कला - साहित्य

कविताले शाब्दिक साम्राज्य रोज्यो र बाहिरियो

हरिशरण ढुङ्गाना

1610163838.jpg

एक दर्जनभन्दा बढी साहित्यिक कृतिको सम्पादन गरेका हरिशरण ढुङ्गानाले विभिन्न कार्टुन संग्रहमा शब्द लेखन गरेका छन्। रेडियो नाटक लेखन तथा अभिनय र विद्यालयीय नाटकहरूको निर्देशनमा पनि उनको संलग्नता छ। पाठ्यक्रम विकास केन्द्रमा नेपाली तथा समाजशास्त्र विषय विज्ञ ढुङ्गानाको मुख्य पेसा भने अध्यापन हो। उनको हालै मानसोच्छलन कविता संग्रह प्रकाशित भएको छ। सोही कृतिमा आधारित रहेर ढुङ्गानासँग नेपाल समयले गरेको छोटो कुराकानी :

NLG Insurance
agrakhi
Yeti parketing

कविता संग्रहको शीर्षक ‘मानसोच्छलन’ अलि दुरुह भएन?

नयाँ र कम सुनिएका शब्द सुरुमा क्लिष्ट लाग्नु स्वाभाविकै हो। पहिलोपटक शीर्षक सुन्दा सामान्य पाठकलाई हाडे ओखरजस्तो लाग्न सक्छ। प्रयोग हुँदै जाँदा दुरुह होला भन्ने मलाई लाग्दैन। मनभित्र तरंगित भावावेगको सँगालो भएकाले यो शीर्षक जुरेको हो। कविताहरूचाहिँ हाडे ओखरभित्रको गुदीजस्तै कोमल छन् भन्नेमा म विश्वस्त छु। त्यसैले पाठकलाई रसास्वादनमा कुनै कठिनाइ पर्दैन। मेरा अन्तर्हृदयका उर्लिएका विचारका छालहरूको बिम्ब तथा प्रतिबिम्बको सँगालो नै ‘मानसोच्छलन’ हो। यसलाई जनजिब्रोले सहजै ग्रहण गर्छ।

संग्रहमा कस्ता विषयवस्तुमा आधारित कविता संगृहीत छन्?

कवि तथा लेखक समय, समाज र वातावरणबाट निरपेक्ष रहेर कलम चलाउन सक्तैन नै। यसमा संगृहीत अधिकांश कवितामा विकृति र विसंगतिबाट मुक्त समाजको परिकल्पना गरिएको छ। 

स्वदेशी माटोको माया, प्रकृतिचित्रण, निम्न वर्गीयले भाग्नुपरेका पीडा जस्ता विषयगत विविधतामा रचिएका कविताको संग्रह हो ‘मानसोच्छलन’। त्यस्तै केही कवितामा परमुखापेक्षी नेपाली संस्कृतिप्रति व्यंग्य गरिएको छ। त्यसैले यो समकालीन समाजको बुलन्द आवाजलाई काव्यिक रुप दिइएको कृति हो। 

कविता मुक्त र वार्णिक दुवै छन्दमा रचित छन् भने विम्बप्रतिविम्बको संयोजन गरिएको छ। अनुभूतिलाई तीव्र तुल्याउन प्रकृति, जीवन र मानव व्यवहारबाट विषयवस्तु टिप्तै व्यष्टि मात्र होइन समष्टि भावलाई  रससिद्धाटनको प्रयत्न गरिएको छ। काव्यकृति प्रकाशनका लहरमा पहिलो कृति ‘मानसोच्छलन’ मा स्फुट तथा फुटकर गरी चवन्न वटा कविता छन्। 

कविता सिर्जनामै किन रुचि राख्नुभयो?

बाल्यकालदेखि स्तुतिपरक मन्त्रहरू सुन्दै आएको र रसपरिपाकतर्फ कविताकौशलले आत्मसन्तुष्टि मिलेको हुँदा आनन्द प्राप्तिका हेतु कविता श्रवण र वाचनतर्फ आकर्षण बढेको हो। 

लक्ष्मीप्रसाद देवकोटा, लेखनाथ पौड्याल र माधव घिमिरेका काव्यकृति पढेपछि कविता लखूँ लेखूँ लाग्न थाल्यो। साथै गेयात्मकलाले अन्य रचनाभन्दा कविता विधाप्रति आकृष्ट भएँ। कवितामा उपमा, उपमेय, विम्ब प्रतिविम्ब र अलंकारको प्रयोग सहज लाग्दै गएकाले यसतर्फ रुचि जागृत भएको हो। 

