बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • पार्टी र सरकार कमजोर हुनुमा ओलीको गुटवादी चरित्र जिम्मेवार : दाहाल (राजनीतिक प्रस्तावसहित)

पार्टी र सरकार कमजोर हुनुमा ओलीको गुटवादी चरित्र जिम्मेवार : दाहाल (राजनीतिक प्रस्तावसहित)

नेकपा अध्यक्ष पुष्पकमल दाहालले पार्टीमा विवाद आउनुमा र सरकारको काम चुस्त नहुनुमा दुवैको मुख्य नेतृत्वमा रहेका प्रधानमन्त्री केपी ओलीका व्यक्तिवादी, गुटवादी र एकाधिकारवादी सोच र कार्यशैली प्रमुख रुपमा जिम्मेवार रहेको टिप्पणी गरेका छन्।
 |  शुक्रबार, कात्तिक २८, २०७७

बीपी अनमोल

बीपी अनमोल

शुक्रबार, कात्तिक २८, २०७७

काठमाडौं- नेकपा अध्यक्ष पुष्पकमल दाहालले पार्टीमा विवाद आउनुमा र सरकारको काम चुस्त नहुनुमा दुवैको मुख्य नेतृत्वमा रहेका प्रधानमन्त्री केपी ओलीका व्यक्तिवादी, गुटवादी र एकाधिकारवादी सोच र कार्यशैली प्रमुख रुपमा जिम्मेवार रहेको टिप्पणी गरेका छन्।

triton college

उनले पार्टी एकता, संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा एवम् देश निर्माणमा आवश्यक योगदान दिन ओलीलाई आग्रह गरेका छन्। 

दाहालले शुक्रबार बसेको सत्तारुढ नेकपाको सचिवालय बैठकमा १९ पृष्ठ लामो प्रतिवेदनमा पेस गर्दै सबैतिरबाट असक्षम हुँदै गएकाले आत्मसमीक्षा, आत्मालोचना र त्यागको भावना देखाउन पनि ओलीलाई आग्रह गरेका हुन्। 

दाहालको प्रस्तावमा पार्टी एकीकरणदेखि अहिलेसम्म ओलीबाट भएका विभिन्न कार्यशैलीको आलोचना गरिएको छ।

पछिल्लोपटक स्थायी समितिले तयार पारेको प्रस्ताव उल्लंघन गरेको, अन्तरपार्टी निर्देशनप्रति विमति जनाएको, प्रेस काउन्सिल, समाज कल्याण, राजस्व बोर्ड आदिमा आफूलगायतका नेताहरुका विरुद्ध तल्लोस्तरमा उत्रेर गाली–गलौज गर्ने पात्रहरुलाई छानीछानी नियुक्ति गरेको आरोप दाहालको छ। 

corrent noodles
Metro Mart

दाहालले भनेका छन्, 'मन्त्रिमण्डलको पुनर्गठन गर्दा सहमतिबाट गर्ने स्थायी कमिटीको निर्णयको मर्म र भावनाविपरीत एकलौटी गर्ने र अन्य पक्षभित्र षडयन्त्रमूलक चलखेल गर्ने प्रयास गर्नुभयो।' 

दाहालको गुनासाे- मैले जति त्याग गरें, ओलीबाट त्यति नै अपमानित भइरहें

दाहाललाई ओलीको प्रश्न– सहज नेतृत्व चयनको बाटो छाडेर हरबखत चलखेल किन?

राजदूतलगायत अन्य राजनैतिक नियुक्तिबारे सचिवालयमा छलफल गरेर मात्र अन्तिम निर्णय लिनुपर्छ भन्ने आफ्नो प्रस्तावमा सहमति जनाएर पनि व्यवहारमा एकलौटी ढंगले नियुक्ति गर्ने काम जारी राखेको असन्तुष्टि दाहालले पोखेका छन्।

दाहालको प्रस्तावमा कोभिड–१९ बढ्दा संक्रमण र त्यस सम्बन्धी गलत सरकारी नीतिका कारण जनताले पाइरहेको पीडा तथा गरिब र श्रमजीवी जनसमुदायलाई राहत दिनेबारे छलफल गर्न सचिवालयको बैठकको माग गर्दा समेत बेवास्ता गरिएको गुनासो गरेका छन्। 

उनले भनेका छन्, 'नेपालको इतिहासमै पहिलो पकट कुटनैतिक मूल्य मान्यता र प्रधानमन्त्रीको प्रोटोकलविपरीत भारतीय जासुसी संस्था ‘रअ’ का प्रमुखसँग समकक्षीका रुपमा वार्ता र प्रेस नोट जारी गरेर नेपाल र नेपाली जनताको राष्ट्रिय स्वाभीमान माथि गम्भीर आघात पुर्याउने कार्य गरियो।'

यससम्बन्धी ओलीको अपारदर्शी अमर्यादित व्यवहारले उनको राष्ट्रवाद नक्कली भएको सन्देश जनतामा गएको दाहालले बताएका छन्। उनले भनेका छन्, 'यसले पार्टी र सरकारलाई ठूलो क्षति पुर्याएको छ।'

