काठमाडौं– माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले सरकारमा सहभागी हुने नेताहरुको नाम टुंगो लगाएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेसँगै एकीकृत समाजवादीले सरकारमा सामेल हुनेको नाम टुंगो लगाएको हो।
स्रोतका अनुसार विरोध खतिवडाको नेतृत्वमा एकीकृत समाजवादी सरकारमा सहभागी हुने भएको छ। खतिवडाको नेतृत्वमा रामकुमारी झाँक्री, मेटमणि चौधरी, प्रेम आले, किसान श्रेष्ठ र जीवनराम श्रेष्ठ मन्त्री बन्ने पक्का भएको स्रोतको दाबी छ। अध्यक्ष नेपालले सांसदहरूसँगको छलफलपछि मन्त्रीहरुको नाम तय गरेका हुन्। ‘मन्त्रीहरुको नाम छनोट भइसकेको छ, सबैको नाम अध्यक्षसँग छ। सम्भवतः आजै प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाउनु हुनेछ,’ एक नेताले भने।
राजनीतिक दलसम्बन्धी अध्यादेश आज फिर्ता लिने र भोलि मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्री देउवाको तयारी छ। असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले सत्तारुढ दलहरुबीच सहमति हुन नसक्दा मन्त्रिपरिषद् विस्तार गर्न सकेका थिएनन्। सत्ता गठबन्धनमा राजनीतिक दलसम्बन्धी अध्यादेश निष्कृय बनाउने सहमति भएसँगै देउवाले भोलि मन्त्रिपषिद् विस्तार गर्न लागेका हुन्।
एकीकृत समाजवादीले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, संस्कृति पर्यटन तथा नागिरक उड्डयन मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय पाउने भएको छ। समाजवादीले मागेका मन्त्रालय दिन प्रधानमन्त्री देउवा तयार भएका छन्। एकीकृत समाजवादीले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पाएको अवस्थामा उक्त मन्त्रालयको नेतृत्व खतिवडाले गर्ने भएका छन्।
यस्तै एकीकृत समाजवादीले सरला यादवलाई उपसभामुख बनाउने विषयमा पनि छलफल भएको छ। मन्त्रीका लागि सिफारिसमा नपरेका केही सांसदलाई भने संसदीय समितिको सभापति बनाउनेबारेमा पार्टीमा छलफल भएको एक नेताले बताए। पहिलो चरणमा मन्त्री हुन नपाएकाहरुलाई दोस्रो चरणमा मन्त्री बनाउने विषयमा पनि नेकपा एकीकृत समाजवादीमा छलफल भएको छ।
नेकपा एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादी गत भदौ २५ गते नयाँ दलको रुपमा दर्ता भएको थियो।