विराटनगर– झापाको दमककी कोरोना संक्रमित ६८ वर्षीया महिलाको शनिबार बिहान मृत्यु भएको छ ।
दमक–७ घर भएकी महिलाको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरमा ज्यान गएको केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतले बताए।
उनका अनुसार उपचारका क्रममा ज्यान गुमाएकी महिलालाई बिहान २ बजेतिर चिकित्सकले मृत घोषित गरेका हुन् ।
कोरोना पुष्टि भएसँगै स्वास्थ्य अवस्था खराब बनेकी उनलाई असोज ११ गते आइसोलेसनमा भर्ना गरेर उपचार थालिएको थियो।
गम्भीर अवस्थामा आइसोलेसनमा भर्ना गरेर उपचार थालिए पनि महिलाको उपचार सफल हुन नसकेको केन्द्रका प्रमुख एवं बरिष्ठ फिजिसियन डा. दीपक सिग्देलले बताए।
उनका अनुसार महिलालाई पछिल्लो समय श्वासप्रश्वासको समस्या बढेको थियो भने शरीरमा अक्सिजनको मात्रा कम थियो। मृतकमा दम र खोकीको पुरानो समस्या रहेको सिग्देलले बताए।