विशेष

भक्तपुर अस्पतालको जीवन बदल्ने मेसु सुमित्रा

1610171384.png

मुख्य प्रवेशद्वारदेखि नै विकृति र भद्रगोल देखिनु सरकारी संस्थाको विशेषता नै हो। धेरै नागरिकको भरोसाको केन्द्र अधिकांश सरकारी अस्पतालको अवस्था त झन् दयनीय छ। कुशल नेतृत्व पाएपछि अनेकौं समस्याले ग्रस्त देशकै दोस्रो पुरानो भक्तपुर अस्पतालले एक वर्षमै काँचुली फेरेको छ। कसरी ?

NLG Insurance
agrakhi
Yeti parketing

‘म आउँदा अस्पतालको गेटमै बसेर एम्बुलेन्स चालक गफ चुटिरहेका हुन्थे। बिरामीका आफन्तसँग उनीहरूको प्रश्न हुन्थ्यो– यहाँ बिरामी किन ल्याएका? यो डाक्टर ठिक छ र यो ठिक छैन भनेर बदख्वाइँ गरिरहेका हुन्थे।’

त्रिशूली अस्पतालका अध्यक्ष अर्जुनप्रसाद न्यौपाने, मेडिकल सुपरिटेन्डेन्ट डा. दीपेन्द्र पाण्डेसहितको टोलीलाई देशको दोस्रो भक्तपुर अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. सुमित्रा गौतम आफ्ना अनुभव सुनाइरहेकी थिइन्, ‘मैले त्यहींबाट सुधार गर्नुपर्ने आवश्यकता देखें।’ टोली भक्तपुर अस्पतालको व्यवस्थापनबाट प्रभावित भएर केही सिक्न आएको थियो। 

सिन्धुलीको ‘दयनीय’ अस्पताललाई ‘बिरामीको भरोसा केन्द्र’ बनाएकी डा. सुमित्रालाई सरुवा गरेर भक्तपुर पठाइँदा उनी त्यति खुसी थिइनन्। 

कारण यसअघि भक्तपुर अस्पतालमा सरुवा भएर आउने अधिकांश डाक्टरको मनमा अस्पतालमा सेवा प्रवाह कसरी प्रभावकारी बनाउने भनेर मनमा चिसो पस्ने गथ्र्यो। योजना बनाउँदा बनाउँदै उनीहरू विफल हुन्थे र सरुवा भएर अन्यत्र जान्थे। 

त्यसैले डाक्टरहरू देशकै दोस्रो अस्पताललाई ‘कारबाही केन्द्र’ रुपमा लिन्थे। ‘हो, त्यही मनोविज्ञान थियो, मलाई पनि कतै कारबाहीस्वरुप यहाँ पठाइएको त होइन भन्ने लाग्यो’, मेसु डा. सुमित्राले भनिन्, ‘अवस्था हेर्दा त्यस्तै थियो, जता हेर्‍यो त्यतै लथालिंग।’

सहज थिएन भ्वाङैभ्वाङ टाल्न

एक वर्षअघि मंसिरमा डा. सुमित्रा गौतमले मेडिकल सुपरिटेन्डेन्टका रुपमा भक्तपुर अस्पतालको ‘कमान्ड’ सम्हाल्दा स्वास्थ्य मन्त्रालयको मूल्यांकनमा ३८ अंक प्राप्त अस्पताल थियो। यो भनेको अस्पताल न्यूनतम सेवा मापदण्डमा निकै कमजोर हो। देशको दोस्रो पुरानो अस्पतालको यस्तो अवस्था पक्कै पनि राम्रो थिएन। अस्पताल १९६१ असार १७ गते ‘चन्द्रलोक डिस्पेन्सरी’का नाममा स्थापना भएको हो। 

सरुवा भएर आएको एक वर्ष अवधिमा डा. सुमित्राले अनेक आलोचना मात्रै भोगिन्, विश्वमहामारीले ‘ठप्पै’ पारेको अवस्थामा पनि सम्हालिइन्।

‘तर म त्यत्तिकै बसिनँ। चार महिना अस्पतालको अवस्था बुझ्नै लाग्यो, जहाँ गयो उतै समस्या, जसलाई भेट्यो, निराशा मात्रै,’ उनी भन्छिन्, ‘सबै ठाउँमा भ्वाङैभ्वाङ, अरूलाई राम्रो गर भन्ने आफू नगर्ने, सबैभन्दा ठूलो समस्या त काम दिने तर माम नदिने रहेछ।’

