संवाद अर्थ

'योजना तयार छन्, अवस्था ठिक भएपछि लगानी गर्छौं'

 सुमितकुमार अग्रवाल, निर्देशक एमएस ग्रुप

1608863987.jpg
तस्बिर : दिनेश श्रेष्ठ

कोरोना महामारीसँगै देशभर उद्योगधन्दा, कलकारखाना ठप्प भए। अधिकांश व्यापार, व्यवसाय, उद्योग प्रभावित बने। पर्यटन उद्योग त अहिलेसम्म ठप्प छ। नेपालको अग्रणि व्यावसायिक घराना एमएस ग्रुपले निर्माण अगाडि बढाउने अन्तिम चरणमा पु-याएका केही योजना कोरोना महामारीसँगै थाती राखिएका छन्। व्यवसायमा कोरोना प्रभाव, सरकारले ल्याएको प्याकेज र लगानीको वातावरणलगायतबारे एमएस ग्रुपका निर्देशक सुमितकुमार अग्रवालसँग नेपाल समयका लागि मस्त केसीले गरेको कुराकानीः 

एमएस ग्रुपको पर्यटन, सेवा, उत्पादनमूलक उद्योग–व्यवसायमा लगानी छ। कोरोनाले सबैभन्दा बढी कुन क्षेत्रलाई प्रभावित   ग-यो? 

प्रभावित त सबै क्षेत्र भएका छन्। मानिसको जीवन–मरणको कुरा भएको यो समयमा उद्योग, व्यापार, व्यवसाय परको कुरा हो। तर सबैभन्दा बढी प्रभावित चाहिँ पर्यटन क्षेत्र हो। अन्य क्षेत्र सुस्त गतिमा भए पनि अगाडि बढ्न थालेका छन्। तर पर्यटन क्षेत्र अझै केही समय ठप्प हुने देखिन्छ। त्यसमा झन् हाम्रो लगानीका होटलहरू विदेशी पर्यटक केन्द्रित भएकोले लामो समय प्रभावित हुने देखिन्छ। हाम्रो लगानीको ‘फियरफिल्ड बाइ मेरियट काठमाडौं’ पूर्ण रुपमा बन्द छ। नक्सालको मेरियट आंशिक रुपमा चलेको छ।   

सरकारले ल्याएको प्याकेजले व्यवसाय पुनरुत्थान गर्न कत्तिको भरथेग ग-यो?

केही पनि गरेको छैन। ‘रिफाइनान्स’ का लागि निकै कम प्रतिशत दिइएको छ। त्यो पनि हामीले सुरुआतमै निवेदन दिएका थियौं। अहिलेसम्म पाउन सकेका छैनौं। अरु उद्योगी, व्यवसायीको अवस्था पनि यस्तै छ। अहिलेको कर्जालाई यसले १–२ प्रतिशत कम गर्न सघाउ पु-याउँछ। तर करोडौंको ऋणअघि यो नगण्य हो। 

राज्यले व्यवसायीको वास्तविक समस्या बुझेकै छैन। राज्यले मिहीन ढंगले समस्या बुझेर निर्णय लिँदा सहज हुन्थ्यो। सबै उद्योग–व्यवसायलाई एउटै टोकरीमा राखेर हेरिएको छ। तर वास्तविकता त फरक छ। कुनै क्षेत्र कम प्रभावित छन् कुनै बढी। सरकारले सोहीअनुरुप प्याकेज ल्याएको भए हुन्थ्यो। त्यसो गर्दा उद्योग व्यवसाय बच्छन्। भविष्यमा खुल्नेलाई आशाको सञ्चार हुन्छ।  

मेरियटको विस्तार उपत्यका बाहिर पनि गर्ने योजनामा हुनुहुन्थ्यो। कोरोनाले योजना पछि सा-यो की तोकिएकै समयमै अगाडि बढ्छ? 

काठमाडौंकै कमलादीमा सुरु गर्ने अन्तिम तयारीमा थियौं। केही वर्षभित्रै काठमाडौंमा पाँचवटा मेरियट पु-याएर उपत्यका बाहिर जाने योजनामा थियौं। नेपालभर १२ वटा मेरियट होटल बनाउने हाम्रो समूहको योजना हो। तर अहिलेको स्थितिले नयाँ सुरु गर्न सक्ने अवस्था छैन। केही समयलाई थाती राखियो। 

 

पर्यटन प्रवद्र्धनको लागि सातामा दुई दिन बिदा दिने विषयमा पर्यटन मन्त्रालयले छलफल गरिरहेको छ। पर्यटन क्षेत्रको लगानीकर्ताको नाताले यसमा तपाईंको धारणा चाहिँ के छ?

