काठमाडौं– नेपालीहरुको ठूलो चाड दसैं सुरु हुन एक साता जतिमात्रै बाँकी छ। त्यसपछि लगत्तै तिहार र छठ आउँछन्।
व्यवसायीका लागि दसैं–तिहार सामान बेच्ने मुख्य सिजन हो। तर, यसपालि कोरोना महामारीले गर्दा व्यवसायीलाई ‘दसैं’ आएन।
विगतका वर्षहरुमा दसैंको छेको पारेर सवारीसाधनको मेला ‘अटो शो’ हुन्थ्यो। ठूलो कारोबार हुने अटो शो यसपालि हुन पाएन। अटो मेला हुन नपाए पनि व्यवसायीहरुले चाडबाडलाई लक्षित गरेर विभिन्न अफर र स्किम ल्याएका छन्।
हुन्डाई दसैंतिहार अफर
नेपालमा हुन्डाईका लागि अधिकृत विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले आफ्ना गाडीहरुलाई लक्षित गरी ‘हुन्डाई दसैंतिहार अफर’ सार्वजनिक गरेको छ। उसले चाडपर्वलाई लक्षित गरी ‘यसपालिको दसैंतिहार वेलकम टु हुन्डाई परिवार’ भन्ने नाराका साथ चाडवाड लक्षित अफर सार्वजनिक गरेको हो।
अफरअन्तर्गत हुन्डाई गाडीको खरिदमा स्क्राच कार्डमार्फत एक लाख रुपैयाँसम्मको नगद फिर्ता पाउनेछन् भने बम्पर उपहार अन्तर्गत २ भाग्यशाली विजेताले हुन्डाईको अउरा र आई १० नियोस पाउनेछन्। यस्तै ग्राहकले सो अफर अन्तर्गत १ वर्षको बीमा सुविधासमेत पाउनेछन्।
सुजुकीको पर्वाेत्सव अफर
नेपालमा सुजुकी ब्राण्डको अधिकृत विक्रेता सिजी मोटोकर्पले चाडपर्वलाई लक्षित गरी पर्वाेत्सव अफर सार्वजनिक गरेको छ। ‘यो दसैं तिहारमा सुजुकीको साथ’ नारासहित उक्त अफर ल्याएको हो। सो अफर अन्तर्गत सुजुकी गाडीको खरिदमा ३ लाख ५० हजारसम्म नगद फिर्ता पाउन सक्नेछन्।
कम्पनीका अनुसार उक्त अफरअन्तर्गत गाडी खरिद गर्दा ग्राहकले कम्तिमा २० प्रतिशत डाउन पेमेन्टमा गाडी खरिद गर्न पाउनेछन्। जसअन्तर्गत २ लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनस पनि हुने कम्पनीले जानकारी दिएको छ। त्यस्तै ग्राहकले सो अफरमा १ वर्षको बीमा र पार्ट्स सुविधासँगै रिफर एण्ड विन क्यास प्राइजको पनि घोषणा गरेको छ।
रेनोको शुभ दिन ६ अफर
त्यस्तैगरी रेनो नेपालले पनि चाडपर्वलाई लक्षित गरी ‘शुभ दिन ६’ नामक अफर सार्वजनिक गरेको छ। सो अफरअन्तर्गत रेनो ब्राण्डको गाडी किन्ने ग्राहकले ५ वटा विभिन्न सुविधा प्राप्त गर्नेछन्। ग्राहकले ५ लाखसम्म नगद फिर्ता, निःशुल्क बीमा, निःशुल्क एसेसरिज, लोयल्टी बोनस, एक्सचेन्ज बोनस र ५ वर्षको वारेन्टीको सुविधा रहेको छ।
फोर्डको फेस्टिभ अफर
फोर्ड कम्पनीले फोर्ड गाडीका ग्राहकहरुलाई ‘फोर्ड फेस्टिभ अफर’ सार्वजनिक गरेको छ। कम्पनीले आफ्नो अफरमा ४ लाख ५० हजारसम्म जित्ने मौका, ६ महिनाको ईएमआई छुट तथा भुक्तानी स्थगन गर्ने सुविधा राखेको छ। गाडीका ग्राहकले उक्त ३ अफरमध्ये कुनै एक अफर छान्ने मौका पाउनेछन्।
उक्त अफरसँगै ग्राहकले फोर्ड गाडीको खरिदमा सडक दस्तुर छुट, रोयल्टी छुट, ३ वर्षको वारेन्टी, ३ वर्षको निःशुल्क सर्भिस, १ बर्षको बीमा निःशुल्क लगायतका सुविधाहरु पाउने कम्पनीले जनाएको छ।
टाटाको दसैं अफर
नेपालमा टाटा ब्राण्डका गाडीहरुको अधिकृत विक्रेता सिप्रदी ट्रेडर्सले पनि दैिंका लागि भन्दै अफर सार्वजनिक गरेको छ। कम्पनीले ‘यो दशैंमा किन मान्ने बोर ? टाटा मोटर्सले दिन्छ उपहार मोर’ नामक नारा सहित आफ्ना विभिन्न अफरहरु सार्वजनिक गरेको छ। सो अफर अन्तर्गत टाटा ब्राण्डका गाडीहरुको खरिद गर्ने ग्राहकले मोबाइल फोनदेखि वासिङ मेसिनसम्मका उपहार पाउनेछन्।
त्यस्तै टाटा कम्पनीको गाडीको खरिदमा ग्राहकहरुले सामसङ ग्यालेक्सी नोट २० अल्ट्रा, सामसङको ट्याब्लेट, सोनीको ईन्टरनेट टीभी, वासिङ मेसिन र माईक्रोवेभ ओभनसमेत पुरस्कार पाउने बताइएको छ। यस्तै कम्पनीको गाडी खरिदमा स्योर सट प्राइज र लक्की ड्रमार्फत पुरस्कार पनि राखेको छ।
होन्डाको एक नेपालीलाई एक रुपैयाँमा होन्डा अफर
होन्डा कम्पनीले दशै तिहारलाई लक्षित गर्दै ‘हरेक नेपालीलाई एक रुपैयाँमा होन्डा’ नामक नारा सहित दशै तिहार र छठ अफर ल्याएको छ। सो कम्पनीले ल्याएको अफरमा ७ बर्षसम्मका लागि स्पेयर पार्टसको खरिदमा ७ प्रतिशत छुट, ७ बर्षसम्म निशुल्क सर्भिसिङ, एक लाख सम्म नगद छुटको अफर दिएको छ।
त्यस्तै बम्पर योजना स्वरुप होन्डा कम्पनीका विभिन्न मोडलका बाइक तथा स्कुटर किन्दा एक रुपैयाँ डाउन पेमेन्ट, वा एक रुपैयाँ इएमआइ वा एक प्रतिशत व्याजदरमा फाइनान्सिङ हुने योजना समेत सार्वजनिक गरेको छ।