बुटवल– प्रदेश ५ को प्रदेश सभा बैठकमा सोमबार तोडफोड भएको छ। । आन्तरिक मामिलामन्त्री कुलप्रसाद केसीले प्रदेशको नामकरण र स्थायी राजधानीबारे छलफल गरियोस् भन्ने प्रस्ताव पेस गरेपछि प्रतिपक्षी कांग्रेसलगयतका सांसदहरु तोडफोडमा उत्रिएका हुन्।
प्रतिपक्षी सांसदहरुले सदनका कुर्सी र टेबुलमा तोडफोड गरेका थिए। त्यसपछि पनि सभामुखले बैठकलाई जारी राखेका थिए।
प्रदेश सरकारले प्रदेशको नाम लुम्बिनी र राजधानी दाङको भालुवाङ क्षेत्र बनाउने प्रस्ताव मन्त्रिपरिषद्बाट पारित गरी सभामा पेस गरेको हो।
नामका विषयमा कसैले विमति नजनाए पनि राजधानीका विषयमा कांग्रेसलगायतका दलले तीव्र असन्तुष्टि जनाएका छन्। उनीहरूको माग प्रदेश राजधानी बुटवलमै हुनुपर्छ भन्ने छ।
सत्तारुढ नेकपाले भने भालुवाङका पक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ। यस्तै दलले पक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई पनि विशेष निर्देशन (ह्विप) जारी गरिसकेको छ।
नेकपाका ६१ सांसदमध्ये ५९ जनाले मतदान गर्न पाउँछन्। कुल ८७ सदस्यीय रहेको प्रदेशसभामा दुई तिहाई मत ५८ सदस्य हुन्छ।