संवाद

सरकारविरुद्ध सशक्त प्रतिवादमा उत्रन्छौं : प्रकाशशरण महत (अन्तर्वार्ता) 

1607516506.jpg

सरकारका कामकारबाहीमाथि प्रतिपक्षी दलको दृष्टिकोण, कांग्रेसले प्रतिपक्षीका रुपमा खेल्ने भूमिका र पार्टीको १४ औं महाधिवेशन लगायतका विषयमा नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतसँग नेपाल समयका तीर्थराज बस्नेतले गरेको कुराकानीको सम्पादित अंशः 

देश आर्थिक, सामाजिक समस्यामा फसेको छ। राजनीतिक दल भने आन्तरिक समस्यामै केन्द्रित छन्। मुलुकमा लोकतन्त्र कमजोर हुन लागेको हो?

हामीले देशमा एउटा संवैधानिक व्यवस्था स्थापना गरेका छौं। त्यही व्यवस्था अनुरुप मुलुकमा नेकपाको सरकार छ। तर, सरकारले संविधानको मर्म र जनताको विश्वासअनुरुप काम गरेन। त्यसैले जनतामा ठूलो असन्तुष्टि छ। यसमा टेकेर व्यवस्थासँग विमति राख्नेहरु सडकमा उत्रिएका छन्। 

यो प्रणालीको असफलताभन्दा पनि सरकारको असफलताको उपज हो। अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई जनताले निर्वाचित गरे। तर उनका गतिविधिले जनता असन्तुष्ट बने। नतिजा निर्वाचनमा देखियो। यसको मतलब यो होइन कि अमेरिकी जनताले दुई वर्षमै लोकतन्त्र खराब हो भन्ने निष्कर्ष निकाले। निष्कर्ष त के थियो भने जसलाई हामीले निर्वाचित गर्‍यौं, त्यसले हाम्रो सही प्रतिनिधित्व गरेन। 

संसारको इतिहास हेर्ने हो भने सत्तामा बस्नेहरुले कहिलेकाहीँ प्रणालीको दुरुपयोग गरेका छन्। त्यसो गर्नेलाई जनताले सजाय दिएका पनि छन्– सत्ताबाट पार्टीलाई हटाएर। यो लोकतान्त्रिक प्रणालीको सौन्दर्य र सकारात्मक पक्ष हो। 

वर्तमान सरकारले गरेको भ्रष्टाचार, विभेदकारी नीति, कोभिड–१९ को अव्यवस्थाप्रति हामी सबै असन्तुष्ट छौं। जनता पनि असन्तुष्ट छन्। त्यो असन्तुष्टि प्रणालीमाथि होइन, सरकारविरुद्ध प्रयोग गर्नुपर्छ।

प्रतिपक्षी दलसमेत गुमनाम जस्तै हुँदा एउटा जमातले राजतन्त्र माग्दै सडक आन्दोलन थालेकोे छ। यसबारे कांग्रेसको धारणा के हो?  

पहिलो कुरा त हामी कमजोर र गुमनाम छैनौं। हाम्रो शक्ति छैन, हामी कहींकतै छैनौं भनेर विश्लेषण गर्नु गलत हो। कहिले शक्ति प्रदर्शन गर्ने र कहिले सडकमा निस्कने भन्ने हामीलाई थाहा छ। मंसिर २९ गते हामी ७७ वटै जिल्लामा सडकमा नस्किँदै छौैं। त्यो संख्या गने भयो नि ! 

सरकारको नालायकीपनका कारण व्यक्त असन्तुष्टिलाई आआफ्नो अनुकूल प्रयोग गर्ने काम भइरहेको छ। त्यो कोसिस किन गरियो  भन्दा पनि त्यो ठाउँ सरकारले किन दियो भन्ने प्रश्न मुख्य हो। सरकारले ठिक ढंगले काम गरेको भए यस्ता कोसिस हुने थिएन। 

हामीले संसदमा कुरा उठाउने, बाहिर पनि आफ्ना कुरा राख्ने, बेलामौकामा विरोध प्रदर्शन गर्ने, सरकारलाई खबरदारी गर्ने काम  गरिररहेका छौं। यसलाई कांग्रेस कमजोर रूपमा प्रस्तुत भएको ठानियो। 

एक त संसदमा हाम्रो संख्या कम छ। त्यसैले हाम्रो व्यापक उपस्थितिको अपेक्षा गर्नु हुँदैन। तर हामीसँग जति संख्या छ, त्यसअनुसार उपस्थिति देखाएका छौं। 

सत्तामा बसेकाहरूलाई के लाग्यो भने यिनीहरुले विरोध गरिरहन्छन्, के फरक पर्छ र? । आफूभित्रको व्यवस्थापन गर्न पाइयो भने भइहाल्यो भन्ने सत्ताधारीलाई लागेको छ। त्यसैले हामीले सरकारविरुद्धका क्रियाकलापलाई सशक्त बनाउने निष्कर्ष निकालेका छौं। २९ गतेको विरोध प्रदर्शन त्यसैको सुरुआत हो। सरकार नसच्चिँदासम्म हामी विरोधका थप कार्यक्रम अघि बढाइरहन्छौं। 

मुलुकका यावत् समस्या थाती राखेर सत्तारुढ नेकपा घरझगडामा व्यस्त छ। यसलाई प्रतिपक्षी दलले कसरी हेरेको छ?

