काठमाडौं– चोभारमा बनिरहेको सुख्खा बन्दरगाहको प्रगति ५५ प्रतिशत भएको छ।
नेपाल इन्टर मोडल यातायात विकास समितिका अनुसार बन्दरगाह २०७८ जेठभित्र सञ्चालन गर्ने तयारीसहित निर्माण भइरहेको छ।
बन्दरगाहको लागि आवश्यक सहायक सडक, भित्री सडक र भवनलगायत संरचना निर्माण भइसकेका छन्।
अहिले लोड अनलोडको संरचना, चोभार–फर्पिङ रुट मर्मतलगायत काम चलिरहेको समितिले जनाएको छ।
बन्दरगाह सञ्चालनमा आएसँगै काठमाडौंका व्यवसायीले सिधै चोभारसम्म सामान ल्याउन पाउने छन्। काठमाडौंबाट तेस्रो मुलुकमा हुने निर्यात पनि यहीँबाट गर्न सकिन्छ।
क्षेत्रीय व्यापार तथा पारवहन आयोजना अन्तर्गत २२८ रोपनीमा बन्दरगाह निर्माण भइरहेको छ।
विश्व बैंकको ऋण सहयोगमा एक अर्ब ६७ करोड लागतमा बन्दरगाह निर्माण गर्न २०७५ जेठमा ठेक्का सम्झौता भएको थियो।
सम्झौतामा डेढ वर्षभित्र निर्माण सक्ने लक्ष्य भए पनि तोकिएको समयमा आधा काम मात्र भएको छ।