बिहीबार, वैशाख १३, २०८१

'नेकपाका शीर्ष नेताको व्यक्तिगत स्वार्थले जनता निराश'

'शासन सञ्चालन गर्ने जिम्मा पाएको दलको शीर्ष तहमा प्रकट व्यक्तिगत स्वार्थ, पदीय छिनाझपटी र आरोप–प्रत्यारोपका कारण जनतामा निराशा छाएको छ।'
 |  बिहीबार, मंसिर ११, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ११, २०७७

काठमाडौं-  नागरिक समाजका १३ जना अगुवाले सत्तारुढ नेकपाभित्र  विगत एक वर्षदेखि चलिरहेको आन्तरिक द्वन्द्वले संविधानद्वारा प्रत्याभूत राजनीतिक स्थिरतालाई खल्बल्याएको भन्दै चिन्ता व्यक्त गरेका छन्। 

triton college

उनीहरुले बिहीबार जारी गरेको संयुक्त अपिलमा भनिएको छ, 'शासन सञ्चालन गर्ने जिम्मा पाएको दलको शीर्ष तहमा प्रकट व्यक्तिगत स्वार्थ, पदीय छिनाझपटी र आरोप–प्रत्यारोपका कारण जनतामा निराशा छाएको छ।' 

अपिलमा अस्थिरता उत्पन्न हुँदा मुलुकभित्र लोकतान्त्रिक मान्यताको क्षयीकरण हुँदै गएकोतर्फ नेकपा नेतृत्वले ध्यान नदिएको प्रत्यक्ष महसुस भएको उल्लेख छ। 

अपिलमा भनिएको छ, 'विभिन्न आन्दोलन एवं राजनीतिक दलको नेतृत्व गरी लामो अनुभव हासिल गरेका र प्रधानमन्त्रीको पदसमेत सम्हालिसकेका व्यक्तित्वहरू सम्मिलित सत्तारुढ दलको नेतृत्व तह तथा सरकारलाई आफ्ना कमजोरीहरूको समीक्षा गर्दै व्यक्तिगत महत्त्वाकांक्षाबाट माथि उठेर मुलुक र जनताको हितमा तत्काल केन्द्रित हुन हामी अपिल गर्दछौं।' 

उनीहरुले कुनै पनि मुलुकको आर्थिक प्रगति र सामाजिक अग्रगमनका लागि सामाजिक र संवैधानिक स्थिरता आवश्यक रहेकोमा जोड दिँदै  त्यसको पूर्वसर्त राजनीतिक स्थायित्व रहेकोमा सरकार, राजनीतिक दल र नेतृत्वको ध्यानाकर्षण गराएका छन्। 

corrent noodles
Metro Mart

यसैगरी नागरिक अगुवाले सरकार परिवर्तनलगायतका सन्दर्भमा संविधानद्वारा निर्दिष्ट पद्धतिभित्र रहेर मात्र हुन्छ भन्ने विषयको गम्भीरतालाई बोध र मनन गर्न राजनीतिक दल र नेतृत्व तहको ध्यानाकर्षण गराएका छन्। 

उनीहरुले भनेका छन्, 'अस्थिरताको कारण राजनीतिक प्रणालीमाथि नागरिक विश्वास धर्मराउन थालेको तथा कार्यान्वयनको प्रारम्भिक चरणमा रहेको संविधानमाथिको विश्वास कमजोर हुने सम्भावनातर्फ सत्तारुढ नेकपा, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस एवं संसद्मा रहेका सबै राजनीतिक दलको तत्काल ध्यान जानुपर्छ र संविधानको प्रतिरक्षाका लागि पहरेदारी गर्नुपर्दछ।'

सत्तारुढ दल र प्रमुख प्रतिपक्षको आन्तरिक द्वन्द्वका कारण नेपाल राष्ट्रको घरेलु क्षमता बढाउन चाहिने राजकीय मिहिनेत दलीय व्यवस्थापनमा खर्च भइरहेको ठम्याइ उनीहरुको छ। 

