बिहिबार, मंसिर १८, २०७७

विशेष समाज

बलिहाङ तङ्नामको देउसी र मारुनीको सम्झनामा ...

1605932977.jpg
फाइल तस्बिर

तिहार आएसँगै उनको व्यस्तता निकै बढ्थ्यो। सबैभन्दा पहिले च्याब्रुङ खोज्नुपरो। त्यसको ताना ठिक छ वा छैन चेक गर्नुपरो। छालाले पोहोरको जस्तै आवाज दिन्छ वा दिँदैन यकिन गर्नुपरो।

relifeinsurance

ठिक भए त देउसी गज्जबै भइहाल्यो। नभए त्यसलाई नफेरेसम्म पहिलो काम सकिँदैनथ्यो। च्याब्रुङबाट सुरु भएको काम देउसीसम्म पुग्न निकै समय लाग्छ। सबै कामको चाँजोपाँजो मिलाउन स्थानीय प्रेम सुब्बालाई निकै सकस पर्थ्यो।

जब सबै कुरा मिल्दै जान्छ, अनि इलाम बजारको समीपमै रहेको स्थानीय बजार बिब्ल्याँटेमा तिहारको मन्दमन्द धुन सुरु हुन्थ्यो।

यहाँ बजाएको च्याब्रुङ टाढा टाढासम्म पनि सुनिन्छ। त्यसैले हो पोहोर–पोहोर बेलैमा तिहार आएजस्तै लाग्थ्यो। तर यो वर्ष तिहार सकिसक्दा पनि च्याब्रुङ बजेन। ‘वारी तुवाँलो पारी तुवाँलो..’ घन्केन।

लिम्बू जातिको ठूलो बसोबास रहेको बिब्ल्याँटे बजारमा पछिल्लो समय अन्य ठाउँबाट पनि मानिस बसाइँ सरेर आइपुगेका छन्। च्याब्रुङ बजाउँदै, पूर्वेली भाकामा लिम्बू भाषाका गीत गाउने कला भने लिम्बू समुदायको पहिचान हो, शान हो।

त्यही संस्कृतिलाई बचाइरहेका छन्, बिब्ल्याँटेका आदिवासी समुदायले।

नेपाल समयसँगको कुराकानीमा पनि सुब्बा यसै भन्छन्, ‘सबै जातिको आ–आफ्नै पहिचान हुन्छ। त्यस्तै लिम्बू जातिको पहिचानका लागि चाहिँ च्याब्रुङ नाचलाई लिइएको छ। सांस्कृतिक कुरा चाहिँ कहाँ सुरु हुन्छ भने, लिम्बूहरुको किराँत याक्थुङ चुम्लुङ भन्ने हाम्रो समाज छ। त्यो समाजले जनाएका केही पर्वहरु छन् लिम्बू किराँत समुदायको।’

‘बलिहाङ तङ्नाम’ भन्ने चाड हुन्छ, लिम्बू समुदायमा। यो भनेको तिहार हो। नेपालीमा ‘बली राजा’ भनेजस्तै लिम्बू भाषामा ‘बलिहाङ’ हुन्छ। यो चाड संस्थाले जनाएको चाडभित्र पर्छ।

बलिहाङ तङ्नाम मनाउनुपर्छ भनेर किराँत याक्थुम चुम्लुङले सम्पूर्ण सहयात्री संस्थाहरुलाई सर्कुलर गर्ने गर्छ। उनी भन्छन्, ‘त्यही सर्कुलरका आधारमा हामी अन्य चाड पनि मनाउँछौं। बलिहाङ तङ्नाम पनि त्यसै अन्तर्गतको चाड भएकाले संस्कृतिको बचाउ गर्दै आएको देउसी भैली पनि यो वर्ष आयोजना गर्न सकिएन।’

लिम्बू संस्कृति अनुसार च्याब्रुङलाई खुसीका वर्पहरुमा बजाइन्छ। उधौली–उभौली, तिहार (बलिहाङ तङ्नाम), नयाँ वर्ष, विवाहजस्ता अवसरमा बजाइन्छ। मृत्यु संस्कारमा भने च्याब्रुङ बजाइँदैन तर मृतकको सम्झनामा बनाइने चौतारा उद्घाटनमा भने बजाइन्छ।

यो तिहारमा च्याब्रुङ बेरोजगार नै रह्यो। प्रेम भन्छन्, ‘पहिले त म आफैं लागेर देउसी खेलाउँथेँ। यो वर्ष पूरै फ्री भइयो नि ! फेरि हाम्रो देउसी लिम्बू भाषामै गाउनु पर्छ, भट्याउने काम पनि लिम्बू भाषामै। च्याब्रुङ बजाउने जिम्मेवारी पनि आफैं लिन्थेँ। साथीहरुले सहयोगी भूमिका निर्वाह गर्नुहुन्थ्यो।’

थोरैमा ७ दिनदेखि धेरैमा १५ दिनसम्म बलिहाङ तङ्नामको देउसी तयारीको समय हुन्छ। ‘दशैंअघि तयारी गर्न फुर्सद पनि हुँदैन। त्यसपछि साथीभाइ–चेलीबेटी भएर तयारी गर्थ्यो,’ उनले भने, ‘यसपालिको चाड भने कोरोनाले त्यसै गयो।’