पर्यटनको लागि मात्रै सोच्ने हो भने त ठिकै होला। समग्र अर्थतन्त्रलाई हेर्दा त यो उपयुक्त देखिँदैन। कोरोनाले बिथोलेको अर्थतन्त्रलाई दिनरात नभनी काम गरेर अगाडि बढाउनुपर्नेमा दुई दिन बिदा दिएर त कसरी होला ? फेरि यो कुरा पहिले पनि असफल भइसकेको छ। त्यतिबेला किन गरियो ? के कारणले असफल भयो ? त्यसको अध्ययन नै नगरी फेरि बिदा दिनु त्यति उपयुक्त लाग्दैन। सरकारी कार्यशैली त्यति ढिला छ। अझ दुई दिन बिदा दिँदा कस्तो होला ! बाह्य पर्यटकलाई त एक दिन वा दुई दिन बिदाले केही फरक पर्दैन। 

अर्को कुरा दुई दिनको बिदामा घुम्न जाने कहाँ ? यातायातको साधन, सडक पूर्वाधारको अवस्था यस्तो छ। बिदा मात्रै दिएर हुँदैन। कोराना महामारी साम्य नहुँदासम्म मानिस घुम्न त्यति रुचाउँदैनन् पनि। यत्तिकै हाम्रो मुलुकमा बिदा बढी छ। यो अलि सोचविचार गरेर मात्रै निर्णय गर्दा ठिक होला जस्तो लाग्छ।  

हाउजिङको व्यवसाय चाहिँ कस्तो छ?

काठमाडौंमा अहिले पनि हाउजिङको माग राम्रो छ। अहिले नयाँ अपार्टमेन्टहरू नआएको र पुराना लगभग बिक्री भइसकेकोले पनि घरको व्यवसाय बढेको छ। काठमाडौंमा जग्गाको अभाव हुन थालिसक्यो। यसले गर्दा पनि अबको दिनमा अर्पाटमेन्ट र हाउजिङको व्यवसाय राम्रो हुन्छ। 

हामी नै भक्तपुरको नयाँ ठिमीमा अपार्टमेन्ट सुरु गर्ने तयारीमा थियौं। कोरोनाले केही पर धकेलेको छ। अब सुरु गर्ने तयारीमा छौं। पुरानो सनराइज जस्तै नयाँ बन्नेमा पनि सबै वर्गको लागि हेरेर निर्माण गर्नेछौं। १८–२० खालका अपार्टमेन्ट तयार पारेका हुन्छौं। उपभोक्ताले आवश्यकता, आफ्नो क्षमताअनुसार किन्न पाउनुहुन्छ। 

हाउजिङ व्यवसाय तल्लो तहका सरकारसँग प्रत्यक्ष जोडिएको छ। स्थानीय सरकार, जिल्लाका निकायको समन्वय र साथ कस्तो छ?

विकसित देशमा कुन प्रयोजनका लागि हो भनेर राज्यले नै जग्गा छुट्याइदिएको हुन्छ। यसले व्यवसायीदेखि स्थानीय, सरकार सबैलाई सहज हुन्छ। हामीकहाँ त्यो छैन। 

अर्को कुरा सरकारले समूहको कुरा सुन्छ। हामी व्यवसायको बारेमा सोच्दैनौं। बनाउनुभन्दा अघि केही भन्दैनन्। बनाइसकेपछि यो र त्यो भएन भन्ने सरकारी चलन छ।  

नेपालमा उत्पादनमूलक र सेवामूलक उद्योगभन्दा ट्रेडिङ फस्टाउनुको कारण के होला? 

हाम्रो मुलुकमा उद्योगलाई चाहिने कच्चा पदार्थ केही छैन। त्यसले गर्दा सबै कच्चा पदार्थ आयात गरेर यहाँ उत्पादन गरेर निर्यात गर्न सम्भव हुँदैन। आयातित कज्जा पदार्थबाट उत्पादन गर्दा आयातित सामग्रीसँग प्रतिस्पर्धा गर्नै गाह्रो हुन्छ। 

उत्पादनभन्दा व्यापार सजिलो पनि छ। जेजे बिक्छ, त्यो ल्यायो बिक्री ग-यो। अर्को कुरा व्यापार आफ्नो क्षमताअनुसार गर्न सकिन्छ। जोसँग जति लगानी छ त्यही अनुपातको व्यापार गर्न सम्भव हुन्छ। मुलुकको राजनीति, नीतिगत निर्णय स्थिर नहुँदासम्म व्यापार फस्टाइरहन्छ। उद्योगले ठाउँ पाउँदैन। 

अहिलेको अवस्था, सरकारी कार्यशैली, मुलुकको राजनीतिक अवस्थालगायत कारणले व्यवसायीको मनोविज्ञान कस्तो पाउनुभएको छ? 

