समाचार

सडकमा खटिने कि भीआईपीको स्कर्टिङ गर्ने ?

1606961472.jpg

सुर्खेत– सोमबार साँझ सुर्खेतको वीरेन्द्रनगरमा अटो र बस दुर्घटनामा परे। वीरेन्द्रनगर–६ को चाइनापुलमा कर्णाली प्रदेश ०२००१ ख ०१७६ नम्बरको बसले भे १ ह १५२८ नम्बरको अटोरिक्सालाई ठक्कर दियो। ठक्करबाट अटो पुलबाट खस्यो। अटो चालक गम्भीर घाइते भए।

NLG Insurance
agrakhi
Yeti parketing

मंगलबार साँझ वीरेन्द्रगनर–४ को यरीचोकमा बोलेर जीप दुर्घटनामा पर्‍यो। यरीचौकबाट बाँगेशीमलतर्फ जाँदै गरेको भे १ च २४७४ नम्बरको बोलेरोले सडकमा उभिएको गाईलाई ठक्कर दियो। अटो चालक घाइते भए र गाईको घटनास्थलमै मृत्यु भयो। बुधबार विहान वीरेन्द्रनगरको–१ को मूलपानी चौकमा भे १ ह २३०९ नम्बरको अटो दुर्घटना भयो। दुर्घटनामा चालकसहित दुई जना घाइते भए।

पछिल्लो समय कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा दैनिकजसो सवारी दुर्घटना हुन्छन्। नियमित जसो हुने सवारी दुर्घटनाले ट्राफिक प्रहरीलाई दैनिक तनाव सिर्जना गरेको छ। दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले जनचेतना फैलाउनेदेखि चौकचौकमा चेकजाँच गरिरहेकै छ। तर ट्राफिक प्रहरीको एक्लो प्रयासले दुर्घटना घट्नुको सट्टा दिनप्रतिदिन बढिरहेको छ। 

यसरी राजधानीमा दुर्घटना बढ्नुको पछाडि तीन वटा कारण रहेको ट्राफिक प्रहरीको निष्कर्ष छ। प्रहरीका अनुसार ट्राफिक नियम विपरीत बनेको भौतिक संरचना, पार्किङ स्थलको अभाव र राजधानीमा बढ्दनो सवारी चाप नै दुर्घटनाका मुख्य कारण हुन्।

भौतिक संरचना र सवारी पार्किङका हिसावले वीरेन्द्रनगर अस्तव्यस्त नै छ। विहान १० र साँझ ५ बजेको वरीपरी वीरेन्द्रनगरका मुख्य सडकमा सवारी जाम हुन्छ। अफिस जाने र आउने समयमा पैदल यात्रीलाई बाटो काट्नै हम्मेहम्मे पर्छ। न कुनै स्थानमा आकाशे पुल छ न त जेब्राक्रस। पैदल यात्रुले जोखिम मोलेरै बाटो क्रस गर्नुको विकल्प छैन।

दश बजेपछि सवारी पार्किङले बजारक्षेत्र भरिभराउ हुन्छ। पार्किङस्थल भनेर छुट्याएका ठाउँमा पनि सवारी साधन अटाउन मुस्कील पर्छ। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आजसम्म सार्वजनिक पार्किङस्थल छैन। जसका कारण नो पार्किङ लेखिएको ठाउँमा पनि सवारीसाधन राख्नुपर्ने बाध्यता छ।

ठूला होटल व्यवसाय र बैक तथा वित्तिय संस्थामा पैदल यात्रीले पाइला टेक्ने ठाउँ नै हुँदैन। बजारभन्दा बाहिरी सडकको अवस्था पनि हरिबिजोग नै छैन। घरमा धुलो नपरोस् भन्ने उद्देश्यले घरधनीले आफूखुशी ब्रेकर राखेका छन्।

अस्पताल जस्तो संवेदनशील क्षेत्रका सडकमा पनि ठाउँठाउँमा ब्रेकर छन्। ब्रेकरका कारण गम्भीर बिरामीले बाटोमै ज्यान गुमाउनुपर्ने अवस्था छ। अप्रेशन गरेका विरामी र अस्पताल पुग्ने सुत्केरीले ब्रेकरका कारण पाउने सास्ती शब्दमा व्यक्त गर्नै सकिँदैन। मानविय स्वास्थ्यप्रति सडकमा गरिएको गम्भीर लाप्रवाही सम्बन्धित निकायले देख्ने र सुन्ने क्षमतासम्म राखेको छैन।