कविता रच्तै जाँदा आस्वाद्य एवम् सुबोध पनि बन्दै गयो। दबाएर राखेको मनका उच्छलनहरूले कमजोर छिद्र भेटेपछि त्यहींबाट विस्फोट हुँदो रहेछ। कविता पनि मेरो कमजोर मनबाट फुत्कियो। अन्य विधालाई बाँध्न सकें तर कविताले शाब्दिक साम्राज्य रोज्यो र बाहिरियो। 

बाहिरिँदा छानिएर शुद्धिएकै छ भन्ने चाहिँ अवश्य होइन। हडबडले सालनालसहितको शिशुझैं कृतिको जन्म हुँदा शब्दप्रयोगमा दरिद्रता, मुद्रा राक्षसको हालिमुहाली, छन्दको क्रमभंगता, गद्य अवयवमा खजमज होलान् तापनि कृतिको जन्म भयो नै तर मेरा कविताले पाठकको हृदयलाई बलात् आकृष्ट गर्ने ध्येय राखेका छैनन्।  

कुन सन्दर्भ र घटना विशेषले कविता लेखूँ लेखूँ जस्तो लाग्छ?

कवित्वको भावनामा चामत्कारिक ढंगले कुनै पनि बेला तरंगित हुने हुँदा यही समय र सन्दर्भ विशेष भनेर किटान गर्न सकिन्न। कुनै बेला त्यही कुराले स्फुरण हुन्न तर कुनै बेला मन कमजोर हुँदा त्यहींबाट कविताको मूल फुट्छ, हो त्यही बेला कविता लेखूँ लेखूँ लाग्छ। 

कविता दिउँसो, राति, बिहान कुन बेला आख्यानात्मक, नाटकीय र प्रगीतात्मक संरचनाले झकझकाउँछ, त्यसबेला कल्पना र मौलिकताको बान्किलो पाराले ध्वन्यात्मक वा लेख्य रूप दिऊँ दिऊँ लाग्छ अनि कविता लेखनको भावमय डोरीलाई लेखनीले डोब दिँदै कविताका थुँगाहरू देखा पर्छन्। त्यसैले यही सन्दर्भ र घटना नै कविताको कारक हो चाहिँ भन्नै सकिन्न।

कहिले देश दुख्छ, कहिले समाजले लल्कार्छ, कहिले रीति र थितिको बोझले थिच्छ, कहिले घर, व्यवहार र आफन्त अनि आफैंले पिरोल्छ जसले मलाई उन्मुक्ति दिने प्रयास गर्दछ त्यो नै कविता बनेर बाँच्ने जिजीविषा जगाइदिन्छ।

अचेल आख्यानको समय भनिन्छ। कविता विधाको भविष्य कस्तो देख्नुहुन्छ?

भावाभिव्यक्तिका सुन्दरतम् श्रेष्ठ माध्यम कविता भएकैले वैदिककालदेखि आजपर्यन्त काव्यात्मक भाष्यलहरीको उद्भव हुँदै आएको पाइन्छ। कोमल र स्निग्ध, सहज शैली, उदात्त भाव, तरलता, गेयात्मकता, नैतिक, आध्यात्मिक धरातलमै सत्यमेव जयतेको प्रबलता निबद्ध भएकाले विगतमा झैं आगत पनि कविताको रजाइँ हुने नै छ। 

भौतिक र अभौतिक गतिविधिका हरेक चालमा कवित्वमय संसार छिपेको हुँदा कविताको सुदीर्घ पद्य र गद्य वर्ण्य विषय मौलाएको देखिन्छ। संस्कृत साहित्यमा आयाम, शैली र रसमाधुर्यमा जुन ओजस्विता थियो अब यस्तो प्रवृत्ति खोज्नुपर्छ भन्ने होइन। आजको पुस्ता यसकै जगमा अडिएर युगेच्छानुरूपको पद्य, गद्य हाइकु आदि हुँदै काव्यरमणीयतातर्फ अगाडि बढ्दै छ। त्यसैले यसको भविष्य समुज्ज्वल छ। 

कविता विधाप्रति समालोचकहरू पूर्वाग्रही हुन थालेका हुन्?

समीक्षामा आग्रही, वाद र नीतिका पछि लाग्नेको दर्शन छँटाइ जस्ता पक्षको बोलवालाले गर्दा समालोचकहरु कविता विधाप्रति कम आकृष्ट भएकै हुन्। यस्तो हुनुमा पुस्तान्तरणको संक्रमण हो कि भन्ने लाग्छ। कविता विधाका समालोचकलाई विपक्षी दलझैं हेर्ने जमात पनि बग्रेल्ती छन्। तापनि समालोचकीय दृष्टिलाई व्यावसायिकतातर्फ उन्मुख गराउन सके यसको भविष्य पनि अझै उर्वर हुँदैन र?

