसँगै उनीहरुले नबोलेरै गर्ने संवाद, हाउभाउ र व्यवहारबाट प्रभावित हुँदै जानुहुन्छ। अनि बिस्तारै तपाईं ती व्यक्तिको प्रतिरुप बन्नुहुन्छ,’ उनी भन्छिन्।

उनले आफ्नो अध्ययनमा ऊर्जा उत्पादक कम्पनी एनरोनलाई उदाहरणका रुपमा प्रस्तुत गरेकी छन्। 

कुनै बेला अमेरिकाको सातौं ठूलो कम्पनी रहेको एनरोन घोटाला र भ्रष्टाचारका लागि कुख्यात भयो र सन् २०११ मा टाट पल्टियो। एनरोनका एक पूर्व कर्मचारीले भनेका छन्, ‘उनीहरु अहंकारी थिए भन्नेमा कुनै प्रश्नै छैन। त्यहाँका मानिसले आफू सबैभन्दा चलाख भएको ठान्थे।’ त्यसैले एनरोन ‘अहंकारी संस्कृति’ का लागि अहिले पनि कुख्यात छ।

‘हाम्रो निस्कर्ष छ, यो अति–आत्मविश्वासको एउटा कारण सामाजिक संक्रमण थियो,’ चेङ भन्छिन्, ‘जसले गर्दा धेरै व्यक्तिले गलत कदम उठाएको र अन्ततः पतनको बाटोमा पुगेका हुन सक्छन्।’

यी परिणाम प्राप्त गरेपछि चेङको सुझाव छ, ‘संस्थाहरुले आफ्ना कर्मचारीको कस्तो व्यवहारलाई प्रश्रय दिइरहेका छन् त्यसमा पुनर्विचार गर्नुपर्छ।’ उनी भन्छिन्, ‘नेतृत्व र व्यवस्थापकहरु केही व्यक्तिको व्यवहार अरुमा सर्छ र यो सामूहिक हुन सक्छ भन्नेमा सचेत हुनु जरुरी छ।’  कर्मचारी भर्ना गर्दा पनि यस्ता कुरामा ध्यान दिनुपर्ने चेङको सुझाव छ।

अर्कोतिर शान्त प्रकृतिका नम्र कर्मचारी अधिक यथार्थवादी हुनुका साथै उनीहरुले टिमको अति–आत्मविश्वासलाई न्यूनीकरण गर्न सक्छन्। चेङ भन्छिन्, ‘उनीहरुले टिमलाई वास्तविकतामा फर्कन पनि सहयोग पुर्‍याउँछन्।’

व्यक्तिगत स्तरमा चाहिँ हामीले आफ्नो व्यवहारमा थोरै ध्यान दिन केन्द्रित गर्न जरुरी छ– आफ्नो ड्राइभिङतर्फ पनि। जब तपाईंले आफ्नो दक्षताबारे गफ हाँकिराख्नुभएको हुन्छ त्यसबेला तपाईं जोडिएको समाज–सञ्जालमार्फत अति–आत्मविश्वासको लहर प्रसार भइरहेकोे हुन सक्छ– ठूलो मात्रामा भ्रम छर्दै । जसलाई जेम्स रिजनले दशकौं अघि उल्लेख गरेका थिए। 

(बीबीसीमा आबद्ध डेभिड रब्सन विज्ञान विषयमा कलम चलाउँछन् । उनको ‘द इन्टेलिजेन्ट ट्रयाप : ह्वाइ स्मार्ट पिपुुल मेक डम मिस्टेक’ पुस्तक प्रकाशित छ। बीबीसी वर्क लाइफमा प्रकाशित रब्सनको यो लेख महेश्वर आचार्यले भावानुवाद गरेका हुन्।)
 

प्रकाशित: Nov 28, 2020| 09:25 शनिबार, मंसिर १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।