विराटनगर– पछिल्लो २४ घण्टामा मोरङमा ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
नोबेल शिक्षण अस्पतालमा ३, विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा २, विराट मेडिकल कलेज र कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा १–१ जनाको मृत्यु भएको हो।
इलाम मंगलबारेका ६५ वर्षीय पुरुषको सोमबार बिहान मृत्यु भएको नोवेल अस्पताल विराटनगरका प्रबन्धक नारायण दाहालले जानकारी दिए। उनका अुनसार मधुमेह र फोक्सो सम्बन्धी समस्या रहेका वृद्ध पुरुषलाई कात्तिक १७ गते उपचारका लागि अस्पताल भर्ना गरिएको थियो।
उनका अनुसार सुनसरी इनरुवाका अर्का ७२ वर्षीय वृद्ध पुरुषको पनि मृत्यु भएको छ। आइतबार राती नोवेलमा सिरहाका ६५ वर्षीय पुरुषको मृत्यु दाहालले बताए।
विराटनगरको विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा सुनसरी इनरुवा–४ का ५७ वर्षीय पुरुषको गएराति मृत्यु भएको छ। अस्पतालका प्रशासन प्रमुख पदम विनाडीका अनुसार कोरोना पुष्टि भएपछि पुरुषलाई उपचारका लागि कात्तिक २२ गते शनिबार अस्पताल भर्ना गरिएको थियो।
झापाको दमक नगरपालिका–१ का ४२ वर्षीय पुरुषको विराट नर्सिङ होममा मृत्यु भएको प्रशासन प्रमुख विनाडीले बताए। उदयपुरको त्रियुगा नगरपालिका–११ की ६५ वर्षीया वृद्धाको मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पतालमा मृत्यु भएको छ।
मोरङको रतुवामाई –८ का ४८ वर्षीय पुरुषको उपचारका क्रममा कोशीमा मृत्यु भएको छ। अस्पतालका व्यवस्थापक ज्ञानबहादुर बस्नेतका अनुसार सोमबार बिहान उनको मृत्यु भएको हो।