दाहालले ओलीले एमसीसीका सम्बन्धमा पार्टीलाई पूर्णरुपमा गुमराहमा राखेको आरोप लगाएका छन्। उनले पहिलेको सम्झौताभन्दा राष्ट्रिय हित र स्वाधीनतामा आँच पुग्नेगरी  पार्टीबाट गोप्य राखेर कार्यान्वयन सम्झौता गरेको आरोप लगाएका हुन्।

उनले भनेका छन्, 'संसदमा अनुमोदनका लागि विचाराधीन सम्झौताबारे निर्णय नहुँदै सम्झौताका प्रावधानमा संशोधनका लागि अर्थमन्त्रीद्वारा एमसीसीसँग गोप्यरुपमा पत्राचार गरियो। यसबाट संसदकै विशेषाधिकारको हनन गरियो।'

एमसीसीसँगको सम्झौताबारे केन्द्रीय कमिटीको दोस्रो बैठकबाट गठित कार्यदलको प्रतिवेदनमा छलफल गर्ने चासो नदेखाइएको, पार्टीको कुनै निकायमा जानकारी नगरी बजेट वक्तव्यमा र १५औं पञ्चवर्षीय योजनामा एमसीसी अन्तरगतको आयोजनालाई समावेश गरिएको भन्दै दाहालले ओलीको आलोचना गरेका छन्।

दाहालले नयाँ आधारमा नयाँ एकता कायम गर्दै देश, जनता, पार्टी र आन्दोलनलाई नयाँ उचाइतिर लैजानुपर्ने आवश्यकता औंल्याएका छन्। 

उनले भनेका छन्,  'एकता संघर्ष रुपान्तरण र नयाँ आधारमा नयाँ एकताका लागि ओलीले थोरै मात्र आत्मसमीक्षा, आत्मालोचना र त्यागको स्पिरिट देखाउनुभयो भने त्यो ठूलो कुरा हुनेछ।'

दाहालले पार्टीमा विवाद आउनुमा र सरकारको काम चुस्त नहुनुमा दुवैको मुख्य नेतृत्वमा रहेका ओलीका व्यक्तिवादी, गुटवादी र एकाधिकारवादी सोच र कार्यशैली प्रमुख रुपमा जिम्मेवार रहेको उल्लेख गरेका छन्।

‘अहिलेको स्थितिले संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र एवम् नेपाल कम्युनिस्ट पार्टीका अगाडि निकै गम्भीर समस्या खडा गरेका छन्। यी गम्भीर र जटिल समस्या सामना अब स–साना प्राविधिक जोडघटाउ वा पदीय भागवण्डाबाट गर्न असम्भव छ,’ उनले भनेका छन्।

यसका निमित्त  वैचारिक–राजनैतिक कार्यदिशा, संगठनात्मक विधि–पद्धति र कम्युनिस्ट आचरणबारे गम्भीर समीक्षासहित समुचित निकास खोज्नु अनिवार्य रहेको दाहालको प्रस्ताव छ। 

‘सरकारको नेतृत्वले पार्टीको राजनीतिक कार्यक्रम तथा घोषणापत्रलाई अवज्ञा गर्ने, पार्टीको मार्ग निर्देशनमा सरकार सञ्चालन गर्ने मान्यतालाई अस्वीकार गर्ने र सुशासन एवम् जनमुखी काम आचरणहरुको उपेक्षा गर्दै अघि बढ्ने हो भने ऐतिहासिक अवसर हेर्दाहेर्दै गुम्न सक्ने खतरा र चुनौती हाम्रा अगाडि देखा पर्दै जान थालेको छ। यस्तो स्थिति क्षम्य हुन सक्ने छैन’, दाहालको प्रस्तावमा भनिएको छ।

दाहालको प्रतिवेदनमा पार्टी एकताका वैचारिक–राजनीतिक आधार र भावनामाथि प्रहार, संगठनात्मक, सिद्धान्त र विधि–पद्धतिमाथि प्रहार, सरकार सञ्चालनमा अनुत्तरदायी व्यवहार, स्थायी समितिको पछिल्लो बैठकका निर्णयहरुमाथि प्रहार र निष्कर्ष गरी पाँच भाग छन्। 

लामो विवादपछि सत्तारुढ नेकपा सचिवालयको बैठक शुक्रबार बसेको हो। 

सचिवालयका पाँचजना सदस्यहरुको लिखित पत्रपछि प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओली बैठक राख्न सहमत भएका हुन्।

३ मंसिरमा बस्ने सचिवालयको बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसहित ५ जना सचिवालय सदस्यले बैठकका लागि अध्यक्ष केपी शर्मा ओलीलाई लेखेको पत्र, जवाफमा ओलीले दाहाललाई पठाएको पत्र, त्यसमा दाहालले दिएको प्रत्युत्तर र समस्या समाधानका लागि दाहालले तयार गरेको प्रस्ताव अध्ययनपछि छलफल हुनेछ।
 

यस्तो छ दाहालको प्रस्ताव

प्रकाशित: Nov 13, 2020| 16:35 शुक्रबार, कात्तिक २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।