बिहिबार, मंसिर १८, २०७७

फोटो समाचार
1605949322.jpg

पोखरा–‘हामी बाँच्न बेसाहाको घेराभित्र पिल्सिएका छौं। तर विकसित देशका मानिसहरू आर्थिक सम्पन्नता नाघेर मनोरञ्जन खोज्छन् । भौतिक साधनहरूले जति भरिपूर्ण भए पनि तिनिहरू असन्तुष्ट रहन्छन् ।

relifeinsurance

आफैंले रचेको आधुनिकताको साङ्लोबाट उम्कन तिनीहरू पर्यटक भई विश्व चाहार्छन् । अगुवा भई बिराना ठाउँ पुग्छन् । अनि पर्वतारोही भई मेसिनले पाट्टिएको शरीरलाई प्रकृतिसित दाँज्न खोज्छन् ।’ 

झण्डै ६ दसकअगाडि डा. हर्क गुरुङले त्यतिबेलाकै परिवेश अनुसार पर्यटक र पर्यटनबारे यी शब्द खर्चिएका थिए। 

कुनै समय थियो गोरो छाला भएकाहरूलाई मात्रै पर्यटक ठान्ने । दुखजिलोमै दिन बित्ने भएकाले नेपालीलाई घुम्ने फुर्सद नै कहाँ हुन्थ्यो र? 

डा. गुरुङले भनेजस्तै बेसाहाको घेरामा रुमल्लिएको शरीर त्यसबाट उम्किन मुस्किलै हुन्थ्यो। 

अहिले पर्यटन मात्र होइन पर्यटकको प्रकृति र प्रवृत्ति पनि फेरिएको छ। आम्दानी बढ्दै जाँदा हामी नेपालीको दैनिकी पनि परिवर्तन हुँदै छ। 

रोजगारीका नाममा सहरमा भीड बढेको छ। झिसमिसेदेखि साँझसम्म व्यस्त भए पनि शारीरिक परिश्रम कम हुँदै गएको छ। 

अनी सहरमा कुँजिएको ज्यान फुकाउन व्यस्त दैनिकीलाई केही दिन पन्छाएर नेपाली पनि फिरन्ते भएर डुलिदिन्छ। अचेल पदयात्रा, हिमाल आरोहण, घुमफिर मात्रै होइन साहसिक गतिविधिमा नेपाली पर्यटकको भीड ज्यादा देखिन्छ । 

चीनबाट कोरोनाका भाइरस विश्वभर फैलिइरहँदा मानिसहरूको आउजाउ ठप्प भयो। एउटा गतिमा अगाडि बढेको विश्व समाजमा घडीको सुइ टक्क अडिएझैं भयो। 

कोरोनाको प्रभाव नघट्ने र अर्थतन्त्रमा ठूलो क्षति पुग्ने भएपछि विश्वका धेरै मुलुकले विस्तारै आउजाउ खुलाएका छन्। र पनि पर्यटन क्षेत्रमा चहलपहल बढ्न सकेको छैन। 

नेपालमा पनि विदेशी पर्यटक निकै कम छन्। बरु नेपाली नै घुमफिरमा निस्कन थालेका छन्। एक व्यक्ति घरबाट बाहिर आउँदा उसले गर्ने खर्चपर्चले अर्थतन्त्रलाई चलायमान बनाउँछ। त्यसैले त गण्डकी प्रदेश सरकारले पर्यटनलाई समृद्धिको पहिलो आधार मानेको छ। 

दसैं–तिहारको विदाका बेला देशभित्रकै पर्यटकीय गन्तव्यमा पुगेर रमाउने लहर चलेको छ। त्यसबारे सामाजिक सञ्जालमा आउने भिडियोले यो लहरलाई थप सघाएको छ। 

लकडाउनका बेला घुम्न निस्कने त कुरै थिएन। भदौपछि भने केही चलहपलहल सुरु भएको छ। तर,जसै पर्यटकीय गतिविधि सुरु हुन थाल्छ उसै त्यसमा अवरोध पनि खडा हुन्छ। 

पोखरा आसपासका पर्यटकीय गन्तव्यमा पनि त्यस्तै भयो। घान्द्रुकवासीले दसैं अगाडि नै बैठक बसेर चाडबाडमा पर्यटक त के कुटुम्बलाई पनि गाउँ पस्न रोक लगाए। होमस्टेका लागि चिनिएको ल्वाङ गाउँमा पनि बाहिरका मान्छे आउन निषेध गरियो। कोरोना फैलने डर जो छ।

तर, उकुसमुकुस भएर बसेकाहरूलाई दसैं बिदामा कतै न कतै घुम्नु नै थियो। पोखरा नजिकैको मर्दी हिमाल ट्रेकमा थामिनसक्नु भीड ओइरियो। माछापुच्छ«े मोडल ट्रेकतिर पनि उस्तै भयो। 

