काठमाडौं– प्रधान न्यायाधीशबिनाको संवैधानिक इजलास गठन हुन सक्ने कि नसक्ने भन्ने मुद्दामाथि आज शुक्रबार सुनुवाइ हुँदैछ।
न्यायाधीश प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको इजलासमा यस मुद्दामाथि सुनुवाइ हुन लागेको हो। अधिवक्ता दीपकविक्रम मिश्र र डा. गणेश रेग्मीले दायर गरेका छुट्टाछुट्टै रिटको सुनुवाइ हुने गरी सो इजलासमा पेसी तोकिएको हो।
बहस सकिए आजै फैसला आउन सक्ने सर्वोच्च स्रोतले जनाएको छ। न्यायाधीश हरि फुयाँलको एकल इजलासले यसबारेमा लिखित जवाफ प्राप्त भएको ३ दिनपछि पेसी तोक्न आदेश दिएबमोजिम आज पेसी तोकिएको हो ।
संवैधानिक परिषद्ले गरेका संवैधानिक नियुक्तिविरुद्धको रिटमाथिको सुनुवाइमा प्रधानन्यायाधीश बस्न नमिल्ने विवादपछि यो प्रकरण अदालतमा मुद्दाका रूपमा छ।
प्रधानन्यायाधीशबिनाको संवैधानिक इजलास बस्ने कि नबस्ने भन्ने मुद्दाको टुंगो लागेपछि मात्र संवैधानिक नियुक्तिहरूविरुद्धको रिटमाथि सुनुवाइ अघि बढ्नेछ।