च्याब्रुङ बजाउँदै जाँदा जब पुरानो हुन्छ तब छाला च्यातिन्छ वा पुरानो हुन्छ। त्यसो भएपछि चाहिँ यसलाई मर्मत चाहिन्छ। मादलकै सिस्टम हो, मर्मत गर्ने। राख्दाखेरि चाहिँ ओश नलाग्ने ठाउँमा तिखो बज्ने भागलाई उँभो फर्काएर राखिन्छ।

यसरी राखेको च्याब्रुङको तालमा साकेला, साकेवा वा धान नाच पनि सुन्दर बन्छ।

इलाम नगरपालिका–५ का हुतराज सापकोटा र कुमार रम्तेलले मारुनी नाचेको पोहोरको सम्झना गाउँका धेरै मानिसको आँखै अघि झल्किन्छ। कुमारका साथै उनका काका गोविन्द पनि मारुनी जगाएर नाच्न सिपालु छन्।

मारुनी कसरी जगाउनुपर्छ त ? भन्ने प्रश्नमा गोविन्द भन्छन्, ‘पहिला दियो कलश स्थापना गर्नुपर्छ। सिमे, भुमे, नाग नगिनी देवी देउराली पूजा गर्नुपर्छ। हामीले यस्तो नाचको लागि वर्षदिनको चाड तिहार अथवा हामीले यो चाड मनाउन लागिरहेका छौं भनेर मारुनी मनाउनु पर्छ।’ 

मारुनी प्रशन्न भइसकेपछि मन्त्र सकिन्छ र गीत सुरु हुन्छ, गाइन्छ र नाचिन्छ। यो पूर्वेली वा लोक भाकाको नभएर मारुनी गीत नै हुन्छ। गीतमा नाच्ने प्रमुख मारुनी हुन्छ भने मारुनीको साइडमा नाच्नेलाई ढँट्वारे भनिन्छ।

नाचमा मनोरञ्जन पनि कमी हुँदैन। मनोरञ्जनका लागि सँगै नाच्ने अर्को पात्रलाई चाहिँ मुकुण्डे भन्ने प्रचलन छ। मारुनी गीतमा यी तीन पात्रको अभिनय बेजोड देखिन्छ। खासगरी देउसी खेल्दाचाहिँ देउसीकै गीत प्रचलनमा छ। रातिको समयमा मारुनी जागिसकेपछि अनि घरमा लगिसकेपछि पहिला त मान्छे उठ्नेखालको गीत हुन्छ। मारुनी नाच सुहाउँदो।

विदाको वेलामा आशिष दिन पनि मारुनीविशेष तयार गरिएको हुन्छ। मारुनी जागेको र नजागेको मान्छेमा खासै फरक हुन्न। ‘यो एउटा परम्परा हो, पहिले पहिले कस्तो थियो भने– मारुनी नजगाइकन खेलेको देउसीको मान्यतै हुने थिएन। आजकल त्यो प्रचलन हराइसकेको भए पनि हामीले पोहोरसम्म चलाएका थियौँ,’ गोविन्दले परम्पराको संरक्षण गर्नुपर्छ भन्न शैलीमा भने, ‘तर यसपाली भने कोरोनाका कारण सम्भव भएन। चाड सकियो तर मारुनी गाउने, नाच्ने र हेर्ने इच्छा पूरा भएन।’

तर मारुनी जगाएर फेरि विसाउनुपर्छ। अर्को नाचलाई फेरि जगाउनुपर्छ। त्यसैले देउसीको तयारीको लागि केही लामो प्रकृया भएकाले आजभोलि मानिसहरु झन्झट मानेको पनि पाइन्छ। त्यसैले मारुनी नजगाइकनै त्यही अभिनय गरेर नाचेर देखाउने गरिएको पनि छ, देउसी भैलीमा। मारुनीसँग मादलको प्रयोग धेरै हुन्छ। मादलको ताल अनुसार नै मारुनीले स्टेपहरु परिवर्तन गर्छन्।

इलामको चर्चित धार्मिक स्थल लारुम्बाको देउसी पनि जिल्लाभरि प्रख्यात छ। त्यो देउसी त एकादशीसम्म चल्थ्यो। यसपालि त सुरु हुनै सकेन। चलोस् पनि कसरी ? महामारी जो छ।

थाहा भएकै कुरा हो, जब दसैं सकिएर तिहार सुरु हुन लाग्छ, फुर्सदमा भएका मानिसहरु मादलाको खरी लगाउन हिँड्छन्। लिम्बू समुदायका मानिसले भने च्याब्रुङको छाला फेर्छन्। तर, यो वर्ष भारमा बोझ बनेर बसिरहेका छन्, च्याब्रुङ र मादल। कति च्याब्रुङमा त दुलो परिसक्यो होला।

दुलो परेका च्याब्रुङ मर्मतको आशामा बसेका होलान्। तर मर्मत गर्ने हातहरु त अहिले सेनिटाइजर दलेर घरभित्र बसिरहेका छन्। त्यसैले च्याब्रुङले आउँदै गरेको उधौली पर्व पर्खिरहेको होला।

प्रतिक्रिया दिनुहोस्