अपिलमा भनिएको छ, 'पछिल्ला वर्षमा एसिया र दक्षिण एसिया केन्द्रित भूराजनीतिक रस्साकस्सी बढेको छ। अस्थिर बन्न पुगेको नेपालले बढ्दो भूराजनीतिक चुनौती सामना गर्न सक्दैन।' 

उनीहरुले असंलग्नताको सिद्धान्तअनुरूप सन्तुलित परराष्ट्र नीति कायम गर्न, छिमेक र लोकतान्त्रिक विश्वसँग विश्वासको सम्बन्ध बढाउन एवं नेपालको विदेश नीतिमा एकरूपताका लागि दलीय सहमति निर्माणको पहल गर्न सरकारसँग आग्रह गरेका छन्। 

यस्तै उनीहरुले लोकतन्त्र सबल बनाउन राजनीतिक दलहरूको आन्तरिक लोकतन्त्र सुनिश्चित हुनुपर्नेमा जोड दिएका छन्।  

अपिलमा भनिएको छ, 'आन्तरिक लोकतन्त्रले नै दललाई गतिशील राख्छ र जनतासँग निरन्तर एकाकार रहन उत्प्रेरित गर्दछ।' 

विभिन्न लोकतान्त्रिक मुलुकहरूले कार्यकारी पदमा दुई कार्यकाल काम गरिसकेपछि उही व्यक्ति नदोहोरिने अभ्यासलाई सफलतापूर्वक कार्यान्वयन गरेको औंल्याउँदै उनीहरुले नेपालमा राष्ट्रपति पदका लागि मात्र यो व्यवस्था भए पनि संविधानको भावना र नागरिक आकांक्षाले नेतृत्वको निरन्तर नवीकरण हुनुपर्ने माग गर्ने स्मरण गराएका छन्।

उनीहरुले भनेका छन्, 'नेतृत्वको पुस्तान्तरणलाई अब बहसको विषय मात्र नबनाएर सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेससहितका दलले नयाँ पुस्तामा नेतृत्व लैजाने ठोस मार्गचित्र तय गर्नुपर्दछ।'

अपिलमा सत्तारुढ दल र प्रमुख प्रतिपक्षले आ–आफ्नो महाधिवेशन सम्पन्न गर्नुपर्ने र महाधिवेशनले पुस्तान्तरणको भावना बोक्नुपर्ने सुझाव दिइएको छ। 

सरकारका शासकीय कमजोरीबारे नागरिक तहले आवाज उठाइरहेको भन्दै उनीहरुले संसद्मा विचाराधीन दर्जनौं विधेयक पारित नभएका कारण संविधान कार्यान्वयनको प्रक्रियामा ढिलाइ भएको औंल्याएका छन्।

उनीहरुले भनेका छन्, 'एकातिर संघमा शक्तिको केन्द्रीकरण हुँदै गएको परिस्थिति, अर्कोतिर सत्तारुढ दलको नेतृत्वले महाधिवेशन तयारीतर्फ ध्यान नदिई भागबन्डा चाहेको कारण नयाँ संविधानद्वारा निर्देशित अनेकन् मुद्दामा सरकार सफल हुन सकेको छैन।' 

संवैधानिक आयोगहरूमा नियुक्ति हुन नसकेको कारण ती आयोगहरू क्रियाशील हुन नसकेको, विस्तृत शान्ति सम्झौतमा हस्ताक्षर भएको पन्ध्र वर्ष बितिसक्दा पनि संक्रमणकालीन न्यायमा भएको बेवास्ताले पीडितमाथि अन्याय थपिएको र देशको अन्तर्राष्ट्रिय छवि नराम्ररी खस्किएको भन्दै उनीहरुले चिन्ता जनाएका छन्।

अपिलमा भनिएकाे छ, 'भ्रष्टाचारका मुद्दामा प्रभावकारी छानबिन र कारबाही हुन सकेको छैन।' 

सरकारले संघीयता कार्यान्वयन, समावेशिता, रोजगारी प्रवद्र्धन, कर्मचारीतन्त्रको क्षमतालगायत विभिन्न क्षेत्रमा ठोस प्रगति देखाउन सक्नुपर्ने सुझाव उनीहरुको छ।

