सत्तारुढ नेकपामा चुलिएको विवाद समाधानका लागि केही दिनयता दोस्रो तहका नेताहरु सक्रिय भएका छन्। पछिल्लो समय दुवै अध्यक्ष र अन्य नेताहरुसँग छलफल गर्ने दोस्रो तहका नेतामा स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझी पनि एक हुन्। रायमाझीसँग नेपाल समयका बीपी अनमोलले गरेको संक्षिप्त कुराकानी :
पार्टीभित्र उत्पन्न संकटको समाधान कसरी हुन्छ?
पार्टीभित्र संघर्ष कहिले बन्द हुन्छ, कहिले अलि तीव्र हुन्छ। तत्कालीन एमाले र माओवादीमा पनि संघर्ष थियो। अहिले प्रतिपक्षी कांग्रेसमा मात्र होइन, साना दलमा पनि विवाद छ।
नेकपा त सरकारको नेतृत्व गर्ने पार्टी हो। एकता गरिसकेपछि ठूलो पार्टी भएको छ। नेताहरुका अलगअलग पृष्ठभूमि, धार, कार्यदिशा र विचार छन्। नेताहरूको टिम पनि ठूलो छ। शीर्ष तहका चार जना त प्रधानमन्त्री र पूर्वप्रधानमन्त्री भएका नेताहरू हुनुहुन्छ। नेताहरूको मात्र होइन, कार्यकर्ता व्यवस्थापनको पनि कुरा छ।
विगतमा हामी जनक्रान्ति, जनयुद्ध, जनआन्दोलनमा एक खालको पुरानो व्यवस्था ढालेर नयाँ व्यवस्था ल्याउने राजनीतिक क्रान्तिमा लाग्यौं। अहिले आएर एजेन्डामा फेरबदल भएको छ।
नयाँ संविधान, नयाँ व्यवस्था, नयाँ विकास र समृद्धिका राष्ट्रिय एजेन्डा छन्। त्यसैले अब हाम्रो शैली, स्वभाव, संस्कार, संस्कृतिमा ठूलो परिवर्तन ल्याउनुपर्छ। अतः पार्टीभित्र ठूलो द्वन्द्व हुने कुरालाई म स्वाभाविक ठान्दछु। विवादको समाधान हामीले नै गर्नुपर्छ।
अन्तरविरोधको हल गर्दै जानुपर्छ। यसर्थमा मैले स्वाभाविक ठानेको हुँ। हाम्रा सामु द्वन्द्वलाई फेरि विभाजनतिर लैजाने कि हामी रुपान्तरण भएर नयाँ आधारमा नयाँ एकता गर्ने भन्ने गम्भीर प्रश्न छ। हामीले यसको जवाफ दिनुपर्छ।
मानिस के ठान्छन् भने अहिले सबैभन्दा ठूलो चर्चा नेकपाकै छ। द्वन्द्व सबै पार्टीमा छ। ठूलो र सरकारको नेतृत्व गरेको पार्टी भएकाले पनि चर्चा बढी भएको हो।
द्वन्द्व स्वाभाविक भए पनि विभाजनसम्मकै तहसम्म पुगेको अवस्थालाई चाहिँ के भन्नुहुन्छ?
विभिन्न प्रकारका विवाद, फुट, एकता, आन्दोलन, त्यसपछि लडाइँ, बलिदानलगायत सबैको कीर्तिमान खडा गरेर आएका नेताहरू छन्। कार्यकर्ता, शुभचिन्तक, समर्थक र नेपाली जनता पनि छन्। यी सबैका कारणले तलसम्म विभाजन भएर ठ्याक्कै अब कित्ताबन्दी भइहाल्छ जस्तो मलाई लाग्दैन।
यो त प्रशिक्षण जस्तो पनि भयो नि। के गलत हो के सही हो भन्ने कुरा नेताले मात्रै होइन, कार्यकर्ता, शुभचिन्तकले पनि छुट्याउन सक्ने स्थिति आइसक्यो।
विवेकको आधारमा चल्ने, कुनै हुलहुज्जतमा चल्ने, एकातिर गइहाल्ने भन्ने होइन। नेकपा विवेकसंगत व्यक्तिहरूको जमात हो, कुनै भेडाहरूको झुन्ड त होइन नि! तलसम्म बहस जाँदा सबैको चासो र चिन्ता बढेको छ। हामी पार्टी एकतालाई केन्द्रबिन्दुमा राखेर बहस गरेर, सही गलत छुट्याएर विधिसंगत हिसाबले समस्या समाधान गर्छौं।
तपाईंहरूसँगको छलफलमा दुवै अध्यक्ष एकताकै पक्षमा छौं भन्नुहुन्छ। तर, उहाँहरु संवेदनशील देखिनुभएको छैन नि?
