विशेष ब्लग

छाउगोठ भत्काइदिनेले मस्तिष्कमा रहेको छाउगोठ खै भत्काएको?

1610177427.jpg

म जन्मनुअघि नै हजुरबुवाको मृत्यु भइसकेका कारण मैले हजुरबुबा पुस्ताका पुरुषको घरभित्रको व्यवहार नजिकबाट नियाल्ने मौका पाइनँ। 

NLG Insurance
agrakhi
Yeti parketing

एकपटक संयोगले हजुरबुवा पुस्ता र बुवा पुस्ताका दुई आफन्तलाई एकैपटक खाना खुवाउने अवसर मिल्यो। खाना खाइसकेपछि हजुरबुवा पुस्ताका आफन्त आफ्नो जुठो थाल जस्ताको तस्तै छाडेर उठ्नुभयो। बुवा पुस्ताका आफन्तले भने जुठो थाल भाँडा माझ्ने ठाउँसम्म पुर्‍याउनुभयो।

उहाँहरुको त्यो व्यवहारबाट मेरोे मनमा दुई प्रश्न उब्जिए, के परिवर्तनका लागि पुस्तान्तर नै जरुरी छ? के अब म मेरो पुस्ताका पुरुषबाट, कम्तीमा पनि आफ्नो जुठो थाल निसंकोच आफैं माझ्ने अपेक्षा राख्न सक्छु? 

कुनै एक पुरुषले भाँडा माझ्दैमा परिवर्तन आउँछ भन्ने होइन। जरुरी त सबै पुरुषले घरभित्रका सानाठूला काममा बराबर जिम्मेवारी अनुभूत गर्नु हो। जबसम्म पुरुष हृदयले घरभित्रका कामलाई आफ्नो सामान्य जिम्मेवारीका रुपमा निसंकोच स्वीकार गर्न सक्दैन, तबसम्म हामीले चाहेजस्तो परिवर्तन सम्भव छैन।

समाजका कुसंस्कारलाई परिवर्तन गर्नुपर्ने विषयमा बहस चल्दा हामी अकस्मात् ठूला भाषण र समाजमाथि सीधा प्रहार गर्न पुग्छौं। उदाहरणका लागि छाउपडी प्रथा उन्मूलन गर्ने नाममा छाउपडी गोठ भत्काइएका समाचार पर्याप्त छन्।

एकजना सुदूरपश्चिमेली सहकर्मी मित्रका अनुसार छाउपडी गोठ भत्काइएका समाचारले सञ्चारमाध्यममा जुन स्थान पाउँछन्, त्यो स्थान छाउपडी गोठ भत्काइसकेपछि खुला आकाशमुनि छाउ बार्न बस्दा चिसोले कठ्यांग्रिएर मृत्यु भएका समाचारले पाउँदैनन्। 

जबरजस्ती छाउगोठ भत्काइदिएपछि महिला खुला आकाशमुनी बसेर छाउ बार्दा निम्तने समस्याबारे पनि उत्तिकै ध्यान दिनु जरुरी छ।

सहरबाट झोलाभरि विदेशी सहायता र सुरक्षाकर्मीका साथमा गाउँ पुगेर छाउगोठ भत्काइदिनेले वर्षौंंदेखि मनमस्तिष्कमा बनेका छाउगोठको जग भने भत्काउन सकेको देखिन्न।

गरुड पुराण सुनाएर ‘छाउ’ हुनुको अर्थ पापको भारी बोक्नु भन्दै गराइएको स्कुलिङ दुई दिनको भाषणले तोड्न सक्दैन।

यसका लागि व्यावहारिक समाधान खोजिनुपर्छ। शिक्षा र स्वास्थ्य बुझेको मेरो पुस्ताले आफ्नी आमाको दिमागबाट पूर्ण रुपमा छाउगोठको जग भत्काउन नसक्ला, तर आफ्नी छोरीका लागि छाउगोठ निर्माणचाहिँ अवश्य गर्दैन। 

त्यसैले जबसम्म छाउ बारिआएकाहरुको मनले छाउपडी प्रथालाई कुसंस्कारका रुपमा स्वीकार गर्दैन तबसम्म यसको अल्पकालीन समाधान खोजिनुपर्छ। 

त्यसका लागि छाउ गोठमा बस्दा चिसोले कठ्यांंग्रिने, जंगली जनवारको सिकार हुनुपर्ने, बलात्कृत हुनुपर्ने जस्ता समस्या समाधानका उपाय अपनाउनुपर्छ। 

समस्याको दीर्घकालीन समाधानका लागि शिक्षा, ज्ञान र चेतनाको घाम नै महत्त्वपूर्ण हो। 