मान्छेको दुःख के हो? मध्यमवर्गीय परिवारमा हुर्किएकी सुमित्राले बुझेकी थिइन्। व्यवस्थापन कसरी गर्नुपर्छ भन्ने अनुभव सिरहाको मिर्चैया अस्पताल र सिन्धुली अस्पतालबाट पाएकी थिइन्। 

उनको पहिलो कदम थियो– भएभरका एम्बुलेन्स चालक (बाहिरका पनि) जम्मा भएर अस्पताल र डाक्टरका बारेमा नानाथरी कुरा गर्ने थलो मेटाउनु। 

अस्पतालको देब्रेपट्टि रहेको ‘दिक्दारलाग्दो’ जमिनमा उनले ‘रहरलाग्दो’ पार्क बनाउन लगाइन्। उराठलाग्दो अस्पतालको अनुहारमा यसले केही चमक थप्यो।

बिरामी कहाँ बस्ने? परीक्षण पुर्जीका लागि कहाँ लाम बस्ने? परीक्षणका लागि कहाँ पालो पर्खर्ने? सबै भद्रगोल थियो। गौतमले यसको व्यवस्थित सुरुवात गरिन्। 

अस्पतालमा काम गर्नेले लामो समयदेखि पारिश्रमिक पाएका थिएनन्। उनले भनिन्, ‘म आउँदा कतिपयले एक वर्षदेखि अतिरिक्त समय सेवा गरेको पारिश्रमिक पाएका थिएनन्।’ 

उनलाई कारण पत्ता लगाउन समय लागेन। १६–१७ सय रुपैयाँमा आउने पानीका ट्यांकरको बिल २५ सय रुपैयाँको बनाइँदो रहेछ। उनले भनिन्, ‘मासिक १५८ ट्यांकरसम्म खपत हुने पानीमै ठूलो पैसा बगिरहेको रहेछ।’ 

उनले ४० हजार रुपैयाँको मेसिन किनेर पानीको व्यवस्थापन गरिन्। एम्बुलेन्स मर्मत र इन्धनमा हुने चुहावट रोकिन्। स्वास्थ्य बिमा र फार्मेसीलाई व्यवस्थित गर्न थालेपछि नाफामा चल्न थाल्यो। 

‘भ्वाङ टाल्दै गएपछि अस्पतालको आम्दानी बढ्यो,’ उनले भनिन्, ‘काम मात्रै गर्ने माम नपाउनेको गुनासो सम्बोधन गर्न अब गाह्रो भएन। स्वास्थ्यकर्मी, कर्मचारी र डाक्टरमा पनि उत्साह थपियो।’

कोरोना कालमा देशका ठुल्ठूला अस्पतालका ढोका बन्द भए। महामारीमा बिरामी एक अस्पतालले उपचार गर्न नमान्दा अर्को अस्पताल धाउन बाध्य भए। कतिपयले त अस्पताल चहार्दाचहार्दै ज्यान गुमाएका समाचार बाहिरिए। तर भक्तपुर अस्पतालको ढोका कोरोना महामारीका बेला पनि चौबीसै घण्टा खुला रह्यो। 

‘हामीले अस्पताल मात्रै खुला राखेनौं। सकेजति सुविधा पनि थप्यौं’, मेसु डा. सुमित्राले भनिन्, ‘मान्छेमा विश्वास बढ्यो। अस्पतालले भरोसा कमाउँदै गयो।’

कुरा गर्दैगर्दा अस्पतालमा सेवा लिन आइपुगेका भक्तपुर–९ का सत्यराम हेमाफुकीले फ्याट्ट भने, ‘पहिला त हामी नै यहाँ आउँदैनथ्यौं, अहिले बल्ल काठमाडौंको अस्पतालजस्तो भएको छ।’

सेवाग्राही हेमाफुकीको टिप्पणीजस्तै देखेर होला स्वास्थ्य मन्त्रालयको मूल्यांकनमा भक्तपुर अस्पताल उत्कृष्ट बन्न सफल भएको छ। 

स्वास्थ्य मन्त्रालयको न्यूनतम सेवा मापदण्डमा अस्पतालले गर्दै आएको सेवा प्रवाहको अवस्था मूल्यांकनमा भक्तपुर अस्पतालले ८२ अंक प्राप्त गर्दै उत्कृष्ट स्थान हासिल गरेको हो। 

