काठमाडौं– चाडपर्वलाई लक्षित गरेर महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक व्यवस्थापन विशेष सुरक्षा योजना लागू गरेको छ।
महाशाखाले दसैं, तिहार तथा छठजस्ता पर्वका लागि ट्राफिक व्यवस्थापन र स्वास्थ्य मापदण्ड केन्द्रमा राखेर सुरक्षा योजना ल्याएको हो।
उपत्यकाको ट्राफिक व्यवस्थापन तथा नियन्त्रणका लागि ट्राफिक प्रहरीको प्रभावकारी परिचालन, दुरुस्त कारबाही, शीघ्र र सहज सेवा पहुँचको व्यवस्था मिलाउन योजना लागू गरिएको महाशाखाले जनाएको छ।
सवारी आवागमन सहज बनाउन, सडक प्रयोगककर्ताको सुरक्षा सुनिश्चित गर्न, सवारी दुर्घटना न्यूनीकरण गर्न र चाडपर्वमा हुन सक्ने ठगी नियन्त्रणका लागि सुरक्षा योजना लागू गरेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए। महाशाखाले यात्राका क्रममा समस्या भए १०३ मा फोन गर्न आग्रह गरेको छ।
ट्राफिक व्यवस्थापन मात्र होइन, चाडपर्वका समयमा यात्रुसँग बढी भाडा लिने, बाटोमै यात्रुलाई ओरालिदिने, स्वास्थ्य मापदण्ड पालना नगर्ने जस्ता समस्या आउन नदिन ट्राफिक प्रहरी चनाखो भएको छ।
यस्तै सादा पोसाकमै प्रहरी परिचालन गरी टिकट काउन्टरमा विशेष निगरानी गर्ने भएको छ।
भीडभाड हुने स्थल र टिकट काउन्टरमा हुन सक्ने ठगी तथा आपराधिक क्रियाकलाप नियन्त्रण गर्न महाशाखामा रहेको पीडित सहायता एकाइबाट सादा पोसाकमा प्रहरी परिचालन गरी निगरानी गरिरहेको महाशाखाका प्रवक्ता एसपी रामेश्वरप्रसाद यादवले जानकारी दिए।
बसपार्क, कलंकी, बल्खु, कोटेश्वर, पुरानो बसपार्क, गौशाला लगायतका टिकट काउन्टर भएका क्षेत्रमा सादा पोसाकमै प्रहरी परिचालन गरिनेछ।
सादा पोसाकका ट्राफिक प्रहरीले बढी भाडा लिई टिकट काट्ने, फर्जी टिकट तथा डबल टिकट काट्ने व्यक्तिमाथि निगरानी राख्नेछ भने भाडाका बसमा चढी तोकिएको मूल्यअनुसार टिकट लिएको छ/छैन अनुगमन गर्नेछ।
टिकट काउन्टरमा टिकट काट्ने व्यक्तिको पहिचानका लागि परिचयपत्रको व्यवस्था गरिएको महाशाखाले जनाएको छ।
लामो दुरीका भाडाका सवारीसाधनमा दुई जना चालक अनिवार्य रुपमा भए÷नभएको प्रविधिबाट निगरानी गरिनेछ।
ट्राफिक प्रहरीको ट्राफिक कम्युनिकेसन एप्सबाट हेर्न र नियमानुसार नभए कारवाही गरिने एसएसपी ढकालले जानकारी दिए।
टिकट काउन्टर तथा सवारीसाधनभित्र यात्रुले देखिने गरी भाडा दररेट टाँस गर्ने काम अनिवार्य गराउने योजना पनि महाशाखाले बनाएको छ।
मोटरसाइकल चालकले हेल्मेट नलगाउने, तीव्र गतीमा सवारी चलाउने, ओभरलोड, सवारी अन्य भाग तथा छतमा यात्रु मालसामान राख्न, जथाभाबी
सवारी चलाउने जस्ता ट्राफिक नियम उल्लघंन गर्ने उपर सीसीटीभी निगरानीबाट कडाइसाथ कारबाही गरिने भएको छ।
बसपार्कबाट बाहिरिने गाडीलाई अनिवार्य रुपमा यान्त्रिक परीक्षण गर्न समन्वय गरिने महाशाखाले जानकारी दिएको छ।
महाशाखाले चाडपर्वका बेला निजी तथा सार्वजनिक सवारीसाधनमा हुन सक्ने सम्भावित घटनालाई लक्षित गरेर बिहान, दिउँसो, साँझ र राति चार पटकसम्म विशेष निगरानीको व्यवस्था गर्ने भएको छ।
उपत्यकाबाट बाहिरिने नाका तथा अन्य स्थानमा सवारीसाधनको मापसेसहितको जाँच हुने महाशाखाले उल्लेख गरेको छ।
ट्राफिक प्रहरीले चाडपर्वका समयमा नागढुंगा, कलंकी, स्वयम्भू, माछापोखरी, नयाँ बसपार्क, चावहिल, गौशाला, कोटेश्वर, जगाती, सातदोबाटो, बल्खु, दक्षिणकाली, सुन्धारा, पुरानो बसपार्कलगायतका ठाउँमा लामा दुरीका सवारीसाधनलाई लक्षित गरेर विशेष जाँचको व्यवस्था पनि गरेको छ।
महाशाखाले उपत्यका भित्रिने नाका, व्यापारीक क्षेत्रहरु तथा बसपार्क एरियामा आवश्यकताअनुसार थप जनशक्ति परिचालन गरिने जनाएको छ।
एसएसपी ढकालका अनुसार १७२ स्थानमा दैनिक नियमित ड्युटीका लागि ९०० जनशक्ति परिचालन भइरहेको छ।
चाडपर्वका समयमा अतिरिक्त थप १५० ट्राफिक प्रहरी जनशक्ति परिचालन गरिने महाशाखाले जनाएको छ।
काठमाडौं उपत्यकाभित्रको सुरक्षा संयन्त्रलाई दृष्टिगत गरी १४ वटा नागरिक तथा यात्रु सहायता कक्ष सञ्चालमा ल्याइनेछ।