भैरहवा- बाह्र जिल्ला रहेको प्रदेश ५ मा यतिबेला राजधानीको विषय पेचिलो बनेको छ।
प्रदेश सभा स्थापना भएपछि प्रदेश राजधानीका लागि विभिन्न समिति गठन भए। ती समितिले सर्वसम्मत राजधानी तोक्न सकेनन्।
यद्यपि नामका विषयमा पहिल्यैदेखि लुम्बिनी प्रदेश सर्वसम्मत भइसकेको थियो। प्रदेश राजधानीकै विषयमा अध्ययन गर्न संसदको जम्बो टोली भारतीय सहरहरुको स्थलगत अवलोकनमा समेत पुग्यो। तर नतिजा हात लागेन।
यतिबेला प्रदेश सरकारले राजधानी दाङको भालुवाङ क्षेत्रमा राख्ने प्रस्ताव संसदमा दर्ता गरेसँगै बुटवलमा आन्दोलन सुरु भएको छ।
राजधानी रुपन्देही कि दाङ भन्ने विषयमा जनमत बाँडिएको छ।
कपिलवस्तुका सांसद विष्णु पन्थीसहित तीन जनाले कपिलवस्तु राजधानी हुनुपर्ने अडान राखेका छन्। रुपन्देही, पश्चिम नवलपरासी, पाल्पा र गुल्मीका सांसदहरु रुपन्देही राजधानी हुनुपर्ने पक्षमा छन्। संसदीय दलको बैठकमा १४ जना सांसदले नोट अफ डिसेन्टसमेत लेखे।
प्रतिपक्षी कांग्रेसका नेताहरुको पनि आआफ्नै अडान छ। रुपन्देही कांग्रेसका सभापति अब्दुल रज्जाक रुपन्देहीमा राजधानी कायम नभएसम्म आन्दोलन चर्काइरहने बताउँछन्। बर्दियाका कांग्रेस सभापति सञ्जयकुमार गौतम भने भालुबाङका पक्षमा छन्।
दलीय हिसाबमा रुपन्देही राजधानी कि दाङ भन्ने विषयमा जनमत बाँडिँदा त्यसको असर संघसंस्था र सर्वसाधारणमा पनि परेको छ। सामाजिक सञ्जालमा पनि जनमत पक्षविपक्षमा बहस हुन थालेको छ।
भैरहवामा आइतबार सम्पन्न एक कार्यक्रममा पनि सहभागीले प्रदेश राजधानी रुपन्देही कि दाङ भन्ने विषयमा आआफ्नो तर्क राखेका छन्।
संघीय सांसद प्रमोदकुमार यादवले भालुवाङमा राजधानी राख्नु आश्चर्यजनक रहेको बताए। उनले भने, ‘नदीकटान हुने ठाउँ, जंगलको छेउमा लगेर राजधानी राख्ने विषय कुनै पनि कोणबाट ठीक छैन। पूर्वाधार सम्पन्न, अन्तर्राष्ट्रिय जगतसँग सीधा हवाई र स्थलमार्ग सम्पर्क भएको रुपन्देहीको विकल्प सोच्नु गलत हो।’
प्रदेश सांसद सन्तोषकुमार पाण्डेले पनि राजधानी सुगम ठाउँमा हुनुपर्ने तर्क गरे। उनले भने, ‘कसैकसैले राजधानी विकास नभएको ठाउँमा, भर्जिन ल्यान्डमा गराउनुपर्ने तर्क गरिरहेका छन्। त्यसो हो भने नगरपालिका, गाउँपालिकाका कार्यालय दुर्गम क्षेत्रमा सारौं न।’
रुपन्देहीको ओमसतिया गाउँपालिका अध्यक्ष हीरा केवट (राहुल) ले भने भालुवाङ उपयुक्त भएको बताए। उनले भने, ‘हामीले बर्दियालाई पनि हेर्नुपर्छ, गुल्मीलाई पनि हेनुपर्छ। बाह्र जिल्लाको केन्द्र भौगोलिक हिसाबले भालुवाङ नै हो।’
छलफलमा नेकपाका नेता विश्वास बराल (अनुप) ले प्रदेश राजधानी तोक्ने अधिकार प्रदेश सभालाई भएको हुँदा उक्त विषयमा अनावश्यक छलफल र बहस जरुरी नरहेको बताए। उनले भने, ‘प्रदेश सभाले उपयुक्त समयमा उपयुक्त निर्णय गर्छ। प्रदेश ५ को राजधानी रुपन्देही नै उपयुक्त हो।’
कांग्रेस नेता दीपक क्षेत्री न्यौपानेले भौतिक पूर्वाधार सम्पन्न बुटवल छाडेर अनकन्टार ठाउँमा राजधानी बनाउन खोज्नु नै हास्यास्पद भएको बताए। उनले भने, ‘धेरै पूर्वाधार भएको बुटवलमा व्यवस्थापन हुन तीन वर्ष लाग्यो। जंगल र नदीको छेउमा खर्बौं खर्चिएर राजधानी व्यवस्थापन हुने कहिले?’
नेकपा नेता हितराज पन्थीले संरचनागत दृष्टिले रुपन्देहीको विकल्प खोज्नु गलत हुने बताए। राप्रपा रुपन्देही अध्यक्ष सागरप्रताप राणाले राप्तीको बगरमा राजधानीका लागि पूर्वाधार निर्माणमा लाग्ने खर्बौं रकम कसले व्यहोर्ने भन्दै प्रश्न गरे।
अनेरास्ववियु केन्द्रीय सदस्य लक्ष्मी केसीले राजधानी सबैलाई पायक पर्ने ठाउँमा हुनुपर्ने तर्क गरिन्। उनले भनिन्, ‘राजधानी १२ जिल्लाको केन्द्रमा हुनुपर्छ तर प्रस्तावित राप्तीको नदी कटान क्षेत्र उपयुक्त स्थान होइन। कपिलवस्तु क्षेत्र सबै दृष्टिकोणले उपयुक्त हो।’
छलफलमा इतिहासविद् विजय सागरले गाउँगाउँमा सिंहदरबार भन्ने नारा दिएर निर्वाचन जितेकाहरुले पुरानै सिंहदरबारबाट शासन चलाउनु खोज्नु आपत्तिको विषय भएको बताए। उनले भने, ‘प्रदेशको राजधानी तोक्ने विषय संघीयत र गणतन्त्रको सिद्धान्तविपरीत भएको छ। माथिको आदेश लाद्न खोज्नु गलत हो।’
छलफलमा गौतमबुद्ध मिडिया प्रालिका अध्यक्ष खिमबहादुर खत्री, गुणाराम घिमिरे, सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष कुलप्रसाद न्यौपाने, उद्योग व्यपार संगठनका अध्यक्ष नारायणप्रसाद भण्डारी, सिद्धार्थ होटल एसोसिएसनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ, इँट्टा व्यवसायी महासंघका प्रदेश अध्यक्ष थानेश्वर घिमिरे, होटल तथा रेस्टुरेन्ट व्यवसायी संगठन रुपन्देहीका अध्यक्ष गणेश बेलबासे, उत्कृष्ट सहकारीका अध्यक्ष अनिलकुमार ज्ञवाली, नेपाल भारत अबध मैत्री समाजका अध्यक्ष अजयकुमार गुप्तालगायतले आआफ्नो धारणा राखेका थिए।