‘यो सब मेरो मात्र प्रयासले भएको होइन,’ डा. सुमित्राले भनिन्, ‘कार्यालय सहयोगीदेखि स्वास्थ्यकर्मी, डाक्टर र अध्यक्षले साथ नदिएको भए अस्पतालले प्राप्त गरेको अंक अर्कैले पाउँथ्यो। मेरो मिहिनेत र लगनले मात्रै प्राप्त भएको हो भन्दा अन्याय हुन्छ, घमण्ड ठहरिन्छ।’

त्यसरी साथ पाएपछि उनले अस्पताललाई यो स्थानमा पुर्‍याएकी हुन्। सरकारबाट प्राप्त ५५ जना जनशक्तिमा बाँकी जनशक्ति व्यवस्थापन समिति, करार र विभिन्न कार्यक्रममार्फत पूर्ति गरेरै अस्पतालले वर्ष दिनमा एक हजार ६६२ वटा शल्यक्रिया गरेको छ। 

उनी आउँदा ७३ शय्या रहेको अस्पतालमा अहिले २९ शय्या थपेर १०२ शय्या बनाइएको छ। १० शय्या इमर्जेन्सीका लागि छुट्ट्याइएको छ। यस्तै २० शय्या हाई केयर युनिट, २० शय्या कोरोना संक्रमितका लागि र २५ शय्या स्त्री तथा प्रसुति सेवाका लागि छुट्याइएको उनले बताइन्। अव उनी ७५ शय्या हाई केयर युनिट थप्ने योजनामा छन्। 

मेडिकल वार्डमा २१ शय्या र सर्जिकल वार्डमा २० शय्या छन्। स्थापनाको ११७ वर्षपछि अस्पतालमा आईसीयूका ६ शय्या थपिएका छन्। तीनवटा भेन्टिलेटर सञ्चालनमा छन्।  

उपचारका लागि आउनेलाई ‘रेफर’ मात्रै गरेर बसेको अस्पतालले अहिले ‘रेफरल इन’ का रुपमा २४ सै घण्टा आकस्मिक सेवा, स्त्री तथा प्रसूति सेवा र आमा सुरक्षा सेवा उपलब्ध गराइरहेको छ।  

अस्पतालमा शल्यक्रिया, नाक–कान–घाँटी, बालरोग, दन्तरोग, छाला रोग, मानसिक रोग, फिजियोथेरापी, आँखा रोग, तरंगबाट शल्यक्रियालगायतका १८ वटा विभाग सञ्चालनमा छन्।

अस्पतालको ओटी इन्चार्ज हरिप्रसाद कोजू पनि अचेल दंग छन्। डेढ दशकदेखि कार्यरत कोजूले भने, ‘डा. आईपी प्रजापति र डा. विमलप्रसाद ढकालले पनि सुधार गर्न खोज्नुभएको थियो तर भएन। अहिले चामत्कारिक रूपमा सुधार भएको छ। हाम्रा हरेक समस्या तत्काल सम्बोधन भएकाले पनि परिवर्तन भएको हो।’

मेसु डा. सुमित्राको सुधारको सूत्र पनि यही हो। ‘भरियालाई भारी मात्रै बोक भनेर हुँदैन, नाम्लो, बरियो र डोको पनि दिनुपर्छ’, गौतमले भनिन्, ‘भरिया थाक्छ र उसलाई भोक लाग्छ भन्ने पनि बुझिदिनुपर्छ।’ 

उपचारका लागि अस्पतालमा चाहिने उपकरणको उच्च व्यवस्थापन, चुहावटमा रोकथामदेखि उपचारमा संलग्न हुने स्वास्थ्यकर्मीलाई आवश्यक सुविधाका कारण यो सबै सम्भव भएको सुमित्रा बताउँछिन्। 

उनी अस्पताल सुधार र बिरामीको उत्कृष्ट उपचारका लागि नर्सिङ विभागलाई ‘आमा’ को संज्ञा दिन्छिन्। 

