पोखरा– लेखनाथ उद्योग वाणिज्य संघले २४ औं वार्षिक साधारणसभा आइतबार सम्पन्न भएको छ।
कोरना संक्रमण जोखिमका कारण भेला तथा जमघटबाट साधारण सभा गर्न नमिलेपछि संघले फरक शैलीबाट साधारणसभा गरेको हो।
संघले असोज ५ गते देखि नै व्यवसायी सदस्यको घरदैलोमा पुगेर प्रतिवेदन उपलब्ध गराउने र प्रतिवेदन उपर राय सुझाव संकलन गरेको थियो।
संघद्वारा गठित १७ उपसमितिको भेला तथा छलफललाई आधार मान्दै आइतबार बसेको कार्यसमितिको पूर्ण बैठकलाई साधारण सभाको रुप दिइएको हो।
भेलामा संघसँग आबद्ध एक हजार ३५ व्यवसायी सदस्यमध्ये बहुमत सदस्यको प्रतिनिधित्व थियो।
कार्यक्रममा संघले आगामी आर्थिक वर्षका लागि अगाडि सारेको सांगठनिक तथा आर्थिक प्रतिवेदन पारित गरेको छ।
कोरना भाइरसका कारण व्यवसायीहरुले भोग्नुपरेका आर्थिक समस्याबारे छलफल गरी व्यवसाय उत्थानमा सहयोग पुग्ने खालका कार्यक्रम सञ्चालन गर्न सम्बन्धित निकायमा लबिङ गर्ने निर्णय गरेको संघका महासचिव गोपीचन्द्र बास्तोलाले जानकारी दिए।
संघका अध्यक्ष बलराम ढकालको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष कृष्णहरि भण्डारी, संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्य, पूर्व अध्यक्षहरु सुमन भट्टराई, बाबुराम गिरी, लक्ष्मीप्रसाद त्रिपाठी र वरिष्ठ उपाध्यक्ष छत्रधर आत्रेयलगायतले व्यवसायीहरुले भोग्नुपरेका समस्याप्रति संघ गम्भिरतापूर्वक अगाडि बढेको धारणा राखेका थिए।