बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • राजनीति
  • गाँठोभित्र कांग्रेस सभापतिका यी आकांक्षीः न मिलेका छन्, न त मिलाइएका

गाँठोभित्र कांग्रेस सभापतिका यी आकांक्षीः न मिलेका छन्, न त मिलाइएका

संस्थापन इतरका एक नेताका अनुसार आकांक्षीहरूका आ–आफ्नै दाबी दोहोर्‍याइरहँदा सभापतिमा साझा उम्मेदवार तय हुने सम्भावना धेरै कम छ।
 |  मंगलबार, असोज १२, २०७८

तीर्थराज बस्नेत

तीर्थराज बस्नेत

मंगलबार, असोज १२, २०७८

काठमाडौं- नेपाली कांग्रेसको संस्थापन इतर (वरिष्ठ नेता रामचन्द्र पौडेल) समूहले कार्यकर्तामा एकताको सन्देश दिन भन्दै भदौ १७ गते पत्रकार सम्मेलन गर्‍यो। पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा वरिष्ठ नेता पौडेलले सभापतिका आकांक्षीहरूलाई दायाँबायाँ राखेर भनेका थिए, 'सभापतिको साझा उम्मेदवार चयन गर्छौं।'

triton college

वडा अधिवेशन सुरु हुनुभन्दा एक दिन मात्र अघि पत्रकार सम्मेलन गरेर पौडेल समूहले कार्यकर्तालाई एकताको सन्देश दिने प्रयास गरेको थियो। कतिपय विश्लेषकहरूले पौडेल पक्षले आयोजना गरेको उक्त पत्रकार सम्मेलन रणनीतिक भएको बताउँछन्। संस्थापन इतर समूहमा एकताको सन्देश प्रवाह गर्दा कार्यकर्तामा उत्साह थपिने र महाधिवेशनमा आफ्नो समूह बलियो प्रस्तुत हुने रणनीति/आकलन भएको उनीहरूको भनाइ छ।  

पौडेल समूहबाट स्वयं पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र नेता शेखर कोइराला सभापतिका अकांक्षी हुन्। पत्रकार सम्मेलनमा पौडेलले आफ्नो समूहबाट साझा उम्मेदवार चयन गर्ने बताइरहँदा सभापतिका आकांक्षीहरू पनि सँगै थिए। पत्रकार सम्मेलनमा सबै आकांक्षीले पौडेलको भनाइसँग बाझिने गरी कुनै वक्तव्य नदिएपनि यो मौनता धेरै दिन टिकेन। 

दाबेदारी यथावत

तल्लो तहका नेता-कार्यकर्तालाई संस्थापन इतर समूह एकताबद्ध भएको 'देखावटी' सन्देश दिएको केही दिनमै सभापतिका आकांक्षीहरूले आ–आफ्नो दाबी पेस गर्न थालिहाले। जुन, अहिलेसम्म पनि जारी नै छ। जिल्ला–जिल्लामा वडा र पालिका तहको अधिवेशन चलिरहँदासम्म दाबेदारहरूलाई मत्थर पार्न पौडेल समूहमा घनीभूत छलफल भएको पनि छैन। औपचारिक रुपमा छलफलमा नजुटेका नेताहरूले एकले अर्कोलाई छोड्न नसकिने आशयसहितका अभिव्यक्ति दिइरहेका छन्।  

corrent noodles
Metro Mart

वडा अधिवेशन सुरु हुनुअघि पौडेल समूहले आयोजना गरेको पत्रकार सम्मेलनमा सभापतिमा साझा उम्मेदवार तय गरिने बताइएको थियो। तर आकांक्षीहरूले आ-आफ्नो दाबी दोहोर्‍याइरहेका छन्। फाइल तस्बिर

सानेपामा पत्रकार सम्मेलन गरेर साझा उम्मेदवार तोक्ने वाचा गरेको एक साता नबित्दै (भदौ २३ गते) शेखर कोइरालाले एक टेलिभिजनमा अन्तर्वार्ता दिँदै सभापतिको उम्मेदवारीबाट किमार्थ पछि नहट्ने बताए।

