कला - साहित्य समाज
1607047549.jpg

संगीत साधकका लागि मात्र होइन नारायण गोपाल शुभेच्छुकहरुको मनमा पनि उत्तिकै बसेका छन्। बसेका मात्र होइनन्, झन् पछि झन् गर्दै उनी उठिरहेका छन्, हिमाल सरी। उनकै स्वरकाे ‘हिमाल सरी म अग्लिरहेछु’ झैँ।

NLG Insurance
agrakhi
Yeti parketing

बाँचिरहेका भए स्वरसम्राट् नारायण गोपाल आज ८१ वर्ष ६१ दिनका हुने थिए। नारायण गोपालको भौतिक शरीर माटोमा विलय भएको ३० वर्ष बितिसक्यो तर उनका कालजयी गीत भने उस्तै छन्। स्वर सामर्थ्यमा जवान, कोमलतामा किशोर र माधुर्यमा बालक नै छन् अझै नारायण गोपाल।

कुनै पनि प्रकृतिका प्रतिस्पर्धामा सुगम संगीत प्रस्तुत गर्दा हरेक प्रतियोगीले सम्झना गर्ने पहिलो नाम नै नारायण गोपाल बन्न पुगेको छ। संगीत साधकका लागि मात्र होइन उनी शुभेच्छुकको मनमा पनि उत्तिकै बसेका छन्। बसेका मात्र होइनन्, झन् पछि झन् गर्दै उनी उठिरहेका छन्, हिमाल सरी। उनकै स्वरमा सजिएको ‘हिमाल सरी म अग्लिरहेछु’ झैँ।

नेपाली संगीत क्षेत्रमा थुप्रै गीतकार र संगीतकारसँग संगत गरेर उत्कृष्ट गीतमा मात्रै आफ्नो स्वर भर्ने व्यावसायिक तर जिद्दी गायकका रुपमा स्थापित नारायण गोपाल नयाँ पुस्ताका लागि आधारभूत पाठशाला नै हुन्।

बुवा आशागोपाल गुरुवाचार्यसँग विद्रोह गरेर ‘सुगम’ संगीत रोजेका नारायण गोपाल नयाँ पुस्ताका लागि कसरी पाठशाला बने त?

आशागोपाल शास्त्रीय संगीतलाई मात्र खास संगीत मान्दथे। संगीत साधकमा शास्त्रीय ज्ञान हुनुपर्छ र गायनमा शास्त्रीय रस हुनुपर्छ भन्ने उनको अडान लत्याएर नारायण गोपाल सजिलो संगीतमा आएका थिए। उनले सजिलो भनेर रोजेको सुगम संगीत गायक बन्ने सपना बुनिरहेको नयाँ पुस्ताले आफ्नो स्वर तिखार्न प्रयोग गरिरहेको छ। 

संगीत पारखीको मनमा छुट्टै झंकार भएर अल्झिएको छ, ‘अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बोटामा’ झैँ। नयाँ पुस्ता सुगम संगीतमा रमाउँदै गर्दा नजानिदो रुपमा नारायण गोपाल सुगम संगीतका पथ प्रदर्शक बने।

उनको समयका प्रेमध्वज प्रधान, योगेश वैद्य, बच्चुकैलाश, नातिकाजी, शिवशंकर, अम्बर गुरुङलगायतका गायकहरु पनि चर्चा र सम्मानको हिसाबले शिखरमै छन्। तर नारायण गोपाल ‘सगरमाथा’ नै बन्न पुगे।

नारायण गोपालबारे बढी जानकारी राख्ने समीक्षक प्रकाश सायमी भन्छन्, ‘नारायण गोपाल त नेपाली सांगीतिक क्षेत्रका ‘युग’ हुन्। उनको शब्दमा भन्ने हो भने नेपाली संगीतको इतिहास लेखिँदा ‘नारायण गोपालअघि’ र ‘नारायण गोपालपछि’ भनेर नै लेखिनेछ, यसमा विवाद नरहला।

