काठमाडौं– विश्व बैंकले कृषि क्षेत्रको पुनरुत्थानका लागि रुरल इन्टरप्राइज एन्ड इकोनोमिक डेभलपमेन्ट परियोजनाको नाममा ८ करोड अमेरिकी डलर (करिब साढे ९ अर्ब रुपैयाँ) ऋण स्वीकृत गरेको छ।
बिहीबार बैंकको मुख्य कार्यालयले विज्ञप्ति जारी गरी कोरोना भाइरसको महामारीबाट प्रताडित नेपालको कृषि क्षेत्रको पुनस्र्थापना र उत्पादन वृद्धिका लागि सो परियोजना मार्फत ऋण स्वीकृत गरेको जनाएको छ।
परियोजनाले नेपालको कृषि उत्पादन विकास र बजारीकरणमार्फत ग्रामीण उद्यमशीलता प्रबद्र्धन र रोजगारी सिर्जना गर्नका लागि सो ऋणको प्रयोग गर्ने पनि विश्व बैंकले जनाएको छ।
परियोजनाले कृषि उत्पादनको बजार पहुँचलाई प्रवद्र्धन गर्नेछ, जसबाट खासगरी महिलाले नेतृत्व गरेका उद्यमहरुको विकासमा सहयोग पुग्ने विश्व बैंकले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
‘यो परियोजनाले सरकार र निजी क्षेत्रलाई आपसमा सहकार्य गर्दै ‘नेपाल ब्राण्ड’का कृषि उत्पादनलाई विश्व बजारमा पहिचान दिलाउन सक्नेछन्,’ विश्व बैंकका नेपाल, मालदिभ्स र श्रीलंकाका राष्ट्रिय निर्देशक फारिस हदाद–जर्भोसले भने ।
विश्व बैंकको नेपाल मिसनका अनुसार नेपालको प्रतिस्पर्धी र तुलनात्मक लाभ भएका चिया, कफी, फलफूल, औषधीजन्य उत्पादनको विकासले कोरोना भाइरस महामारीपछि नेपालको कृषि क्षेत्रको पुनस्र्थापनाको गति तीव्र हुनेछ। यो परियोजना प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी, लुम्बिी र सुदूरपश्चिम प्रदेशमा कार्यान्वयन हुनेछ।
यो परियोजना नेपाल सरकारले कार्यान्वयन गरिरहेको कृषि विकास रणनीति अनुरुप डिजाइन गरिएको छ र यसले निजी क्षेत्रको सहभागिता सहित आर्थिक विकासलाई गति दिने दिगो, प्रतिस्पर्धी, समावेशी र उत्थानशील कृषि क्षेत्रको विकास हुने विश्व बैंकले जनाएको छ ।