विशेष समाचार

जापानीको ‘भाग्य’ कोरिरहेका पाटनका सुरेन्द्र

1606118159.jpg

विशाल अर्थ व्यवस्था भएको मुलुक जापानका नागरिक भाग्यमा खुबै विश्वास गर्छन्। उनीहरुको ‘भाग्य’ भने नेपालमै बनाइन्छ। भाग्य कोर्ने नेपालीमध्ये एक हुन् पाटनका सुरेन्द्र महर्जन।

NLG Insurance
agrakhi
Yeti parketing

नयाँ वर्षका अवसरमा जापानमा भाग्य हेर्ने चलन छ। धार्मिक आस्था भएका जापानी आउने वर्षभरि आफ्नो भाग्य कस्तो हुन्छ भनी मन्दिर तथा गुम्बामा गई भाग्य हेर्छन्। जापानी भाषामा यसलाई ओमिकुजी भनिन्छ। 

भाग्य हेर्ने तरिका भने फरक छ। न त ज्योतिषशास्त्रअनुसार ग्रहगतिका आधारमा जन्मकुण्डलीको फलादेश गरिन्छ न त हस्तरेखा विज्ञानमा आधारित रही भविष्य हेरिन्छ।

नयाँ वर्षका बेला जापानीहरु तीर्थस्थल जान्छन्। त्यहाँ धेरै ओमिकुजी (विशेष प्रकारको कागज) राखिएको बट्टा हुन्छ। निश्चित भेटी दिएपछि सानो बाँसको छडीले बट्टाभित्रबाट एउटा ओमिकुजी तान्न पाइन्छ।  यसरी  छानिएको ओमिकुजीमा राम्रो भविष्यवाणी लेखिएको रहेछ भने घरमा लगेर सुरक्षित राख्छन्। नराम्रो लेखिएको रहेछ भने कागज गोलो बनाएर मन्दिरमै बाँधेर छोडिदिन्छन्। 

जापानीले भाग्य हेर्ने कागज बनाउने काममा संलग्न छन् ललितपुर पाटनका सुरेन्द्र महर्जन। उनले विगत २० वर्षदेखि जापानीको भाग्यरेखा कोर्दै आएका छन्।

उनको जीविकोपार्जन जापानीको भाग्य बनाएरै चलेकोे छ। तर यो भाग्यको कागजबारे सुरेन्द्र अनभिज्ञ छन्। कारण उनी जापानी भाषा बुझ्दैनन्। 

सुरेन्द्रले २० वर्षअघि अर्कैको कम्पनीमा ओमिकुजी बनाउने काम पाए। विस्तारै काम सिके। त्यति बेला उनको तलब थियो दुई हजार ५०० रुपैयाँ। त्यतिले गुजारा गर्न गाह्रो भएपछि उनी अर्को कम्पनीमा आबद्ध भए।

उनी सम्झन्छन्, ‘मैले काम जानिसकेपछि प्रिन्टिङको जिम्मा पाएँ। वर्षौंदेखि यही पेसामा आबद्ध छु।’

त्यसपछि आफैंले काम थाल्ने अठोट गरे। तर समस्या थियो भाषाको। जापानी भाषा नजाने पनि उनले अर्को कम्पनीको अर्डरअनुसार घरमै ओमिकुजी कोर्न थाले। उनलाई बिस्तारै आत्मविश्वास बढ्दै गयो। 

सुरेन्द्र अचेल आफ्नै घरमा जापानी भाग्य छाप्न व्यस्त हुन्छन्। उनी भन्छन्, ‘म अर्डर आएको काममात्रै गर्छु, मलाई जापानी भाषा आउँदैन। कम्पनीको अर्डरअनुसार काम गर्छु।’ सुरेन्द्रले ओमिकुजी बनाउन केही कर्मचारी पनि राखेका छन्। एक वर्षमा डेढ लाखभन्दा बढी प्रति छाप्ने गरिएको सुरेन्द्रले बताए।   

ओमिकुजी बनाउन प्लास्टिकमा लेखिएको डेमो जापानबाट आयात गरिन्छ। प्लास्टिकमा लेखिएको कुरालाई महर्जन हाते मेसिनमा राखेर नेपाली कागजमा छाप्छन्।  

सुरेन्द्रकी श्रीमती पनि यही पेसामा छिन्। श्रीमान्–श्रीमती एउटै पेसामा लाग्दा सहज त भएको छ तर अन्य भाषा नजान्दा आफैंले अर्डर लिएर काम गर्न नसकेकामा खिन्न छन्। आफैंले अर्डर लिएर काम गर्न पाएको भए कर्मचारीलाई तलब दिएर पनि आफूलाई फाइदा हुने उनी बताउँछन्। 

एक प्रति ओमिकुजी बनाएबापत उनी पाँच सय रुपैयाँ पाउँछन्। जापानमा एक प्रति ओमिकुजी नेपाली एक हजार रुपैयाँभन्दा बढीमा बिक्री हुने गरेको उनी बताउँछन्। 

महर्जन भन्छन्, ‘मासिक एक लाखभन्दा बढी कमाइ हुन्छ। जीवन धानिएको छ तर आफैंले अर्डर लिएर जापान पुर्‍याउन नसकेकोमा दुःख लाग्छ।’ 

जापान निर्यात गरिने नेपाली कागज अर्गेलीबाट बनाइन्छ। ओमिकुजी बनाउन पहिले लोक्ताबाट बनेकै कागज प्रयोग हुन्थ्यो। जापानीले अर्गेलीबाट निर्मित कागज मागेपछि पछिल्लो समय अर्गेलीबाट बनाइने सुरेन्द्र बताउँछन्। 

सुरेन्द्रका अनुसार अर्गेलीबाट निर्मित नेपाली कागजलाई जापानीले मिचुमाता भन्छन्। मिचुमाता बनाउन आवश्यक कच्चा पदार्थ विभिन्न जिल्लाबाट संकलन गरिन्छ। 

सुरेन्द्रले आगामी नयाँ वर्षका लागि आएको अर्डरको आधाभन्दा धेरै ओमिकुजी जापान पठाइसकेका छन्। 

उनले २० वर्ष अवधिमा ५० लाखभन्दा बढी ओमिकुजी बनाएका छन्। ओमिकुजीमात्र होइन, जापानी नागरिकको चिना पनि महर्जनले बनाउँछन्। चिना बनाउन पनि जापानबाटै अर्डर आउँछ। महर्जन जापानी भित्तेपात्रो, बुककभर, डायरी, र्‍यापिङ पेपर, बिजनेस कार्डलगायतका सामग्री पनि बनाउँछन्। 

जापानी पैसा (येन) बनाउन पनि नेपालकै जंगलमा पाइने अर्गेली प्रयोग गरिन्छ। त्यसैले अर्गेली नेपालबाट ठूलो मात्रामा जापान निर्यात हुन्छ। जापानले अर्डर दिन छोड्यो भने पेसा धराशयी हुने सुरेन्द्र बताउँछन्। 

तस्बिरहरू : दिनेश श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्