उनीहरुले भनेका छन्, 'विशेषगरी संविधानले प्रत्याभूति गरेको समानुपातिक समावेशीकरणको अधिकारको निर्वाध कार्यान्वयन तथा संविधान अनुसार काम गरिरहेका स्थानीय तह र प्रदेशलाई अधिकारसम्पन्न बनाउनु अहिलेको आवश्यकता हो।' 

राजकाज सञ्चालनका कमजोरीले पनि मुलुकभरि सार्वजनिक बहसको दायरा खुम्चिएको अपिलमा उल्लेख छ।

नागरिक अगुवाहरुले भागबन्डा प्रवृत्तिबाट मुलुकले खोजेको दीर्घकालीन लक्ष्य प्राप्त गर्न नसकिने भएकाले सरकार, प्रतिपक्ष र दलीय नेतृत्वले आआफ्नो स्थान बुझेर काम गर्न माग गरेका छन्।

उनीहरुले यी मागहरु जनताका तर्फबाट प्रमुख प्रतिपक्षी दलले उठान गर्नुपर्ने भएकाले आफ्नो संवैधानिक दायित्व र जनताप्रतिको जवाफदेही निर्वाह गर्न नेपाली कांग्रेसलाई आह्वान गरेका छन्। 

अपिलमा कोभिड–१९ को संक्रमणबाट नागरिकलाई जोगाउनु सरकारले प्रभावकारी नेतृत्व दिन सकेको ठहर गरेका छन्।

उनीहरुले भनेका छन्, 'यसबाट स्वास्थ्यसम्बन्धी मौलिक अधिकारको उचित संरक्षण हुनसकेको छैन। बृहत् राष्ट्रिय एकता, सरकारलाई निरन्तर गरिने खबरदारी तथा संक्रमणबारे सचेतनाले मात्र यो महामारीबाट पार पाइनेछ।' 

उनीहरूले विश्वलाई नै महामारीले च्यापेको यस विषम परिस्थितिमा सबै प्रकारका राजनीतिक अवसरवाद त्यागेर मुलुकसामु उपस्थित चुनौती  सामना गर्नका लागि एकताबद्ध हुन सबै राजनीतिक दललाई तथा सचेत रही निरन्तर खबरदारी गर्न आमनागरिक एवं सामाजिक संगठनहरूलाई अपिल गरेका छन्। 

अपिल जारी गर्नेहरुमा  डा. अर्जुन कार्की,  कनकमणि दीक्षित,  कपिल श्रेष्ठ, कृपाराम थारू, डम्बर चेम्जोङ र  देवेन्द्र विश्वकर्मा विश्वकर्मा छन्।

यस्तै अपिलमा विपिन अधिकारी, विष्णुप्रसाद बराल, मोहनसिंह थेबे, रवीन्द्र कर्ण, रामेश्वर खनाल, डा.रेणु अधिकारी र सुशील प्याकुरेलले हस्ताक्षर गरेका छन्।

यस्ताे छ नागरिक अपिलकाे पूर्ण पाठ

सरकार, राजनीतिक दल र नेतृत्वलाई जिम्मेवारीबोध गर्न आह्वान

११ मंसिर २०७७, बिहीबार 

मुलुकमा विद्यमान चिन्ताजनक राजनीतिक वातावरणका सन्दर्भमा हामी हस्ताक्षरकर्ताहरू निम्न सरोकार व्यक्त गर्दछौं –