तल्लो तहका नेता-कार्यकर्तालाई संस्थापन इतर समूह एकताबद्ध भएको 'देखावटी' सन्देश दिएको केही दिनमै सभापतिका आकांक्षीहरूले आ–आफ्नो दाबी पेस गर्न थालिहाले। जुन, अहिलेसम्म पनि जारी नै छ।

‘मैले १३औं महाधिवेशन लगत्तै सभापतिका लागि तयारी अघि बढाएको हुँ। त्यसैले यति मान्नुहोस्, म उपभापति र महामन्त्रीको उम्मेदवार होइन,’ उनले भनेका थिए, ‘सभापतिका अन्य आकांक्षीहरूले पनि बुझ्नुहोला। कसले जित्छ? महाधिवेशन प्रतिनिधि कोसँग छन्? मेचीदेखि महाकालीसम्मका कार्यकर्ता मेरो साथमा छन्।’ 

शेखरले आफू पछि नहट्ने बताएको चार दिनपछि महामन्त्री कोइराला गृहजिल्ला नवलपुर पुगे। देवचुली नगर कार्यसमितिले आयोजना गरेको बीपी स्मृति भवन उद्घाटन कार्यक्रममा कोइरालाले पूर्वसभापति गिरिजाप्रसाद कोइरालाकै शैली पच्छाउँदै सभापतिमा लडिछाड्ने घोषणा गरे। 

‘नवलपुर मेरो गृहजिल्ला हो, जसरी गिरिजाप्रसाद कोइरालाले गृहजिल्ला मोरङबाट महत्वपूर्ण घोषणा गर्नु हुन्थ्यो, म पनि मेरो गृहजिल्लाबाट सभापतिमा लड्ने निर्णयबाट पछि नहटेको सार्वजनिक गर्दछु,’ उनले भनेका थिए।  

यो शृंखला कोइरालाद्वयमा मात्र सीमित भएन। पूर्वमहामन्त्री प्रकाशमान सिंहसमेत थपिइहाले। असोज ९ गते काठमाडौं महानगरपालिका–१७ ले आयोजना गरेको कार्यक्रममा सिंहले पार्टीमा ‘नम्बर वान म्यान’ भएर काम गर्ने निष्कर्ष निकालेको बताए। ‘मैले उपसभापति, महामन्त्री भएर पार्टीमा काम गरिसकेकेको छु। अब सभापतिमा उम्मेदवारी दिन्छु। आफू नेतृत्वमा आएपछि पार्टीलाई विधिसम्मत ढंगले अघि बढाउने छु,’ उनले भनेका थिए। 

कति सम्भव?

संस्थापन इतरका एक नेताका अनुसार आकांक्षीहरूका आ–आफ्नै दाबी दोहोर्‍याइरहँदा सभापतिमा साझा उम्मेदवार तय हुने सम्भावना धेरै कम छ। ‘एकले अर्कालाई नछाड्ने मनोस्थिति उहाँहरू (आकांक्षी)मा देखिन्छ। उहाँहरूले सार्वजनिक रुपमा पनि भनिरहनुभएकै छ,’ ती नेता भन्छन्, ‘यस्तै स्थिति रहे त कसरी साझा उम्मेदवार चयन होला र? यद्यपि प्रयास चाहिँ जारी नै छ र रहनुपर्छ।’ 

सभापति शेरबहादुर देउवाको विकल्प खोज्ने कुरामा संस्थापन इतर समूह एकमत छ। तर, देउवाको विकल्प को? नेताहरूका आ–आफ्नै दाबी छन्। 

सभापति शेरबहादुर देउवाको विकल्प खोज्ने कुरामा संस्थापन इतर समूह एकमत छ। तर, देउवाको विकल्प को? नेताहरूका आ–आफ्नै दाबी छन्। देउवालाई पराजित गर्ने हो भने संस्थापन इतर समूहमा एक हुनुको विकल्प नरहेको अर्का एक नेताको तर्क छ। 