सरकारको नेतृत्व गरेको पार्टी आफ्नै कार्यकर्ता र नेता व्यवस्थापनमा केन्द्रित भएपछि जनताका समस्या ओझेलमा पर्ने नै भए। तैपनि उनीहरुको झगडा साम्य हुन सकेको छैन। त्यो उनीहरुको आफ्नो समस्या हो।

नेकपालाई मतदान गर्नेहरुका लागि मात्रै होइन, नगर्नेहरुका प्रति पनि सरकार त्यति नै जिम्मेवार हुनुपर्छ। तर, सरकारले उल्टो व्यवहार गरिरहेको छ। कोरोना महामारीको गम्भीरतालाई ध्यानमा राखेर रोकथाम र उपचारमा ध्यान दिइएको छैन। उल्टै यसलाई सुरक्षा कवचका रुपमा उपयोग गर्न खोजिएको छ। 

मंगलबार प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा सरकारको दमनकारी प्रवृत्ति, भ्रष्टाचार, लोकतान्त्रिक संस्थाहरुलाई कमजोर बनाउने प्रयासप्रति हामीले विरोध गर्‍यौं। त्यसले जनतामा उत्पन्न असन्तुष्टिबारे सचेत गरायौं। त्यसको निदान भनेको सरकार सच्चिनु नै हो। पाँच महिनादेखि बन्द संघीय संसदको बैठक तत्काल बोलाउनुपर्‍यो। 

प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच सत्ता समीकरणका सम्बन्धमा कुरा भएको चर्चा चलेको छ। खास के हो? 

यो शतप्रतिशत झुटो हो। नेपाली कांग्रेस अहिले न सत्ता साझेदारीमा चासो राख्छ। न त अहिले यसको औचित्य नै देख्छ। नेकपासँग संसदमा झण्डै दुईतिहाई छ। यो अवस्थामा सत्ता साझेदारी गर्नु कल्पनाबाहिरको कुरा हो। 

सरकारले हठात् संसद अधिवेशन अन्त्य गर्‍यो। त्यसयताका पाँच महिनामा जनतामाझ कांग्रेसको उपस्थिति देखिएन। तनहुँ पुल उद्घाटन प्रकरणपछि मात्रै तपाईँहरू जाग्नुभयो। जनताले खोजेको कांग्रेसको भूमिका यस्तै हो त? 

वरिष्ठ नेतामाथि भएको दुर्व्यवहार निन्दनीय छ। हामीले त्यसको भर्त्सना र विरोध गरेका छौं। तर, यही घटनापछि मात्रै हामी जाग्यौं भन्ने चाहिँ होइन। सरकारले पाँच महिनासम्म लकडाउन गर्‍यो। त्यस बेला हामी सडकमा निस्किएनौं। संसद् थिएन। हामी सडकमा ननिस्कुनको मुख्य कारण कोभिड–१९ नै हो।  

हामी सडकमा निस्कँदा कोभिड फैलाएको आरोप लगाएर सरकारले आफ्नो नाकामी ढाकछोप गर्ने अवस्था बन्थ्यो। त्यसपछि चाडबाड आए। अब चाहिँ हामी सशक्त विरोधका कार्यक्रम अघि बढाउँछौं।

यहाँ पार्टीले गठन गरेको कोभिड–१९ अनुगमन समितिको संयोजक हुनुहुन्छ। कोभिडका कारणले परेको सामाजिक आर्थिक क्षतिलाई कसरी मूल्यांकन गर्नुभएको छ?  