उता कोरोना कहरमाझ उर्लिएको भीडबाट आत्तिएका स्थानीय व्यवसायीले ट्रेकिङमा आउने पर्यटकले ७२ घन्टा भित्रको पीसीआर रिपोर्ट देखाउनै पर्ने नियम लगाए। यसले तिहार अगाडि गरेको निर्णयले पर्यटकलाई अलिकती निरास बनायो। 

पोखराको लेकसाइडका पर्यटन व्यवसायमा आबद्ध जगन विश्वकर्मा यो बेला साइकलमा मुस्ताङ जाने, सके त्यसभन्दा माथि थोराङ पाससम्म पुग्ने योजनामा थिए। 

तर मुस्ताङ प्रशासनले बाहिरी जिल्लाका व्यक्ति छिर्न रोक लगाएपछि साइकलका पांग्रा उता गुड्ने कुरै भएन। साहसिक गतिविधिसहितको यात्रामा निस्कने हुटहुटी चलिरहेकै बेला जगनलाई साथीहरूले तिलिचो ताल जाने प्रस्ताव गरे। 

पोखराबाट त्यति धेरै टाढा पनि छैन तिलिचो। हिमालको काखमा रहेको तिलिचोको आँगनमा माउन्टेन बाइक कुदाउने रहरले उतै डो¥यायोे। टोली नेता बने खेलाडी धरमसिं लामिछाने, साथ दिए अरु नौ सहयात्रीले। 

ब्याकप्याकमा आवश्यक सरजाम बोकेर कात्तिक २१ गते पोखराबाट निस्केको टोली गाडी चढेर लमजुङ सदरमुकाम बेसिहर पुग्यो। त्यहाँबाट सुरु भयो साइकल यात्रा। 

पोखराको चिल्लो सडकमा साइकल गुडाएजस्तो सजिलो पक्कै थिएन। डरलाग्दो भीरको बाटो। तै पनि तिलिचो पुग्ने रहरले बुर्कुसी मारेका बेला अप्ठ्यारो बाटोले छेक्ने कुरा थिएन। टोली साहस बटुल्दै अगाडि बढ्यो। 

धारापानी पुग्दा नपुग्दै टोली नेता लामिछानेकी आमा सिकिस्त भएको खबर आयो। उनी त्यहिँबाटै फर्किए।

टोलीकी एक मात्र महिला सदस्य दुर्गा अधिकारीलाई पनि फर्कौं झैँ भयो । पोखरामै बसेर पत्रकारिता गरिरहेकी उनले कहिलेकाहीं माउन्टेन बाइक चलाउने गरे पनि सहासिक यात्रामा पहिलो पटक निस्केकी थिइन्। त्यसमाथि पोखराबाट हिंडेपछि साथीहरूले फोन गरेर ‘तँ सक्दिनस् फर्के हुन्छ’ भनेका थिए।

तर लामिछानेले उनलाई हौसला दिए, ‘तपाईंको यात्रा त बेसिसहरबाट उकालो लागेपछि यसै सफल भइसक्यो। यात्रामा निस्केको व्यक्ति अत्तो नपरी बीचैबाट फर्कनु हुँदैन।’ दुर्गालाई पनि हो जस्तो लाग्यो, उनले यात्रा जारी राखिन्। 

काठमाडौंबाट तिलिचोसम्म माउन्टेन बाइकमा यात्रा गरेका जगनहरूले पोखराबाट तिलिचो पुग्ने आँट भने यसअघि गरेका थिएनन्। 

जगन भन्छन्, ‘सिजनमा विदेशी पर्यटकको लर्को लाग्थ्यो, व्यवसायी साथीहरू काममै व्यस्त, अहिले भने आफैं पर्यटक भएर घुम्दा निकै मजा आयो।’ 

पोखरा– १५ का विनोद थापा गन्तब्यसम्म पुग्न सकिएला कि नसकिएला दोधारमै थिए। बाटोमा पछि परेका बेला साथीहरूले होस्टेमा हैंसे गरे। 

ताल छेउ पुगेर हिउँमाथि साइकल कुदाउँदा बाटोको सबै थकान मेटियो। बाटाको दुःख सम्झनाबाटै हरायो। फतक्कै गलेका गोडा पनि तंग्रिएझैं महसुस भयो उनलाई। 

लेकसाइडमा पिज्जा हाउस सञ्चालन गर्दै आएका शेखर श्रेष्ठको पनि घुम्ने रहर निकै थियो तर, मौसम खुलेका बेला कामकै चाप धेरै हुने, अफसिजनमा मौसमले साथ नदिने हुँदा रहर मनमै गुम्स्याएर बसेका थिए। 

