बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • सांसद विकास कोषको रकम दुरुपयोग : जग्गाको मूल्यांकन बढाउन खेतमै पीसीसी ढलान

सांसद विकास कोषको रकम दुरुपयोग : जग्गाको मूल्यांकन बढाउन खेतमै पीसीसी ढलान

प्रदेशसभा सदस्यहरुलाई आफ्नो निर्वाचन क्षेत्रमा जनतालाई अनुभूति हुनेगरी सो रकम उपलब्ध गराइन्छ। तर प्रदेश २ का एक जना प्रदेशसभा सदस्यले भने जनताको भलो नै नसोची निर्वाचन क्षेत्रको विकासका लागि रहेको कोषको दुरुपयोग गरेको पाइएको छ।
 |  सोमबार, असोज १९, २०७७

जयन्त ठाकुर

जयन्त ठाकुर

सोमबार, असोज १९, २०७७

जनकपुरधाम– केही महिनाअघि नेपालमा कोरोना भाइरस संक्रमणले प्रवेश गरिरहेको समयमा प्रदेश २ का प्रदेशसभा सदस्यहरुले संसदीय विकास कोषको रकम बढाउनुपर्ने आवाज एक स्वरमा उठाएका थिए।

triton college

कोरोना महामारीका कारण बजेट खर्च आशा गरेअनुरुप हुन नसकेको भन्दै सांसदहरुको संसदीय विकास कोषको रकम बढाउनुपर्ने आवाज उठाएका थिए। प्रदेशसभा सदस्यहरुले संसदीय विकास कोषको रकम बढाउनका लागि लबिङ गरिरहेको समयमा संसदीय विकास कोषको रकमको चरम दुरुपयोग भएको पाइएको छ।

प्रदेशसभा सदस्यहरुलाई आफ्नो निर्वाचन क्षेत्रमा जनतालाई अनुभूति हुनेगरी सो रकम उपलब्ध गराइन्छ। तर प्रदेश २ का एक जना प्रदेशसभा सदस्यले भने जनताको भलो नै नसोची निर्वाचन क्षेत्रको विकासका लागि रहेको कोषको दुरुपयोग गरेको पाइएको छ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २३ पछि थपिएको ग्रामीण वडा हो। सो वडाको बस्तीमा सडक त्यति व्यवस्थित छैन। तर, बस्ती नै नभएको खेतमा पीसीसी ढलान गरिएको छ।

जनकपुरधामको बस स्ट्यान्डको उत्तर पश्चिम कुनामा केही पर लगभग २५ बिघाको खाली प्लट छ। त्यहाँ खेतैखेत छ, मानव बस्ती छैन। सो प्लटमा भू–माफियाहरुको जग्गा रहेको स्थानीय बताउँछन्। सोही जग्गाको मूल्यांकन बढाउनका लागि १४ फिट र १२ फिटको पीसीसी सडक ढलान गरिएको हो।

corrent noodles
Metro Mart

पीसीसी ढलानका लागि प्रदेशसभा सदस्य परमेश्वर साहले आफ्नो संसदीय विकास कोषको रकमबाट खर्च गरेका छन्। जग्गा एजेन्टहरु प्रदेशसभा सदस्य साहको नजिकका मान्छे रहेका कारण मानव बस्ती नै नरहेको खाली प्लटमा सडक ढलान गराउन लगाएको स्थानीयको आरोप छ। 

प्रदेशसभा सदस्य साहले आफ्नो ३ करोडको संसदीय विकास कोषको रकमबाट ८० लाख रुपैयाँ सोही पीसीसी सडक निर्माणका लागि रकम खर्चेका छन्। यता प्रदेशसभा सदस्य परमेश्वर साहले भने सो खाली प्लटमा आफ्नो कुनै जग्गा नरहेको र जनदबाबकै कारण त्यहाँ पीसीसी ढलानका लागि रकम उपलब्ध गराएको बताए।

उनले भने, ‘मेरो न त्यहाँ आफ्नो निजी जग्गा छ, न कुनै भू–माफियासँग साँठगाँठ छ। त्यहाँ सडक निर्माणका लागि दवाब आयो, मैले संसदीय विकास कोषको रकम प्रयोग गरें।’ जनताको भलो हुने उद्देश्यले आफ्नो संसदीय विकास कोषको रकम प्रयोग गरेको उनको दाबी छ।  

यता जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २३ का वडाध्यक्ष शत्रुधन पाण्डेले त्यहाँ पीसीसी ढलान गरिएको विषयमा आफूलाई जानकारी नगराइएको बताए। पाण्डेले भने, ‘मलाई जानकारी नै नगराई कुनै सांसदले त्यहाँ पीसीसी ढलान गराउँछ, भने मैले के गर्ने ?’

२५ बिघाभन्दा खाली रहेको सो प्लटमा कैयौँ भू–माफियाको चलखेल रहेको स्थानीयको भनाइ छ। खाली प्लटमा केही महिना अगाडिसम्म जग्गाको मूल्य एक धुरको डेढ लाख रुपैयाँ थियो। तर त्यहाँ टाउन प्लानिङ हिसाबले संसदीय विकास कोषको रकमबाट पीसीसी सडक निर्माण गरिएपछि त्यहाँ जग्गाको मूल्य अढाई लाख धुर पुगेको छ।

सोही प्लटमा रञ्जय पाण्डेले ५ धुरभन्दा बढी जग्गा लिएका छन्। उनले सो खाली प्लटमा अहिले धुरको अढाइ लाखमा जग्गा बिक्री भइरहेको जानकारी दिए। यस हिसाबले सो २५ बिघाको खाली प्लटको मूल्यांकन सडक निर्माण भएपछि ५ करोड रुपैयाँले वृद्धि भएको छ।

प्रदेशसभा सदस्य साहले आफ्नो संसदीय कोषको रकम ७ वटा योजनामा खर्चेका छन्। स्रोतका अनुसार उनले आफ्नो अधिकांश योजना आफ्नो नजिकका मान्छेलाई दिएका छन् वा आफ्नो नजिकको मान्छेको हित हुने गरी प्रयोग गरेका छन्।

उनले आफ्नो संसदीय कोषको रकमबाट जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८ मा परिक्रमा सडकदेखि दूधमती नदीसम्म जाने बाटोका लागि ५० लाख, जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ मा बसहिया सडकदेखि पश्चिम जाने बाटोका लागि ५० लाख, जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ मै अर्को सडकका लागि ४० लाख, जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ मा शिवपथदेखि उत्तर पुलसम्म र पश्चिम मोनाष्टिक विद्यालयसम्म जाने सडकका लागि ३५ लाख,  जनकपुर जेसिजको भवन निर्माणका लागि ४० लाख र प्रशासनिक खर्चबापत ५ लाख रुपैयाँ खर्चेका छन् ।

जनकपुरधामस्थित जनकपुर जेसिजको भवन निर्माणमा समेत आर्थिक अनियमितता भएको जेसिजकै एक पदाधिकारीले बताए। उनले भने, ‘प्रदेशसभा सदस्य साहले जेसिजको भवन निर्माण गराउनका लागि उपलब्ध गराएको ४० लाख रकमबाट १० लाख रुपैयाँ ठेकेदारबाट कमिसन खाएका छन्।’

प्रकाशित: Oct 05, 2020| 06:11 सोमबार, असोज १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।