कैलाली– भारतसँग सीमा जोडिएको कैलालीको सीमावर्ती क्षेत्रमा प्रत्येक पाँच किलोमिटरको दूरीमा सशस्त्र प्रहरी बलको बिओपी (सीमा सुरक्षा पोष्ट) स्थापना गर्न लागिएको छ।
सीमा क्षेत्रमा हुनसक्ने आपराधिक र अवाञ्छित गतिविधि नियन्त्रण तथा सीमा सुरक्षालाई प्रभावकारी बनाउन सीमावर्ती क्षेत्रका थप सात ठाउँमा बिओपी स्थापनाको पहल भएको हो।
सशस्त्र प्रहरी बल नेपाल नं ३४ गण कैलालीका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपेन्द्र कुँवरले भारतसँग जोडिएको धनगढीको पुण्टेघाट र ललितपुर, कैलारी गाउँपालिकाको लठ्ठा घाट, भजनी नगरपालिकाको हलौना घाट, कालापातल, पगियापसर र टीकापुर क्षेत्रको कालाकुण्डमा थप बिओपी स्थापना गर्न लागिएको बताए।
कैलालीको सीमा क्षेत्रमा हालसम्म १० देखि १२ किमीको दूरीमा सशस्त्र प्रहरी बलको एउटा बिओपी छ। कैलाली जिल्लाको १०१ किलोमिटर लामो सीमा भारतसँग जोडिएको छ। सीमापारि भारतीय भूमिमा प्रत्येक पाँच किलोमिटरको दूरीमा त्यहाँको सीमा सुरक्षा बल (एसएसबी) को पोष्ट सञ्चालनमा छ।
वरिष्ठ प्रहरी उपरीक्षक कुँवरले भने, ‘प्रत्येक पाँच किलोमिटरको दूरीमा बिओपी स्थापना गर्नसकेमा सीमाको सुरक्षाका साथै चोरी, तस्करीजस्ता अवैध गतिविधि रोक्न थप प्रभावकारी हुनेछ।’
नेपाल सरकारले भारत र चीनसँग सीमा जोडिएको नेपालको सीमावर्ती क्षेत्रमा पाँच सयवटा सीमा सुरक्षा पोष्ट स्थापना गर्ने लक्ष्य राखेको जनाइएको छ।
पछिल्ला महिनामा कैलाली जिल्लाको सीमा क्षेत्रमा हुने गरेको अवैध चोरी तस्करी नियन्त्रणको काममा विगतका वर्षको तुलनामा सफलता मिलेको जिकिर प्रहरी उपरीक्षक कुँवरले गरे।