‘व्यवस्थापन भनेको घर हो, डाक्टर बाबु हुन्, आमा भनेको त नर्सिङ विभाग हो,’ डा सुमित्राले भनिन्, ‘उहाँहरू जिम्मेवार भइदिनुभएन भने आमा जिम्मेवार नहुँदा बालबच्चाले खान नपाउने अवस्था जस्तै हुन्छ। त्यसैले जति सुधार गर्छु भन्दा पनि बिरामीको गुनासो कम हुँदैन।’

सुमित्राको मेडिकल यात्रा

नवलपरासीको सुनवलमा मध्यमवर्गीय परिवारमा आमा खगिसरा गौतम र बुवा नरेश्वर गौतमको सन्तानका रुपमा जन्मिएकी सुमित्रालाई विद्यालयमा पढ्दा डाक्टरै बन्छु भन्ने लागेको थिएन। 

बुवाआमाका सात सन्तानकी कान्छो सन्तान भएकाले उनी शैशवकालदेखि लाडप्यारमा हुर्किइन्। पढाइमा पनि उनी तेज थिइन्। नवलपरासीको ज्ञानोदय माविबाट एसएलसी गरेपछि विज्ञानमा १२ कक्षा उत्तीर्ण भइन्। अनि उनलाई डाक्टरी पढ्न रहर लाग्यो। अर्धछात्रवृत्तिमा नेपालगन्ज मेडिकल कलेजबाट एमबीबीएस गरिन्। 

नेसनल एकेडेमी अफ मेडिकल साइन्स (न्याम्स) बाट एमडी (गोल्डमेडलिस्ट) गरेपछि उनले पहिलोपटक जनताको सेवा गर्ने अवसर पाइन् सिरहाको मिर्चैयास्थित अस्पतालबाट। 

‘म २०७० असोजमा त्यहाँ पुगेकी थिएँ । कहाँ आएँ कहाँ आएँ जस्तो भएको थियो। स्वास्थ्य केन्द्र त गाईभैंसी गोठजस्तो पो थियो’, उनले विगत सम्झिइन्।

उनलाई केही गरेर देखाउन हुटहुटी जाग्यो। त्यसमा एकल प्रयासले सम्भव थिएन। आफूले केही त्याग नगरी अरूसँग सहयोगको हात थाप्न पनि अप्ठ्यारो। अनि उनले स्थानीयलाई भेला पारेर प्रस्ताव गरिन्, ‘म एक महिनाको तलब हाल्छु, यो अस्पताल बनाऔं।’ 

केही दिनमै स्थानीय बासिन्दाले ८३ लाख रुपैयाँ संकलन गरे। अस्पताल सुधारका लागि उनले योजना बनाइन्। सोहीअनुसार सरकारले पनि सहयोग गर्‍याे। केही समयमै अस्पतालमा सुधारका संकेत देखिन थाल्यो। 

उनी सम्झन्छिन्, ‘अस्पतालमा हुँदै नभएको सेवा सुरु भएको थियो। म सरुवा हुँदा धेरै दिदीबहिनी दुःखी भएका थिए।’

सिरहाबाट उनको सरुवा सिन्धुली अस्पतालमा भयो। त्यति बेला स्वास्थ्य मन्त्रालयको मूल्यांकनमा ६० अंक प्राप्त अस्पताल थियो सिन्धुली अस्पताल। 

‘सुरुमा म दोस्रो वरीयतामा थिएँ। पूर्ण जिम्मेवारी पाएपछि अस्पतालमा २४ घण्टा प्रसूति सेवा, शल्यक्रियादेखि सबै खालका ल्याब थपें। धेरै विभाग स्थापना भए,’ उनले भनिन्, ‘म सरुवा हुँदा मन्त्रालयको मूल्यांकनमा अस्पतालले ९६ अंक पाएको थियो।’

गाउँमा जन्मिएकी डा. सुमित्रालाई गाउँको स्वास्थ्य सुधार्ने रहर हो।

‘यहाँ आउँदा त उपत्यकाभित्रै यति पुरानो इतिहास भएको अस्पतालको अवस्था गाउँको भन्दा पनि दयनीय रहेछ,’ उनले भनिन्, ‘एक मनले लाग्यो– मलाई कारबाहीस्वरुप यहाँ पठाइएको हो। मन्त्रालयदेखि यहाँको व्यवस्थापनको सहयोग हेर्दा लाग्छ, यो मेरा लागि अवसर रहेछ। यसलाई देशकै आसलाग्दो अस्पताल बनाउने सपना छ।’ 

प्रतिक्रिया दिनुहोस्