१. संवैधानिक स्थायित्व : कुनै पनि मुलुकको आर्थिक प्रगति र सामाजिक अग्रगमनका लागि सामाजिक र संवैधानिक स्थिरता आवश्यक छ, जसको पूर्वशर्त राजनीतिक स्थायित्व हो। नागरिकको सात दशक लामो प्रयासद्वारा प्राप्त उपलब्धिस्वरूप जननिर्वाचित संविधानसभाबाट जारी भएको नेपालको संविधानले आधारभूत रूपमा राजनीतिक स्थायित्वको भावनालाई आत्मसात् गरेको छ। नयाँ प्रधानमन्त्री निर्वाचित भएपछि संसद्मा दुई वर्षसम्म अविश्वासको प्रस्ताव दर्ता गर्न नपाइने, पदासीन प्रधानमन्त्रीलाई विस्थापित गर्नुपर्ने अवस्थामा प्रधानमन्त्री पदमा संसद्को विश्वास प्राप्त गर्न सक्ने नयाँ उम्मेदवारको नाम उल्लेख गर्नुपर्नेलगायतका मौलिक संवैधानिक व्यवस्थाहरू नेपालको आफ्नै संसदीय अभ्यासबाट प्राप्त अनुभवका उपज हुन्। संविधान जारी भएपश्चात् भएका स्थानीय, प्रादेशिक तथा राष्ट्रिय तहका निर्वाचनमा प्रकट जनताको अभिमतले राजनीतिक स्थायित्व कायम हुनुपर्ने संविधानको मूल भावना अनुमोदन गरेको छ।

२. नियन्त्रण र सन्तुलन : राजनीतिक प्रणालीभित्र कार्यपालिकाको परिवर्तन सामान्य लोकतान्त्रिक प्रक्रिया हो। नियन्त्रण र सन्तुलन (‘चेक एण्ड ब्यालेन्स’) को सिद्धान्त अन्तर्गत सार्वभौम संसद्ले प्रधानमन्त्री र सरकारलाई आवश्यक मार्गनिर्देशन गर्ने, अंकुश लगाउने वा नेतृत्व फेरबदल गर्ने कार्य गर्दछ। संविधान तथा संसदीय परिपाटी बमोजिम सरकार परिवर्तन गर्ने बाटो संसद् र संसदीय दल हो। सत्तारुढ संसदीय दलको चाहना नभई कुनै प्रधानमन्त्रीलाई पनि विदा गर्न सकिंदैन र यो प्रतिनिधिसभाभित्र निर्वाह हुनुपर्ने भूमिका हो। संविधानद्वारा निर्दिष्ट गरिएको पद्धतिभित्र रहेर यी कार्यहरू हुँदा मात्र संविधानले परिकल्पना गरेको स्वाभाविक राजनीतिक प्रक्रियाको पालना हुन्छ भन्ने विषयको गम्भीरतालाई बोध र मनन गर्न हामी राजनीतिक दल र नेतृत्व तहको ध्यानाकर्षण गर्दछौं। अस्थिरताको कारण राजनीतिक प्रणालीमाथि नागरिक विश्वास धर्मराउन थालेको तथा कार्यान्वयनको प्रारम्भिक चरणमा रहेको संविधानमाथिको विश्वास कमजोर हुने संभावनातर्फ सत्तारुढ नेकपा, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस एवं संसद्मा रहेका सबै राजनीतिक दलहरूको तत्काल ध्यान जानुपर्छ र संविधानको प्रतिरक्षाका लागि पहरेदारी गर्नुपर्दछ।

३. सत्तारुढ दलको दायित्व : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीभित्र विगत एक वर्षदेखि चलिरहेको आन्तरिक द्वन्द्वले संविधानद्वारा प्रत्याभूत गरिएको राजनीतिक स्थिरतालाई खल्बल्याएको मात्र छैन, शासन संचालन गर्ने जिम्मा पाएको दलको शीर्ष तहमा प्रकट व्यक्तिगत स्वार्थ, पदीय छिनाझपटी र आरोप–प्रत्यारोपका कारणले जनतामा निराशा छाएको छ। अस्थिरता उत्पन्न हुँदा मुलुकभित्र लोकतान्त्रिक मान्यताको क्षयीकरण हुँदै गएकोतर्फ नेकपा नेतृत्वले ध्यान नदिएको प्रत्यक्ष महसूस हुन्छ। यस परिप्रेक्ष्यमा, विभिन्न आन्दोलन एवं राजनीतिक दलको नेतृत्व गरी लामो अनुभव हासिल गरेका र प्रधानमन्त्रीको पदसमेत सम्हालिसकेका व्यक्तित्वहरू सम्मिलित सत्तारुढ दलको नेतृत्व तह तथा सरकारलाई आफ्ना कमजोरीहरूको समीक्षा गर्दै व्यक्तिगत महत्वाकांक्षाबाट माथि उठेर मुलुक र जनताको हितमा तत्काल केन्द्रित हुन हामी अपिल गर्दछौं।