यसको तात्पर्य, समाजमा जरा गाडेका कुसंस्कारलाई अकस्मात् परिवर्तन गर्न खोज्दा आउने पहिरोले झन् ठूलो क्षति निम्त्याउन सक्छ। 
हाँगा मात्र काटिए रुख फेरि पलाउँछ, जरासम्मै पुग्नलाई पहिला सही ठाउँमा हतियार चलाउन सक्नुपर्छ, जुन एक दिनको प्रयासबाट मात्र सम्भव छैन।

संस्कार जतिसुकै गलत किन नहोस्, त्यो अभ्यास गर्नेको मनले गलत नस्वीकार्दासम्म हटाउन गाह्रो हुन्छ। 

एउटा कथित उपल्लो जातको पढेलेखेको सहरिया युवा, कलेज या अफिसमा कथित तल्ला जातका साथीसँग बसेर चिया पिउन कुनै संकोच मान्दैन तर, जब कुरा घरको आउँछ, त्यही साथीलाई आफ्नो घरभित्र लैजान ऊ हच्किन्छ। 

त्यस्तै, सहरमा कोठा लिएर बस्नेहरुमा महिनावारी बार्ने चलन निकै कम भइसकेको छ। सहरमा भाडामा बस्ने जोडीलाई बारेर साध्य पनि छैन। तर, बिदामा घर गएका बेला उनै बुहारी भान्सामा जान सक्दिनन्। न त पतिले नै पत्नी महिनावारी भएका बेला आफूले छोइछिटो नगरेको बताउन सक्छन्। 

यसको अर्थ हो, अघिल्लो पुस्तालाई कुसंस्कारका विरुद्धमा तयार पार्न कम्ता गाह्रो छैन। कारण अनेक हुन सक्छन्– अग्रजप्रतिको सम्मान बचाउने बहाना होस् या मन नदुखाउने चाहना।

नयाँ पुस्ताले लुकिछिपी नै भए पनि बिस्तारै कुसंस्कारलाई निरन्तरता दिन छोड्दै छन्। त्यसैले पुस्तान्तरसँगै परिवर्तन सम्भव छ। त्यसो भन्दैमा परिवर्तनका लागि वर्षौंसम्म कुसंस्कारलाई निरन्तरता दिनुपर्छ भन्ने होइन। तर यस्ता कुरामा ‘क्रान्ति’ ले भन्दा पनि निरन्तरको प्रयासले काम गर्छ। 

अघिल्लो पुस्तामा पनि केही हजुरआमाहरु, जो आफू पहिलोपटक महिनावारी हुँदा माइतीको मुख हेर्न हुन्न भन्ने मान्यतामा अल्झिएर छिमेकीको घरमा लुक्न गएका थिए, अहिल आफ्नी नातिनीलाई टाढैबाट भए पनि पेट दुखेनदुखेको सोध्नेसम्म भएका छन्।  

छोराछोरीको चित्त नदुखोस् भनेरै किन नहोस् अन्तरजतीय प्रेमसम्बन्धहरुले परिवारबाट विवाहको स्वीकृति पाउन थालेका छन्। कुरा काट्ने बीचमा रहे पनि विधवाले निसंकोच रातो पहिरन लगाउन सकेका छन्। यी सबै सकारात्मक परिवर्तनका लागि आशाका किरण हुन्।

समाज परिवर्तनको कदम उठाइरहँदा परम्परागत संस्कारमा रहेका केही वैज्ञानिक कारणलाई पनि ध्यान दिइनु जरुरी हुन्छ। उदाहरणका लागि, महिनावारीमा छुवाछूत गलत हो भन्ने कुरा स्वीकार्दै गर्दा महिनावारीका बेला महिलालाई आरामको जरुरत हुन्छ भन्ने पनि बिर्सनु हुँदैन।

छुवाछूत नगर्ने बहानामा सबै कामको भार महिलामाथि नै पर्न गयो भने पनि त्यस्तो परिवर्तनको नतिजा उल्टो हुन पुग्छ।

तसर्थ, समाज परिवर्तन दुई दिनको प्रयासबाट सम्भव छैन। यसको सुरुवात कुसंस्कारमाथिको सीधा प्रहारबाट नभई त्यो कुसंस्कार नै हो भन्ने बुझाउन सक्नुपर्छ। 

चुरो कुरा, परिवर्तनका लागि चालिने कदमहरु क्रमशः समाजमा स्वीकार्य बनाउँदै अघि बढ्नुले नै दिगो र सकारात्मक परिवर्तन ल्याउँछ। 

यो पनि पढ्नुहोस्

नारीलाई ‘नछुने’ बनाउने प्राधिकार कि पाखण्ड?
 

प्रतिक्रिया दिनुहोस्