सायमी भन्छन्, ‘नारायण गोपाल अजम्बरी रहनु उनको स्वरको प्रभाव हो।’ सायमी नारायण गोपालको स्वरको तुलना अरुसँग नहुने दाबी गर्छन्। उनी भन्छन्, ‘विश्वका धेरै राम्रा गायकगायिकाको स्वर सुनेको छु तर नारायण गोपालको स्वरमा मेरो संवेदना पाउँछु।’

गजलका बादशाह मेहदी हसन, बेलायती गायक जोन लेनन, अमेरिकी गायक नाट किङ कोलसँग पनि नारायण गोपालको तुलना नहुने सायमीकाे दाबी छ। ओजपूर्ण स्वरले नारायण गोपाल ‘नारायण गोपाल’ बन्न सकेको सायमी बताउँछन्। 

गीत छनोटमा जिद्दी स्वभावका कारण आलोचित हुने गरेका नारायण गोपाल सुमधुर स्वरका कारण नेपालमा मात्र नभई भारतको दार्जिलिङ, सिक्किमलगायत नेपाली भाषीहरु रहेका विभिन्न स्थानमा लोकप्रिय बने। त्यही लोकप्रियताकै कारण उनले दार्जिलिङमै वैवाहिक सम्बन्ध जोडे। 

दार्जिलिङका संगीतकार गोपाल योन्जनसँगको मितेरी सम्बन्धपछि नारायण गोपालले स्वरमा पनि अत्यन्तै निखार र मिठास ल्याएको उनका समकालीनहरु बताउँछन्।

आफ्ना गीतमा ओजनदार शब्दहरु खोज्ने, देश र माटोको शब्दमा आफ्नो स्वरांकन गराउन रुचाउने महत्त्वाकांक्षी नारायण गोपाल दार्जिलिङकी पेमलासँग प्रेममा परेपछि प्रेम र वियोगका गीतहरुमा पनि आफूलाई समाहित गरे।

‘यो सम्झिने मन छ म बिर्सुँ कसोरी’, ‘यति चोखो यति मिठो दिउँला तिमलाई माया’, ‘मलाई छोडी मेरो छाया कतै झरेछ’, ‘एउटा मान्छेको मायाले कति’, ‘केही मिठो बात गर’, ‘मलाई नसोध कहाँ दुख्छ घाउ’ यस्ता थुप्रै गीत गाए जहाँ प्रेम भाव स्पष्टसँग घुलिएको छ। त्यसो त उनले आफ्नो जीवनमा दुःखसुख गरेर रेकर्ड गराएका १३६ वटै गीत ‘विशेष’ नै छन्।

वि.सं. २०२० को दशकमा एउटा जल्दोबल्दो युवक रहँदै गायनमा छुट्टै परिचय बनाएका नारायण गोपाल २०४७ साल मंसिर १९ गते यो धर्तीबाट बिदा हुँदासम्म र त्यसयताका ३० वर्षसम्म उसैगरी नेपाली र संसारभरका नेपाली भाषीहरुको मन मुटुमा बस्न सफल भइरहे। अधिकांश नेपाली युवा, वृद्धवृद्धा वा बालबालिका नै पनि नारायण गोपालको कुनै न कुनै गीतको प्रशंसक छन्।

नारायण गोपालकै गीत गाउँदै आफ्नो स्वर तिखारेका गायक सुगम पोखरेलले उनलाई गीतमार्फत नै श्रद्धाञ्जली व्यक्त गरेका छन्। कुनै गायकको प्रशंसामा अरु गीत सायदै बन्ने गरेका छन्। ‘श्रद्धेय नारायण गोपाल’ बोलको गीतमा उनले भनेका छन्, ‘एउटा पाठशालै रैछन् गीत तिम्रा, अनि व्यक्तित्व कमाल, उँचो छ तिम्रो नाम, जस्तै सगरमाथा हिमाल, सम्झनामा आज आए श्रद्धेय नारायण गोपाल।’

आफ्नो जीवनकालमा गायक र संगीतकारसँग सम्बन्ध जोड्न र तोड्न नारायण गोपाल विवश बने। गीतकार र कविहरुले चाकडी गर्नुपर्ने, हदै मन परेपछि मात्रै गीत गाउनका लागि तयार हुने, केही समयको सहकार्यपछि सम्बन्ध बिगार्ने र टाढिने उनको परिचय बन्यो।
 