कांग्रेस सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल। यसपालीको अधिवेशनमा देउवालाई हराउनु पर्नेमा पौडेल पक्ष भनाइमा एकमत छ। तर व्यवहारमा एकरूपता छैन। फाइल तस्बिर

‘शेरबहादुर दाइको विकल्प खोज्ने पनि भन्ने अनि आ-आफ्नै अडानमा पनि रहिरहने भन्ने हुँदैन। यदि विकल्प दिने हो भने आकांक्षीहरू एक हुनुपर्छ,’ उनी भन्छन्, ‘जिल्ला अधिवेशन नहुँदासम्म उहाँहरूले दाबी गरिरहनुहुन्छ। रिङआउट भएको छैन है भनेर देखाउनुपर्ने पनि होला। जिल्ला अधिवेशनपछि घनीभूत छलफल हुन्छ र सहमति जुट्छ।’ पत्रकार सम्मेलन गरेरै साझा उम्मेदवारी चयन गर्ने प्रतिबद्धता व्यक्त गरेकाले त्यसबाट भाग्ने ठाँउ कसैलाई नभएको उनको जिकिर छ।  

नेतात्रयको जमघट...

संस्थापन इतर समूहबाट सभापतिका आकांक्षी रहेका महामन्त्री कोइराला र पूर्वमहामन्त्री सिंह संस्थापन समूह छोडेर सभापतिमा लड्ने घोषणा गरेका उपसभापति विमलेन्द्र निधिसँग समेत छलफलमा छन्। गत असार यता नेतात्रयबीच पटक–पटक 'लन्च मिटिङ' हुँदै आएको छ। पछिल्लो पटक असोज ८ गते सिंह निवास चाक्सीबारीमा उनीहरूबीच छलफल भएको थियो। 

उनीहरूले महाधिवेशनसम्म सँगै अघि बढ्ने र अन्य नेताहरूसँग पनि छलफल गर्ने निष्कर्ष निकालिरहन्छन्। वरिष्ठ नेता पौडेल समूहबाट सभापतिमा दाबी गरिरहेका कोइराला र सिंहले सभापतिका अर्का उम्मेदवार निधिसँग निरन्तर छलफल गर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ। 

पौडेल निकट मानिने ती नेता भन्छन्, ‘उहाँहरूको रोडम्याप के हो? महाधिवेशनसम्मै मिलेर जाने भन्नुको अर्थ के हो? यसको जवाफ उहाँहरूले नै दिनुहोला।’ 

निधिले केही समय अघि नेपाल समयसँगको कुराकानीमा भनेका थिए, ‘हामीबीच समझदारीमा अघि बढ्ने कुरा भएको छ। त्यसमा पदका कुराहरू पनि छन्। नीतिगत विषय पनि छन्। हाम्रो छलफल सकारात्मक दिशातर्फ उन्मुख छ।’

नेतात्रयको भेटघाट। फाइल तस्बिर

असार ५ गते सभापति देउवालाई सभापतिमा लड्ने निर्णय गरेको सुनाएका निधिले सम्पर्क कार्यालय खोलेरै तयारी अघि बढाएका छन्। सभापति लड्नका लागि उनले आन्तरिक रूपमा टिम बनाइरहेका छन्। निधिले सम्पर्क कार्यालय खोलेपछि नेतात्रयबीचको भेटघाट समेत पातलिएको थियो। तर, गत शुक्रबार उनीहरूबीच भेटवार्ता भएको छ। ‘विमल दाइ टिम बनाउने प्रयासमा हुनुहुन्छ। त्यही बेला शशांक र प्रकाश दाइसँग भेट्नु भएको छ। यसको पनि केही अर्थ त होला नी,’ निधि निकट स्रोत भन्छ। 

