काठमाडौं– पर्यटन उद्यमी एवम् नेपाल–फ्रान्स चेम्बर अफ कमर्सका अध्यक्ष श्याममोहन श्रेष्ठको आत्मवृत्तान्त ‘काठमाडौं–पेरिस–काठमाडौं रेल–बस यात्रा’ लोकार्पण भएको छ।
इतिहासविद् एवम् वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी, पर्यटन उद्यमी एवम् लेखक कर्ण शाक्य, नेपालका लागि फ्रान्सेली राजदूत फंसोआ जाविये लेजे, पूर्वगभर्नर चिरञ्जीवी नेपाल, पूर्वपरराष्टमन्त्री रमेशनाथ पाण्डे र लेखक श्रेष्ठले संयुक्त रूपमा शनिबार पुस्तकको लोकार्पण गरेका हुन्।
कार्यक्रममा बोल्दै इतिहासविद् जोशीले पुस्तक सबैको लागि प्रेरणादायी भएको बताए। पुस्तकमा लेखक श्रेष्ठले जीवनमा आइपरेका दुःख, कठिनाइ एवम् सफलतालाई सरल किसिमले प्रस्तुत गरेको उनको भनाइ छ।
लेखक कर्ण शाक्यले पुस्तकले सकारात्मक सोच अभिवृद्धि गर्न सघाउने प्रतिक्रिया दिए। पूर्वगभर्नर नेपालले पुस्तकले नेपाल र फ्रान्सबीचको सम्बन्धलाई उजागर गर्ने धारणा राखे।
राजदूत लेजेले पुस्तकले नेपाल र फ्रान्सबीचको सम्बन्ध एवम् विविध पाटोलाई उजागर गरेको उल्लेख गरे। पुस्तक फ्रान्सेली भाषामासमेत अनुवाद हुनुपर्ने उनको जोड थियो।
‘साहस र आँटले डोर्याएको जिन्दगी’ उपशीर्षक रहेको पुस्तकमा श्रेष्ठले बाल्यकालदेखि जागिरे जीवनमा आइपरेका कठिनाइ, संघर्ष एवम् विविध आश्चर्यजनक संयोगलाई सरल किसिमले प्रस्तुत गरेका छन्।
एयर फ्रान्सको नेपाल प्रमुख भएर लामो समय काम गरेका श्रेष्ठले जीवनमा घटेका र तथ्यमा आधारित घटनालाई सटिक किसिमले उल्लेख गरेका छन्।