हुम्ला- मंसिर नलाग्दै तापक्रम माइनस २ डिग्रीभन्दा तल झरेपछि हुम्लाको उत्तरी नाकामा रहेको सीमा प्रहरी चौकी सदरमुकाम सिमकोट फिर्ता भएको छ।
नाम्खा गाउँपालिका वडा नम्बर ६ को सुनखानीमा रहेको प्रहरी चौकी सदरमुकाम फिर्ता भएको हो ।
चिसो अत्यधिक बढेपछि सीमा सुरक्षाका लागी खटिएका प्रहरी सदरमुकाम फिर्ता भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ।
करिब २३ प्रहरीको दरवन्दी भएपनि उक्त चौकीमा हाल सात जना बस्दै आएको र सबै सिमकोट फिर्ता भएको जनाइएको छ।
मंसिर नलाग्दै तापक्रम माइनस दुई डिग्री भन्दा कम भएपछि चिसोका कारण फिर्ता बोलाइएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख डीएसपी सूर्यप्रकाश सुवेदीले नेपाल समयलाई जानकारी दिए ।
उनका अनुसार हिल्सा नाकाको प्रहरी टोली पनि केहि दिनमा फर्किने भएको छ। अत्याधिक चिसोका कारण बस्न नसक्ने अबस्था भएपछि प्रहरी टोली फर्किन लागेको हो ।