हामीले प्रमुख नेताहरूलाई भेट्दा उहाँहरूको पनि चिन्ता अब पार्टी फुट्ने हो कि भन्नेमा छ। अब फुट्नु हुँदैन। फुटतिर गयो भने यो गलत हुन्छ। कम्युनिस्ट आन्दोलनलाई ठूलो घाटा हुन्छ। नेपालको राजनीतिक आन्दोलनमा पनि क्षति पुग्छ।
नेपाली जनता र राष्ट्रले फेरि धेरै ठूलो समस्या बेहोर्नुपर्दछ। देशमा ठूलो समस्या आउँछ। अहिलेसम्म प्राप्त उपलब्धि गुम्ने सम्भावना हुन्छ भन्नेमा उहाँहरू गम्भीर हुनुहुन्छ।
त्यसैले त्यो चिन्ताका साथ बहस गरिसकेपछि एकताको नजिक पुग्ने कुरामा मद्दत गर्छ नै। एकता भत्किन दिनु हुँदैन भन्ने चिन्ता सकारात्मक छ।
संघर्ष भएको लामो समय भयो। उही विषयमा लगातार संघर्ष भइरहँदा त्यति मिठो भएको छैन। त्यसैले लामो संघर्षले निकास पाउँछ।
फेरि अर्को संघर्ष जन्मिन्छ। त्यसलाई पनि निकास दिँदै जाने हो। राजनीतिक पार्टीहरूमा त पटकपटक समस्या र अन्तरविरोध आइरहन्छन्। त्यसलाई हल गर्दै जाने हो। यो पार्टी आन्दोलन भनेकै अन्तरविरोधको हल हो।
अलि लामो समयसम्म यो निकास नभएको, एउटा दिशा नलिएका कारणले अलिकता त्यस्तो महसुस भएको हो। हामी यो हुन नदिनका लागि तीव्र रुपमा लागिरहेका छौं। त्यसमा हामी सफलता प्राप्त गर्छौं। त्यसैले त्यति चिन्ता गर्नु पर्दैन।
सचिवालय बैठकमा अध्यक्ष दाहालले पेस गरेको दस्तावेजले विवाद झन् बढेको भन्ने आरोप कति सत्य छ?
होइन, दस्तावेज आइसकेपछि विभिन्न थरीका मत देखिएका छन्। समस्या उत्पन्न भए। प्रस्ताव आइहाल्यो। नआइकनै भित्रभित्रै छलफल भएको भए पनि हुन्थ्यो। आइसकेपछि फेरि त्यसलाई इन्कार गर्न त सकिँदैन। जनतामा गइसकेको छ। अब झन् जनस्तरबाट नै त्यो अनुमोदित हुने भयो। यसलाई सकारात्मक नै लिन सक्नुपर्छ।
प्रस्तावले झन् तिक्तता बढायो, यसलाई फिर्ता लिनुपर्छ भन्ने भनाइलाई हामीले आ–आफ्ना स्वतन्त्रताका कुराका रुपमा बुझेका छौं।
प्रधानमन्त्री केपी शर्मा ओलीले पनि प्रस्ताव ल्याउँदै हुनुहुन्छ। अब सबैले अध्ययन गर्ने मौका पाए नि त। कार्यकर्ताले यी प्रस्तावलाई सत्य र असत्यको कसीमा राखेर हेर्छन्। त्यसले चाहिने निकास दिनका लागि मद्दत गर्छ भनेर नै बुझ्न राम्रो होला।
विवादको मिलनबिन्दु के त?
दुई अध्यक्षबीचको छलफल, बहस, सहमतिका कुरा पनि छन्। बहस जनस्तरसम्म गइसकेपछि सायद दुई अध्यक्षको मात्रै छलफल र सहमतिले निकास नहुन पनि सक्छ।
सचिवालय, केन्द्रीय समिति अन्य पार्टीका निकायहरूले पनि योगदान गर्नुपर्ने हुन्छ। यसमा सबैको चासो, चिन्ता र सुझाव अपरिहार्य छ।
समाधान भइसकेको विवाद बल्झनुमा कसको जिम्मेवारी देख्नुहुन्छ?
को जिम्मेवार भन्ने भन्नु भन्दा पनि हामी छलफलमा छौं। भदौ २६ गते भएको निर्णय ज–जसका कारण कार्यान्वयन भएको छैन त्यो गलत हो। हामीले त्यसको प्रभावकारी कार्यान्वयन माग गरेका छौं।
अहिले म कसको कारणले बेठिक भयो अथवा कसका कारणले बिग्रियो भन्ने कुरातिर जान्न। हामी त्यसलाई छलफल गरेर निष्कर्ष निकाल्छौं।
कसरी निस्कन्छ त निष्कर्ष?
छलफल जारी छ। हामी निष्कर्षमा पुगेपछि मात्रै थाहा हुन्छ। अहिले नै ठ्याक्कै फरमुला प्रयोग गरेर यसरी हुन्छ भन्न सकिन्न।
कहाँनिर गएर सहमति आउँछ। निकास आउँछ भन्ने कुरा छलफल गर्दै जाने क्रममा हुने हो। छिटोभन्दा छिटो निकास निकाल्न हामी प्रयासरत छौं।