काठमाडौं– एनसेलका ग्राहकले बढी शुल्क लाग्ने कुनै डर बिना ढुक्कसँग मेन ब्यालेन्सबाटै अझ सुलभ दरमा डेटा सेवाको फाइदा लिन सक्ने भएका छन् ।
एनसेल आजियाटा लिमिटेड (पहिले एनसेल प्राइभेट लिमिटेड) ले आफ्ना ग्राहकका लागि आकर्षक साप्ताहिक पेएजयूगो योजना ल्याएको छ, जसअन्तर्गत ग्राहकले कर बाहेक ४० पैसा प्रतिएमबी सम्ममा डेटा सेवा प्रयोग गर्न सक्छन् ।
यो योजना बुधबार (असोज १४) देखि लागु भएको छ । पेएजयूगो अर्थात मेन ब्यालेन्सबाटै विद्यमान प्रतिएमबी कर बाहेक रु २ मा डेटा सेवा प्रयोग गर्ने र सुलभ दरमा डेटा सेवा प्रयोग गर्नका लागि प्याक सुविधा नलिने ग्राहकहरुलाई ध्यानमा राखी सुलभ दरमा सेवा प्रदान गर्न यो योजाना ल्याइएको एनसेलले जनाएको छ ।
यस योजनामा ग्राहकले आफ्नो मेन ब्यालेन्सबाट जति धेरै खर्च गर्दछन्, त्यसै अनुरुप डेटाको शुल्क अझ सुलभ हुँदै जान्छ । यदी ग्राहकले पेएजयूगो अन्तर्गत एक हप्तामा डेटाका लागि रु २० सम्म खर्च गरेमा विद्यमान पेएजयूगो शुल्क रु २ प्रतिएमबी पर्दछ ।
एक हप्तामा ग्राहकले रु २० देखि रु ५० सम्म डेटा सेवामा खर्च गर्ने बितिकै सेवा प्रयोगका लागि प्रतिएमबी शुल्क रु १ मा झर्दछ । त्यसैगरी यदी ग्राहकले एक हप्तामा रु ५० भन्दा बढी खर्च गर्ने बितिकै प्रतिएमबी रु ४० पैसामा मेन ब्यालेन्बाटै डेटा सेवाको फाइदा लिन सक्छन् ।