मितेरी साइनो लगाएर सबैभन्दा लामो संगत गोपाल योञ्जनसँग गरेका नारायण गोपालले रत्नशमशेर थापा, नगेन्द्र थापा, कालीप्रसाद रिजाल, हरिभक्त कटुवाल दिव्य खालिनदेखि कवि ईश्वर बल्लभ, महाकवि लक्ष्मीप्रसाद देवकोटा, युगकवि सिद्धिचरण श्रेष्ठ, नेपालभाषाका महाकवि गिरिजाप्रसाद जोशी, नेपालभाषाका जनकवि दुर्गालाल श्रेष्ठका गीतहरु गाए। उनले रानी ऐश्वर्य (चाँदनी शाह) को गीतसमेत गाएका छन्।

नारायण गोपाल मित गोपाल योन्जनसँग पनि टाढिँदा उनलाई प्रत्यक्ष चिन्नेहरु आलोचक बने। तर रेडियो नेपालमा घन्किएको स्वर सुन्नेहरुलाई व्यावहारिक पाटोबारे कुनै चासो वा सरोकार भएन ।

त्यसो त सांस्कृतिक संस्थानका महाप्रबन्धक भएपछि उनी प्रिय गायकबाट अप्रिय हाकिमका रुपमा देखिए। संस्थानमा कार्यरत थुप्रै कलाकारको जागिर फालिदिएपछि उनी कलाकारहरुकै आँखाको तारो बने। केही वर्षअघि प्रकाशित आफ्नो एक पुस्तकमा हास्य कलाकार हरिवंश आचार्यले नारायण गोपालले आफूलाई सांस्कृतिक संस्थानबाट हटाएको भन्दै नमिठो अनुभूति लेखका छन्।

रेडियो नेपालमा नेपाली भाषाकै गीत गाएर हिन्दी गीतबाट स्वर परीक्षा दिने परम्परा तोडेका नारायण गोपाल बागिना नामक सांगीतिक पत्रिकाको सम्पादकसमेत बने। राम्रो रेकर्डिङ स्टुडियो नहुनु वा रेकर्डिङका लागि राम्रो वाद्यवादन टोली नहुनु उनको भोगाइमा ठूलो चुनौती थियो। 

नेपालमा रेडियो नेपाल तथा रत्न रेकर्डिङ स्टुडियोमा भन्दा बढी उनले भारतको कोलकाता वा मुम्बईमा आफ्ना गीतहरु रेकर्ड गराएका छन्। कति आफ्नो रुचिले र कति व्यावसायिक रुपमा गाइएका चलचित्रका वा अन्य गीतमा स्वर भर्न उनी कोलकाता वा मुम्बई धाएका छन्। उनको जीवनमा गीत र संगीत छनोटमा महत्त्वाकांक्षा देखिए पनि उनी आफूले ‘जनताका लागि गीत गाउने’ बताउने गरेका थिए।

२०२३ सालमै रेडियो नेपालबाट सर्वोत्तम संगीतकारको पुरस्कार पाएका उनले २०२४ सालमा रेडियो नेपालबाटै सर्वोत्तम गायकको पुरस्कार पाए। त्यसपछि थुप्रै पुरस्कारमा उनको नाम रह्यो। गोरखा दक्षिण बाहु चौथो, जगदम्बाश्री पुरस्कार र मरणोपरात्न त्रिशक्तिपट्ट तेस्रो उनको जीवनका महत्त्वपूर्ण पुरस्कार हुन्। 

मानविकी स‌ंकायमा स्नातकोत्तर नारायण गोपाल सञ्चार मन्त्रालयको सल्लाहकारसमेत बने। २०४७ साल मंसिर १९ गते राति ९ बजे वीर अस्पतालमा अन्तिम सास लिएका नारायण गोपाल एउटा युगका रुपमा सधै‌ जीवित छन्। उनी सधै‌ लालीगुराँस भएर वनैभरि फुलिदिन्छन्, मनैभरि फुलिदिन्छन्।

 

प्रतिक्रिया दिनुहोस्