‘गेस्टले सेयर गरेको अनुभव सुनेर घुमफिरको मजा लिएको थिएँ, यसपालि आफैंले धोको पुर्‍याइयो,’ उनले भने । 

भर्खर १९ वर्ष टेकेका विश्वास गुरुङ टोलीका कान्छा सदस्य थिए। पोखराभित्रै साइकल चलाए पनि उकालो ओरालोको त्यति अनुभव थिएन। उनले पनि यात्रा पूरा गरेरै छाडे। 

तिलिचो पुगेर फर्केपछि दंग परेका उनी अब साथीहरूलाई पनि हौस्याउने भएका छन्। उनीहरू कात्तिक २६ मै पोखरै आइपुगेका हुन्। 

‘सिजनमा मनाङका होटेलमा बासै पाइन्थेन,’ टोली सदस्य राजीव पालिखेले भने, ‘यसपालि त हामीलाई देखेर मनाङका व्यवसायी नै दङदास भए। चैतयता त्यहाँका होटेलमा बास बस्ने हाम्रो समूह नै पहिलो रहेछ।’ 

टोलीले झन्डै दुई घन्टा बितायो तिलिचोमा। 

साइकलमा तिलिचो पुगेका सबैको आ–आफ्नो अनुभव छ। झोला बोक्ने सहयोगीदेखि साइकल मर्मत गर्ने प्राविधिक पनि साथै लग्नुपर्ने। 

टोलीलाई गाइड समेत गरेका खड्ग विकलाई पहिलेका भन्दा यसपालिको यात्रा अचाक्ली रमाइलो लाग्यो। 

उनी भन्छन्, ‘कोही बेस्सरी अनुभवी, कोही हिमाली भेगमा पहिलो पटक साइकल चलाउँदै गरेका। चुनौति र रमाइलो दुबै बेस्सरी थियो।’

५ हजार ९२० मिटर उचाइमा छ तिलिचो ताल। पोखराबाट बेसिसहर, मनाङ सदरमुकाम चामे हुँदै जाँदा शरीरले एकैपटक उचाइको असर थाम्न सक्दैन। 

अझ गाडी वा हेलिकोप्टरबाट सिधै मनाङ पुगेर उचाइ पार गर्न खोज्दा ज्यानै गुमाएका उदाहरण पनि छन्। 

पैदल हिँड्न त कठिन हुने ठाउँमा साइकल ठेल्न कति गाह्रो होला। तर पनि टोलीले कोसिस गरे सकिँदो रहेछ भन्ने प्रमाणित गरे। 

शेखर श्रेष्ठ भन्छन्, ‘चुरोट छाडेर दुई महिनादेखि अभ्यास गरेको थिएँ, चुरोटको लत त छुट्यो नै साइक्लिङका लागि स्टामिना पनि बढ्योे।’ 

उचाइमा पुग्दा हिंडाइ कसरी व्यवस्थित गर्ने त? दुई हजार मिटरभन्दा माथि पुगेपछि एक दिनमा एक हजार मिटरभन्दा बढी उचाइ पार गर्नुहुँदैन। स्थानीय हावापानीमा अभ्यस्त हुँदै अगाडि बढ्नु पर्छ।

सम्भावित दुर्घटनाबाट जोगिन टोलीका तीन जना सहयोगीले औषधि, अक्सिजनलगायत सामग्री बोकेका थिए। 

चाहिएको बेला प्रयोग गर्न मिल्ने गरी गाडी र घोडा पनि तयार थिए। परे तुरुन्तै भनेको ठाउँमा पुग्नेगरी हेलिकोप्टर तयारी अवस्थामा राखिएको जगन विश्वकर्माले बताए। 

साइकलमै यात्रा किन गरियो त? जगन भन्छन्, ‘साइकल अब यातायातको साधन मात्रै होइन। साइकल स्वास्थ्य हो, वातावरण हो, अनि शिक्षा पनि। पर्यटन क्षेत्र सुस्ताएका बेला, रमाइलो अनुभव बटुल्न र यही क्षेत्रका लागि केही गरौं भनेरसाइकल यात्रामा निस्केका हौं।’ 

‘तिलिचो एमटिबी टुर २०२०’ नाम दिइएको यो यात्राको मेसो पोखरा माउन्टेन बाइक एडभेन्चरले मिलाएको हो। 

युवाहरूलाई साइक्लिङमा आकर्षित गर्दै यसलाई पर्यटन प्रवद्र्धनको माध्यम बनाउने जमर्कोमा लागिरहेको बताउँछन् जगन।

प्रतिक्रिया दिनुहोस्