पौडेल समूहका नेताहरू भने नेतात्रयको लन्च मिटिङलाई सामान्य रुपमा लिनुपर्ने बताउँछन्। ‘पार्टीका नेताहरूबीचको भेटवार्तालाई अन्यथा लिन हुँदैन। यद्यपि शशांक र प्रकाश दाइ हाम्रो समूहबाट पनि आकांक्षी हुनुहुन्छ। उम्मेदवारी घोषणा नै गरिसक्नुभएका विमल दाइसँग उहाँहरूले छलफल गर्दा असमन्जसको स्थिति भने पैदा भएको छ,’ पौडेल निकट मानिने ती नेता भन्छन्, ‘उहाँहरूको रोडम्याप के हो? महाधिवेशनसम्मै मिलेर जाने भन्नुको अर्थ के हो? यसको जवाफ उहाँहरूले नै दिनुहोला।’ 

आकांक्षीहरू मिल्न युवा नेताको दबाब, नमिले आफैँ उम्मेदवार तोक्ने रणनीति

संस्थापन इतर समूहका नेताहरू सभापतिका चार जना आकांक्षीबीच सहमति गराउने प्रयासमा छन्। सभापतिका आकांक्षीहरूलाई आपसमा बसेर छलफल गरी एक जना अघि सर्न उनीहरूले पटक–पटक आग्रह गर्दै आएका छन्। आकांक्षीहरू नमिले युवा नेताहरूले हस्तक्षेप गर्ने योजना समेत बताएका छन्। त्यो भनेको– आकांक्षी नमिले आफैं सभापतिको उम्मेदवार तोक्ने। 

‘नेताहरूले समझदारी गरेर उम्मेदवार तय गर्न सक्नुभएन भने हामीबीच छलफल गरेर 'यस पटक फलानालाई अघि सारेर जाँदा सफलता प्राप्त हुन्छ र यसका आधार यी हुन्' भनेर जानुपर्ने अवस्थामा हामी पुग्छौं,’ उनले भने, ‘नेताहरूले समझदारी गर्न सक्नुभएन भने हामीले गराइदिने हो। त्यो समझदारी गराउने आँट र क्षमता हामीले राख्छौं। तपाईंहरूले एउटा टिम बनाउनुस्, नत्र हामी समूहगत निर्णय गरेर अघि बढ्छौं। जोसँग हामी उभिन्छौं, त्यही सभापतिको उम्मेदवार भयो।’ 

गगन थापा
अर्का नेता गुरुराज घिमिरे जिल्ला अधिवेशन सकिएपछि आकांक्षीहरूबीच सहमति जुट्ने विश्वास व्यक्त गर्छन्। यदि आकांक्षीहरू मिल्न नसके सभापतिको उम्मेदवार आफूहरूले तोक्ने गगनसँग मिल्दो उनको भनाइ छ। १३औं महाधिवेशनपछि १२–१४ जना युवा नेताहरूले विचार समूह बनाएर काम गरिरहेको र सोही विचार समूह आकांक्षीहरूबीच सहमति हुन नसके हस्तक्षेप गर्ने अवस्थामा पुग्ने उनको भनाइ छ। 

‘हाम्रो समूहका चार जनाबीच उम्मेदवारीका सन्दर्भमा प्रशस्त छलफल भएको छ। प्रदेश अधिवेशन सकिएलगत्तै यसलाई टुंगो लगाउनुहुन्छ भन्ने विश्वास छ। टुंगो नलागे हामी उम्मेदवार तोक्छौं,’ उनी भन्छन्, ‘पार्टीभित्र काम गर्दै आएका र १३औं महाविधेशनपछि एउटा विचार समूह बनाएर काम गरिरहेका हामी १२/१४ जना युवा नेताहरूले उम्मेदवार तोक्छौं। यो कुरा हामीले आकांक्षीहरूलाई पनि भनेका छौं।’

प्रकाशित: Sep 28, 2021| 09:25 मंगलबार, असोज १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...