४. भूराजनीतिक चिन्ता : सत्तारुढ दल र प्रमुख प्रतिपक्षको आआफ्नै आन्तरिक द्वन्द्वका कारण नेपाल राष्ट्रको घरेलु क्षमता बढाउन चाहिने राजकीय मिहिनेत दलीय व्यवस्थापनमा खर्च भइरहेको छ। पछिल्ला वर्षहरूमा एशिया र दक्षिणएशिया केन्द्रित भूराजनीतिक रस्साकस्सी बढेको छ। अस्थिर बन्न पुगेको नेपालले बढ्दो भूराजनीतिक चुनौती सामना गर्न सक्दैन। असंलग्नताको सिद्धान्तअनुरूप सन्तुलित परराष्ट्र नीति कायम गर्न, छिमेक र लोकतान्त्रिक विश्वसँग विश्वासको सम्बन्ध बढाउन एवं नेपालको विदेश नीतिमा एकरूपताका लागि दलीय सहमति निर्माणको पहल गर्न हामी नेपाल सरकारलाई आग्रह गर्दछौं।

५. नेतृत्व पुस्तान्तरण : संविधान अनुसार राजनीतिक दलको नेतृत्व परिवर्तन गर्ने वैधानिक बाटो महाधिवेशन हो। लोकतन्त्र सबल हुन राजनीतिक दलहरूको आन्तरिक लोकतन्त्र सुनिश्चित हुनुपर्दछ। आन्तरिक लोकतन्त्रले नै दललाई गतिशील राख्छ र जनतासँग निरन्तर एकाकार रहन उत्प्रेरित गर्दछ। संविधानले राजनीतिक दलभित्रको लोकतान्त्रिक परिपाटीका लागि सैद्धान्तिक मार्गदर्शन गर्दै आर्थिक पारदर्शिता र निर्वाचित नेतृत्वमा जोड दिएको छ। विभिन्न लोकतान्त्रिक मुलुकहरूले कार्यकारी पदमा दुई कार्यकाल काम गरिसकेपछि उही व्यक्ति नदोहोरिने अभ्यासलाई सफलतापूर्वक कार्यान्वयन गरेका छन्। नेपालमा राष्ट्रपति पदका लागि मात्र यो व्यवस्था भए पनि संविधानको भावना र नागरिक आकांक्षाले नेतृत्वको निरन्तर नवीकरण हुनुपर्ने माग गर्दछ। दल र सरकारको कार्यकारी नेतृत्वको हकमा यो प्रावधान नभए तापनि नेतृत्वको पुस्तान्तरणसम्बन्धी विषयले दलीय छलफलमा प्रवेश पाउन थाल्नु स्वागतयोग्य छ। नेतृत्वको पुस्तान्तरणलाई अब बहसको विषय मात्र नबनाएर सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेससहितका दलले नयाँ पुस्तामा नेतृत्व लैजाने ठोस मार्गचित्र तय गर्नुपर्दछ। सत्तारुढ दल र प्रमुख प्रतिपक्षले आफ्नो आन्तरिक लोकतन्त्रलाई बलियो बनाउने घोषणा गरेअनुरूप आ–आफ्नो महाधिवेशन सम्पन्न गर्नुपर्छ र महाधिवेशनले पुस्तान्तरणको भावना बोक्नुपर्छ।

