विराटनगर– प्रदेश १ प्रहरीले आपराधिक गतिविधिमा संलग्न हुन सक्ने शंकास्पद व्यक्तिहरुमाथि निगरानी बढाएको छ। तिहार सुरु भएसँगै प्रदेशको सुरक्षा व्यवस्था कडा पारिएको हो।
प्रदेशका १४ वटै जिल्लाको सुरक्षा अवस्था मजबुत बनाएर लगिएको प्रदेश प्रहरी प्रमुख डीआईजी ईश्वरबाबु कार्कीले बताए। उनले चाडपर्व भरी सुरक्षामा कुनै पनि कमजोरी आउन नदिइने स्पष्ट पारे।
डीआईजी कार्कीले कोरोना संक्रमण तीव्र रुपमा फैलिइरहेका बेला सबैले सुरक्षित ढंगले र संक्रमण हुन नदिने हिसाबले स्वास्थ्य सम्बन्धी मापदण्डको पालना गर्दै तिहार मनाउनुुपर्नेमा जोड दिए।
उनले गलत कार्य गर्न खोज्ने शंकास्पद व्यक्तिहरुका बारेमा तत्काल प्रहरीलाई जानकारी दिन प्रदेशका बासिन्दालाई आग्रह गरेका छन्।
तिहारलगायतका पर्व सौहार्दपूर्ण वातावरणमा सुरक्षित ढंगले मनाउने चाहना सबैको हुने भन्दै उनले मर्यादित र सुुरक्षित बनाउनु सबैको दायित्व रहेको उल्लेख गरे। चाडपर्वको मौका छोपेर आपराधिक घटना गराउने र अवैध गतिविधी गर्नेहरु सक्रिय हुनसक्नेतर्फ प्रहरी सचेत रहेको उनले बताए।
कार्कीका अनुसार यस्तो बेलामा शंकास्पद गतिविधी गर्नेहरु भेटिएमा तत्काल प्रहरीलाई खबर गर्नुपर्छ। प्रहरीले शंकास्पद गतिविधीका बारेमा समयमै सूचना पाउन नसक्दा जघन्य प्रकृतिका अपराधिक घटना हुनसक्ने कार्कीको भनाइ छ ।
मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले कुुनै पनि आपराधिक गतिविधि हुन नदिने हिसाबमा सुरक्षा व्यवस्था मिलाइएको बताए।
उनले कुनै पनि शंकास्पद गतिविधि कोहीकसैले गरेको पाइएमा तत्काल प्रहरीलाई जानकारी दिन पनि आग्रह गरेका छन्।
किनमेल बढी हुने पसल, भीडभाड हुने स्थान, आर्थिक गतिविधि धेरै हुने ठाउँदेखि लिएर महत्त्वपूर्ण प्रतिष्ठानहरु तथा सार्वजनिक स्थलमा प्रहरी उपस्थिति बढाइएको छ।
सार्वजनिक स्थल र पसलहरुमा २४ घण्टानै प्रहरीले सुरक्षा व्यवस्था चुस्त पारेको छ। होटल, मदिरा पसल एवं सार्वजनिक सवारीसाधन निगरानीलाई प्रहरीले तीव्र पारेको छ।
एसपी खड्काका अनुसार कोरोना संक्रमण तीव्र रुपमा बढिरहेकाले तिहारमा झन् जोखिम हुन सक्नेभन्दै मास्क, सेनिटाइजर प्रयोग गर्न र भीडभाड नगर्न एवं संक्रमण नफैलने गरी सुरक्षित हिसाबमा चाडपर्व मनाउन सबैमा आग्रह गर्दै माइकिङ गर्दै सन्देशमुलक कार्यक्रमहरु भइरहेका छन्।