मुलुकमा कोभिड–१९ बाट सिर्जित समस्याबारे हामीले निरन्तर अनुगमन गरिरहेका छौं। अस्पतालदेखि विभिन्न क्षेत्रसँग छलफल भइरहेको छ। स्थानीय निकायसँग पनि हामीले सम्पर्कमा रहेर सूचना लिइरहेका छौं।

हाम्रो निष्कर्ष के छ भने सरकार सुरुदेखि क्वारेन्टिन र आइसोलेसन व्यवस्थापन तथा पीसीआर परीक्षणमा चुक्यो। अर्कोतर्फ सरकारले कोभिड–१९ लाई विनियोजन गरेको बजेट  स्वास्थ्य उपकरण खरिदमा भ्रष्टाचार गरी दुरुपयोग गरियो। छानबिन गर्ने संवैधानिक निकायको पनि ध्यानाकर्षण गरायौं। ती निकाय सरकारको छायामा छन्। 

सरकारकै कमजोरीका कारण संक्रमण फैलियो। अदालत परीक्षण र उपचारका सन्दर्भमा निर्देशन दिन्छ, सरकार टेर्दैन। अहिले गम्भीर बिरामीले निजी अस्पतालमा दिनको एक लाख रुपैयाँ तिर्नुपर्ने अवस्था छ। उपचारमा सर्वसाधारणको पहुँच छैन। जनता उपचार नपाएर मर्नुपर्ने अवस्थामा छन्। 

अब त मानिस डराउन छाडिसके। मास्क लगाउन र दुरी कायम गर्न पनि छाडे। यस्तो अवस्थामा सरकारले सचेतना जगाउन सकेको छैन। कोभिड–१९ व्यवस्थापनका विषयमा सरकार पूर्ण असफल भयो। स्वास्थ्यकर्मीलाई प्रोत्साहन भत्ता दिने, बिमा गर्ने लगायतका काम भएका छैनन्। यी विषयलाई हामीले निरन्तर रुपमा उठाइरहेका छौं।

कोभिड–१९ कारण सबै क्षेत्र अस्तव्यस्त छ। लाखौं विद्यार्थीले पढ्न पाएका छैनन्। अर्थतन्त्रमा असर परको छ। मानिसमा ठूलो मनोवैज्ञानिक असर परेको छ। ठूलो जनसंख्या बेरोजगारीका कारण जीविकोपार्जनको उपाय नभएर भोकभोकै बस्नुपर्ने अवस्था आएको छ। यी तमाम समस्या सम्बोधन गर्न सरकार उदासीन छ।

हाम्रो पार्टीमा व्यक्ति केन्द्रित प्रवृत्ति हाबी छ। आफूलाई केन्द्रविन्दुमा राख्ने प्रवृत्ति त्याग्नुपर्छ। पार्टी बलियो भयो भने आफू बलियो भइन्छ भन्ने मानसिकताबाट काम गर्न जरुरी छ।

प्रसंग बदलौं, कांग्रेसले यससपटक पनि महाधिवेशनको मिति सारिरहेको छ, महाधिवेशन गर्न सकस किन? 

हामीले १४ औं महाधिवेशनको मिति फागुनमा तोकेका हौं। पाँच महिना त लकडाउन र निषेध आदेशले केही काम गर्न पाइएन। यसको क्षतिपूर्ति गर्न अहिले हामीलाई गाह्रो परिरहेको छ। परिणामस्वरूप फागुनमै अधिवेशन गर्न कठिन भएको छ। 

कोभिड–१९ को बहानामा महाधिवेशन गर्न सकिँदैन भन्ने होइन। मूल समस्या हामीले हिसाब गरेर राखेको पाँच महिना उपयोग गर्न नपाएका कारण समयमा काम हुन सकेन। फागुनमा अधिवेशन हुने कुरामा चुनौती देखेको छु। मंसिरभित्र क्रियाशील सदस्यता मागेका छौं। तर सबै जिल्लाबाट आएको छैन। मंसिरपछि बस्ने केन्द्रीय समिति बैठकमा समीक्षा गरेर महाधिवेशनको टुंगो लगाउँछौं। 

महाधिवेशन कहिलेसम्म सर्छ होला, केही पूर्वानुमान गर्नुभएको छ?

संवैधानिक व्यवस्थाका कारण महाधिवेशन भदौ उता लैजान सकिन्न। भदौसम्म पुर्‍याउने हाम्रो कुनै आशय छैन। सार्नै पर्ने भयो पनि कम समय मात्रै सर्छ।  

क्रियाशील सदस्यता लगायतका विवाद यथावत् छन्। समाधान कसरी हुन्छन्? 

जिल्लाले जति चाँडो काम गर्छ, त्यति राम्रो हुन्छ। अन्य पार्टीबाट ठूलो संख्यामा प्रवेश गरेका साथीहरुलाई क्रियाशील सदस्यता दिने विषयमा केही प्राविधिक मुद्दा छन्। महाधिवेशनमा कोही–कसैलाई फाइदा पुग्ने गरी संख्या तोकिन्छ कि भन्ने चिन्ता पनि छ। ती चासो र चिन्ता सम्बोधन गर्ने गरी यसमा हल खोज्ने प्रयास भइरहेको छ। यसको निरुपण पारदर्शी ढंगबाट हुन्छ।

कांग्रेस इतिहासकै कमजोर अवस्थामा छ। यस्तो अवस्थामा हुन लागेको महाधिवेशन कस्तो होला? 

