काठमाडौं– सोलिडारिटी फर डा. केसी अलायन्सले डा. गाेविन्द केसीको जीवन रक्षाको माग गर्दै देशव्यापी रुपमा नागरिक सत्याग्रह गर्न अपिल गरेको छ।
अलायन्सको संयोजनमा आज साँझ ५ बजेदेखि त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीले कीर्तिपुरमा र बिहीबार पाटन डबलीमा नागरिक सत्याग्रह गर्दै छन्।
देशैभरबाट कोभिडविरुद्धका सबै नियम र मापदण्ड पालना गर्दै आ–आफ्नो ठाउँबाट डा. केसीको समर्थनमा सत्याग्रह सुरु गर्न अभियानका संयोजक जीवन क्षेत्रीले आग्रह गरे।
स्वास्थ्य र मेडिकल शिक्षामा सुधार तथा सुशासनका लागि डा. केसीले १९औं सत्याग्रह सुरु गरेको आज २४ औं दिन भइसकेको छ।
डा. केसीको स्वास्थ्य धेरै नाजुक बन्दै गएको छ। सरकारले भने उनका माग पूरा गर्न र जीवनरक्षाका लागि कुनै कदम चालेको छैन।