यी विविध कारण वीरेन्द्रनगर सवारी दुर्घटनाको उच्च जोखिममा छ। अस्तव्यस्त सवारी व्यवस्थापनको दोष ट्राफिक प्रहरीले खेप्नु परेको छ। सवारी आवागमन व्यवस्थित गर्न नसकेको भन्दै स्थानीय र प्रदेश सरकारदेखि सर्वसाधारणसम्मले ट्राफिकलाई नै दोष देख्छन्।

तर प्रहरीलाई भने नियम विपरितका भौतिक संरचना र जनशक्ति अभावले वीरेन्द्रगनरको ट्राफिक व्यवस्थापन तनावको विषय बनेको छ। ‘सडकमा ट्राफिक चिन्ह, जेब्राक्रस नहुनु र सवारी साधनको बढ्दो चापका कारण कारण वीरेन्द्रगनर सवारी दुर्घटनाको उच्च जोखिममा छ,’ सुर्खेतका ट्राफिक प्रहरी प्रमुख उपेन्द्रप्रसाद आचार्य भन्छन्, ‘नियम विपरितका भौतिक संरचना र आवश्यकता अनुसार जनशक्ति नहुँदा ट्राफिक व्यवस्थापन चुनौतिपूर्ण छ।’ 

वीरेन्द्रनगरको ट्राफिक व्यवस्थापनका विषयमा सचेत नागरिक र जिम्मेवार निकायले गम्भीर नभए ट्राफिक व्यस्थापन थप चुनौतिपूर्ण हुने उनको तर्क छ। 

वीरेन्द्रनगर कर्णाली प्रदेशको राजधानी भएसँगै सवारी चाप बढेको छ। तर आवश्यकता अनुसार जनशक्ति नहुँदा ट्राफिक व्यवस्थापनमा प्रहरीलाई हम्मेहम्मे भएको छ। सवारीसाधनको बढ्दो चापका कारण २३ जना दरबन्दी रहेको सुर्खेतमा हाल ५० जनाको प्रहरी कार्यरत छन्। यद्यपि आवश्यकताको आधारमा यो निकै न्यून हो।

‘ट्राफिक व्यवस्थापका लागि वीरेन्द्रनगर अति संवेदनशिल क्षेत्र हो, ट्राफिकले भीआईपीदेखि सर्वसाधारणको व्यवस्थापनमा ध्यान दिनुपर्छ,’ ट्राफिक प्रमुख आचार्य भन्छन्, ‘सुर्खेतको ५० जना ट्राफिक जनशक्ति निकै न्यून हो।’ ५० जनाको जनशक्ति भीआईपीको स्कर्टिङ र मुख्य चेकप्वाइन्ट खटाउन पनि अपुग हुने उनको भनाइ छ। 

तीन वर्षमा ९६ जनाको मृत्यु

पछिल्लो तीन वर्षको अवधिमा सुर्खेतमा १२० दुर्घटना भएका छन्। तिनमा ९६ जनाको मृत्यु भएको छ। 

सुर्खेतमा एक वर्षमा झण्डै नौ हजारभन्दा सवारीसाधन कारबाहीमा परेका छन्। ट्राफिक नियमको पालना नगर्ने सवारीसाधनमध्ये ठूलाको तुलनामा साना सवारी साधन धेरै छन्। 

तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा दुई हजार ५२६ वटा मोटरसाइकल, एक हजार २१९ वटा बस र एक हजार ११० वटा ट्रक तथा टिप्पर कारबाहीमा परेका छन्। त्यस्तै एक हजार १४० वटा जिप तथा कार, एक हजार ३२ वटा टेक्टर र टेम्पो तथा अन्य गरेर एक हजार ८६४ वटा सवारी साधान कारबाहीमा परेको ट्राफिक कार्यालय सुर्खेतले जनाएको छ।

पछिल्लो तीन वर्षको अवधिमा सवारी साधनबाट सुर्खेतमा तीन करोडभन्दा बढी राजस्व संकलन भएको छ। चालू आर्थिक वर्षको ६ महिनामा ५८ लाख ८० हजार रुपैयाँ राजस्व संकलन भएको छ। वार्षिक करोडौँ राजस्व संकलन ट्राफिक प्रहरीलाई भने एक रुपैयाँ पनि रकम प्रयोग गर्ने अधिकार छैन। दुर्घटना न्यूनीकरणका आवश्यक भौतिक संरचना निर्माणको लागि प्रहरीले सहयोगी निकायसँग हात फैलाउनुपर्ने बाध्यता रहेको अधिकारीहरु गुनासो गर्छन्।
 

प्रतिक्रिया दिनुहोस्