स्वतस्फूर्त सिर्जना र समीक्षाको बढावाले नै समालोचना मौलाउँछ। समीक्षकहरूको दृष्टिगोचर कविता विधाप्रति सकारात्मक भएमा प्रत्येक नवजात शिशुको मुस्कानबाट आनन्द लिन सकिन्छ नत्र कृष्ण जन्मेर कंशलाई के!

झन्डै एक वर्षदेखि कविता श्रवण, वाचन र समीक्षात्मक गतिविधि भर्चुअलमा सीमित छन्। कविताका श्रोता र पाठकले पनि केही गुमाए जस्तो लाग्दैन?

कहरावधिले सिर्जनशीलता झन् बढाएको छ। जतिसुकै व्यवधान आइपरे पनि सिर्जना मर्दैन। यसबारे देवकोटा र पारिजातको जीवनीबाटै हामीले धेरै कुरा थाहा पाउँछौं। 

केही समयदेखि साहित्यानुरागीहरू खुम्चिएर बस्नुपरेको र कृतिहरूका सार्वजनिकीकरणमा एकाकार हुनबाट वञ्चित भएकै हुन् तापनि खाने मुखलाई जुँगाले छेक्तैन भनेझैं भर्चुअल प्रविधिको सहायताबाट पनि रसास्वादन गरियो। तर यसले अपेक्षित रूपमा गति लिएन। 

सिर्जना जन्मिएका छन् तर पाठक वा श्रोताले भावनात्मक वा बौद्धिक कथ्यको पद्यलयात्मकतासँग साक्षात्कार गर्ने कुरामा सीमितता भयो। साथै अभिव्यक्तिगत कौशल प्रदर्शन हुने अवसरबाट वञ्चित हुनुपरेको छ।  

निश्चय नै प्रविधिमैत्री काव्यात्मक लहरले एउटा छुट्टै माहोल सिर्जना गरेको हुँदा कति पाठक बढे पनि होलान्। विश्व साहित्यमै काव्यसौन्दर्य छिपाएको अवस्थामा पनि लेखनी मौलाएकै छ। सहज अवस्था भएपछि तिनमा पाठकको पहुँच हुने नै छ।   

नेपाली साहित्यका पाठकले ‘मानसोच्छलन’ किन पढ्ने?

प्रस्तुत कविता संग्रहमा गद्य र पद्यकै आस्वादन यसमा छ नै। चन्द्रमाका कलालाई किन नियाल्ने, मृगशावकका उफ्राइलाई किन हेर्ने? ‘मानसोच्छलन’ म जस्तैका मनका तरेली हुन् जसलाई आफूभित्र कुनै यस्तै छाल पाउन सक्छ र आस्वादन लिन सक्छ। यो कृति पनि समाज र वातावरणबाट निरपेक्ष नरहेकाले कच्चा होस् वा परिपक्व साधकका लागि केही न केही रसास्वादन गर्ने शब्दगुच्छा होला नै।

समाजको पर्दा उघार्दा के देखिन्छ, वातावरणभित्र छिर्दा के अनुभूत हुन्छ त्यो पक्षलाई सर्जकका हैसियतले देखेको र भोगेको कुरा विभिन्न अवधिमा कोरिएका कविता अकविता यसमा समेटिएका छन्। सर्जकको अन्तर्मनजस्तै पाठकको पनि हार्दिक भाव तरङ्गित भएमा यो कृति प्रेरणाको स्रोत बन्न सक्ला भन्ने विश्वास लिएको छु। सर्जक समाजको पनि पाठक भएकाले एउटा पाठकको मनको उच्छलन बुझ्न ‘मानसोच्छलन’ पढ्नैपर्छ।

अब कस्ता कविता लेखिनुपर्छ? 

कविता सुन्नु, लेख्नु र वाचन गर्नु रसास्वादनका भिन्नाभिन्नै तरिका हुन्। गीताले ज्ञान, भक्ति र कर्म योगमार्फत मानव जीवन सार्थक बन्ने कुराको खुलासा गरेझैं कविता पनि त्यतै मुखरित होओस्। चिन्तनात्मक, मननात्मक, मनोरञ्जनात्मक, उत्प्रेरणात्मकलगायतका भाव निःसृत होऊन्। अनि कुण्ड कुण्ड पानी मुण्ड मुण्ड बुद्धिको सिर्जना बर्सियोस् न कि सर्जकको उच्छवास वा बकबक।

प्रतिक्रिया दिनुहोस्