६. राजकाज र भागबण्डा : वर्तमान सरकारका शासकीय कमजोरीबारे नागरिक तहले आवाज उठाइरहेको छ। संसद्मा विचाराधीन दर्जनौं विधेयक पारित नभएका कारण संविधान कार्यान्वयनको प्रक्रियामा ढिलाइ भएको छ। एकातिर संघमा शक्तिको केन्द्रीकरण हुँदै गएको परिस्थिति, अर्कोतिर सत्तारुढ दलको नेतृत्वले महाधिवेशन तयारीतर्फ ध्यान नदिई भागबण्डा चाहेको कारण नयाँ संविधानद्वारा निर्देशित अनेकन् मुद्दामा सरकार सफल हुनसकेको छैन। संवैधानिक आयोगहरूमा नियुक्ति हुन नसकेको कारण ती आयोगहरू क्रियाशील हुन सकेका छैनन्। विस्तृत शान्ति सम्झौतमा हस्ताक्षर भएको पन्ध्र वर्ष बितिसक्दा पनि संक्रमणकालीन न्यायमा भएको बेवास्ताले पीडितमाथि अन्याय थपिएको छ, साथै देशको अन्तर्राष्ट्रिय छवि नराम्ररी खस्किएको छ। भ्रष्टाचारका मुद्दामा प्रभावकारी छानबिन र कारबाही हुन सकेको छैन। सरकारले संघीयता कार्यान्वयन, समावेशिता, रोजगारी प्रवद्र्धन, कर्मचारीतन्त्रको क्षमतालगायत विभिन्न क्षेत्रमा ठोस प्रगति देखाउन सक्नुपर्छ। विशेषगरी संविधानले प्रत्याभूति गरेको समानुपातिक समावेशीकरणको अधिकारको निर्वाध कार्यान्वयन तथा संविधानअनुसार काम गरिरहेका स्थानीय तह र प्रदेशलाई अधिकारसम्पन्न बनाउनु अहिलेको आवश्यकता हो। राजकाज संचालनका कमजोरीले पनि मुलुकभरि सार्वजनिक बहसको दायरा खुम्चिएको छ। भागबण्डा प्रवृत्तिबाट मुलुकले खोजेको दीर्घकालीन लक्ष्य प्राप्त गर्न नसकिने भएकोले सरकार, प्रतिपक्ष र दलीय नेतृत्वले आ–आफ्नो स्थान बुझेर काम गर्नुपर्छ भन्ने हाम्रो माग छ। हामीले यहाँ राखेका विचार र मागहरू जनताको तर्फबाट प्रमुख प्रतिपक्षी दलले उठान गर्नुपर्ने भएकोले आफ्नो संवैधानिक दायित्व र जनताप्रतिको जवाफदेही निर्वाह गर्न हामी नेपाली कांग्रेसलाई आह्वान गर्दछौं।

७. कोभिड–१९ महामारी : कोभिड–१९ को संक्रमणबाट नागरिकलाई जोगाउनु आजको प्रमुख राष्ट्रिय चुनौती भएको छ, जसको सामना गर्न सरकारले प्रभावकारी नेतृत्व दिनसकेको छैन। यसबाट स्वास्थ्यसम्बन्धी मौलिक अधिकारको उचित संरक्षण हुनसकेको छैन। बृहत् राष्ट्रिय एकता, सरकारलाई निरन्तर गरिने खबरदारी तथा संक्रमणबारे सचेतनाले मात्र यो महामारीबाट पार पाइनेछ। विश्वलाई नै महामारीले च्यापेको यस विषम परिस्थितिमा सबै प्रकारका राजनीतिक अवसरवाद त्यागेर मुलुकसामु उपस्थित चुनौतीहरूको सामना गर्नका लागि एकताबद्ध हुन सबै राजनीतिक दललाई तथा सचेत रही निरन्तर खबरदारी गर्न आम नागरिक एवं सामाजिक संगठनहरूलाई हामी अपिल गर्दछौं।

हस्ताक्षरकर्ताहरू
१. डा. अर्जुन कार्की
२. कनकमणि दीक्षित
३. कपिल श्रेष्ठ
४. कृपाराम थारू (राना)
५. डम्बर चेम्जोङ
६. देवेन्द्र विश्वकर्मा
७. विपिन अधिकारी
८. विष्णुप्रसाद बराल
९. मोहनसिंह थेबे
१०. रवीन्द्र कर्ण
११. रामेश्वर खनाल
१२. डा.रेणु अधिकारी
१३. सुशील प्याकुरेल

प्रकाशित: Nov 26, 2020| 14:36 बिहीबार, मंसिर ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।