राजनीतिक उथलपुथलले व्यवसाय गर्ने वातावरणमा ठूलो असर गर्छ। लगानीको सुरक्षा, उद्योगको भविष्य सुनिचिश्त नहुँदासम्म त कसैले पनि करोडौं लगानी गर्दैन। मन्त्री फेरिएपछि हुने नीतिगत परिवर्तनले निकै समस्या ल्याउँछ। 

सानो कामको लागि महिनौं धाउनुपर्ने सरकारी निकायको अवस्था उस्तै छ। नीतिनियम आउँछ तर कार्यान्वयन हुँदैन। वैदेशिक लगानीको लागि वातावरण बन्यो, कानुन संशोधन भयो भनेको वर्षौ भयो। तर ठूलो विदेशी लगानीको शिवम् होङ्सी सिमेन्टले तीन वर्षसम्म पनि बिजुली पाएको छैन। यस्तो अवस्था देखेपछि अरु को लगानीकर्ता आउँछ ? दोहोरो, तेहेरो करको समस्या त सबैलाई थाहा भएकै कुरा हो। अहिले त सरकारैपिच्छे कर छ। 

एउटा उद्योग दर्ता गर्न ६ महिना लाग्छ। कम्तिमा ६–७ वटा निकायमा धाउनुपर्छ। यसले गर्दा नयाँ लगानी गर्नुभन्दा पहिले १० पटक सोच्न बाध्य भइन्छ। 

सरकारी समस्या त होला नै। तर रिलायन्स, डाङ्गोटेजस्ता विश्वप्रसिद्ध कम्पनी नेपालमा आउन नदिन व्यवसायी नै लागिपरे नि ?

कागजमा काम गर्न निकै सहज हुन्छ। तर जब कार्यान्वयनमा जाने बेला हुन्छ, समस्या त्यहाँ निस्कन्छ। लगानी ल्याउनुभन्दा अगाडि कम्पनीले सम्भाव्यता अध्ययन गर्छन्। सहकर्मी, अरु व्यवसायीसँग छलफल गर्छन्। अनि पछि समस्या आउँछ भन्ने थाहा पाए भने यत्तिकै पैसा खन्याउन त कोही तयार हुँदैनन् नि। 

नीतिगत तहमै समस्या छ, फिल्डमा आउने समस्याको त कुरै नगरौं। लगानीकर्तालाई राज्यले दिनुपर्ने कुनै पनि खालको सुरक्षा दिएको छैन। यस्तो जोखिम मोलेर आउन को तयार हुन्छ? 

महामारीले व्यावसायिक क्षेत्रमा कस्ता परिवर्तन देखापरेका छन्?

क्षेत्रगत रुपमा परिवर्तन चाहिँ देखिएकै छ। अनलाइन अर्डर र डेलिभरीको बजार व्यापक भएको छ। कोरोनाले नेपालीलाई अनलाइनको महत्व सिकाएको जस्तो लागेको छ। होटल रेष्टुरेन्टमा प्याकिङको माग बढे पनि ठूलो तारे होटलको त मानिसको त्यहाँको वातावरणको मजा लिने हो। तर मेरियटमा पनि अनलाइन डेलिभरीको लागि अर्डर आउन थालेको छ। 

रेडियो, टिभी, पत्रिकाको विज्ञापनलाई हामीले अनलाइनतिर केन्द्रित गर्न थालेका छौं। सामाजिक सञ्जालमा ‘बुस्ट’लाई अधिकांश व्यवसायले प्राथमिकताका साथ अगाडि बढाएका छन्।  

महामारीले समस्या पारिसक्यो, अब कसरी अगाडि बढ्ने योजनामा हुनुहुन्छ?

व्यवसायी अहिले पर्ख र हेरको स्थितिमा छन्। अवस्था सहज हुनेबित्तिकै लगानी बढ्न थाल्छ। तर यसमा सरकारको सहजीकरण र व्यवसायमैत्री वातावरण महत्वपूर्ण कुरा हो। राज्यले व्यवसायीलाई सरंक्षण गर्ने, लगानीको सुरक्षा दिने हो भने मुलुकको आर्थिक विकास हुन समय लाग्दैन। 

विदेशी लगानीको लागि पनि वातावरण खुकुलो बनाउनुपर्छ। आऊ लगानी गर, राज्यलाई कर तिर र कमाएको पैसा लैजाऊ भन्न सक्नुपर्छ। सोअनुरुपको वातावरण बनाउनुपर्छ। 

हाम्रै ग्रुपको कुरा गर्नुपर्दा अवस्था सहज भएपछि पहिलो चरणमा अपार्टमेन्ट निर्माणलाई अगाडि बढाउँछौं। अनि विस्तारै स्थिति आकलन गर्दै अगाडि बढ्छौँ। 
 

प्रतिक्रिया दिनुहोस्
थप समाचार
लेखकबाट थप
ताजा अपडेट