पार्टी २०६४ सालमा अहिले भन्दा कमजोर थियो। त्यति बेला हाम्रो भोट संख्या धेरै तल झरेको थियो। अहिले त हामीले ३६ प्रतिशत भोट ल्याएका हौं। त्यो २०७० को भन्दा धेरै हो। दुई कम्युनिस्ट पार्टी मिलेका कारण उनीहरुको भोट जोडियो। त्यसले गर्दा हाम्रो संसदमा संख्या कम भयो। 

अब उनीहरु मिलेको अवस्थामा हामीले भोट प्रतिशत बढाउने हो। त्यसका लागि नेतादेखि कार्यकर्तासम्म एकता आवश्यक छ। हाम्रो पार्टीमा व्यक्ति केन्द्रित प्रवृत्ति हाबी छ। आफूलाई केन्द्रविन्दुमा राख्ने प्रवृत्ति त्याग्नुपर्छ। पार्टी बलियो भयो भने आफू बलियो भइन्छ भन्ने मानसिकताबाट काम गर्न जरुरी छ। त्यस्तै हामीले प्रचार नीति पनि सुधार्नुपर्छ। 

महाधिवेशनले नै यी विषयको सुनिश्चितता गर्छ भन्ने होइन। हामीले समग्र प्रवृत्ति सुधानुपर्छ। जनताका माझमै रहनुपर्छ र निरन्तर संवाद गरिरहनुपर्छ। यो महाधिवेशन भएर वा नभएर सुधार हुने होइन। 

यहाँले व्यक्तिवादी प्रवृत्तिको कुरा गर्नुभयो। त्यो त तपाईंहरूमै बढी देखिन्छ। केन्द्रदेखि वडासम्म यो प्रवृत्ति देखिएको छ। यसको सुधार माथिबाटै हुनुपर्ने हैन र?  

सामाजिक सञ्जाल नै हेरौं न। त्यहाँ फलानाका समर्थक र फलोअर भन्ने प्रवृत्ति छ। यसले व्यक्तिका समर्थक बन्छन्, पार्टीका बन्दैनन्। यसलाई सबैले त्याग्नुपर्छ। किन कांग्रेस हुने? कांग्रेसको इतिहास के हो? अहिलेसम्म कांग्रेसले के गर्‍यो? अब के गर्नुपर्छ? यसका आधारमा कांग्रेसमा बढीभन्दा बढी युवालाई जोड्नुपर्छ। 

कांग्रेस महधिवेशन नेतृत्व चयनमा मात्रै केन्द्रित देखिन्छ। महाधिवेशन नेतृत्व चयनसँगै नीति तय गर्ने थलोका रूपमा किन विकास हुन सकेन?

हो, यो समस्या छ। हामीले एउटा सिस्टम नै परिवर्तन गर्न जरुरी छ। नीति र कार्यक्रम तय गर्ने छुट्टै 'नीति महाधिवेशन' गर्‍यौं भने त्यसमा छलफल हुँदो रहेछ। निर्वाचन पनि त्यही बेलामा हुने भएपछि सबैको ध्यान निर्वाचन र प्रचारमा केन्द्रित हुन्छ। नेताहरु सबै उम्मेदवार हुन्छन्, उनीहरूको ध्यान कसरी जित्ने भन्नेमा हुन्छ। अरु एजेन्डामा बहस हुँदैन।  

आधा दर्जनभन्दा बढी नेताहरूले सभापतिका रूपमा चर्चामा ल्याउनुभएको छ। तपाईंहरूकै समूहबाट विमलेन्द्र निधिले पनि इच्छा व्यक्त गर्नुभएको छ। यसलाई कसरी हेर्नुभएको छ? 

अहिले उहाँले दाबी गर्नुभएको छ। तर, हाम्रो समूहबाट एउटै साझा उम्मेदवार हुन्छ। टिमवर्क गर्ने हो भने सबैसँग सल्लाह गर्नुपर्छ, को हुने भनेर तय गर्नुपर्छ। मैले मै हुन्छु, अर्कोले मै हुन्छु भन्यो भने सर्वस्वीकार्य हुँदैन। समय आएपछि एउटा निष्कर्ष निकाल्ने हो। 

महाधिवेशनमा तपाईंको पनि त कुनै आकांक्षा होला नि?

म सहमहामन्त्री भइसकेको छु। अब यो भन्दा माथि नै जाने हो। तर, कुन के मा जाने हो भन्ने चाहिँ समय आएपछि भनौंला।

प्रतिक्रिया दिनुहोस्
थप समाचार
लेखकबाट थप
ताजा अपडेट