बुधबार, मंसिर १०, २०७७

अर्थ

दोब्बर भाउ पाउँदा गोलभेँडा किसान  खुशी

1605855057.jpg

धादिङ- गत वर्ष उत्पादन कम र भाउ न्यून हुँदा धादिङ जिल्लाको सिद्धलेख गाउँपालिका ४ गौँथलेका किसान निरास थिए। 

लगानीसमेत उठाउन धौ धौ हुँदा डराइडराई तरकारी खेती गरेका उनीहरु यसपालि गोलभेँडाको दोब्बर मूल्य पाउँदा दंग छन्। वातावरण अनुकूल हुँदा उत्पादन पनि झण्डै दोब्बर नै भएको किसान सुनाउँछन्। 

गोलभेँडाले नसोचेको भाउ पाउँदा माथिल्लो गौँथलेका ४७ वर्षीय कुलबहादुर थापामगरलाई खुशीको सीमा छैन। झण्डै दुई रोपनीमा खेती गरेका उनी  थली बारीमा वृद्ध आमा र बालबालिकाको साथमा गोलभेँडा टिप्दै छन्। 

‘यसपालि राम्रो भाउ पायो, प्रति किलो पचासबाट उँधो झरेकै छैन, किलोको सत्तरी–असीसम्म आएको छ, धेरै खुशी छौँ’, गोलभेँडा टिपेर डालोमा राख्दै उनले थपे,‘पोहरको तुलनामा दोब्बर फलेको छ, भाउ पनि राम्रो छ।’ 
 
गौँथले गाउँका रातमाटे पाटा अहिले लटरम्म गोलभेँडाले भरिएको छ। उनको बारीमा एक खेपमा २० क्रेट गोलभेँडा उत्पादन हुन्छ। त्यसैले गत वर्ष भाउ नपाएर निरास किसानको मुहार उज्यालिएको प्रष्ट झल्किन्छ। 

कुलबहादुरले पोहोर झण्डै एक लाख बुझ्नु भएको थियो। त्यही जमिनमा यसपालि तीन छिमल टिप्दैमा एक लाख ५० हजार कमाइ भइसक्यो। अझै राम्रो फलेकाले दुई लाख आउँछ भन्नेमा उनी ढुक्क छन्। कोभिड १९ ले बाहिरबाट आयात नहुँदा भाउ आएको किसानको अनुमान छ। 

गोलभेँडामात्रै होइन गाउँमा काउली, बन्दा, बोडी, मास, भटमास, कोदो पनि फल्छ। बस्तुभाउ बाख्रा पालनसमेत  छ। उनको मास झण्डै दुई मुरी र भटमास एक मुरी उत्पादन हुन्छ। 

बीस वर्षदेखि तरकारी खेतीमा आबद्ध कुलबहादुर पहिलेको जस्तो दुःख नहुने सुनाउँछन्।  उनले भने, ‘सुरुमा डोकोमा बोकेर मलेखु–सलाङ्घाट झारेर काठमाडौँ पठाउने गरिन्थ्यो, अहिले घरमै गाडी आउँछ।’ 

मलेखुबाट त्रिशूली तरेपछि गाडीमा झण्डै एक घण्टाको कच्ची सडकको उकालो लागेपछि माथिल्लो गौँथले आइपुग्छ। तल्लो र माथिल्लो गौथलेमा राम्रो तरकारी खेती हुन्छ। 

ययाँको मौसम चिसो हुँदा उत्पादित तरकारीको स्वाद बेग्लै हुन्छ। किसान एउटै समस्या सिँचाइको अभाव रहेको बताउँछन्। 

कुलबहादुरले मात्रै तरबारी र पशुपालनबाट वार्षिक आठ–दश लाख कमाइ गर्ने गरेको सुनाए। विदेश जाने युवालाई नजान अनुरोध गर्दै उनी भन्छन्, ‘गरेदेखि यहीँ छ, अल्छी मान्नुभएन पसिना विदेश गए पनि चुहाउनै पर्छ, आफ्नै भूमि त्यही पसिना चुहायो भने सुन फल्छ।’ 

सो गाउँमा मगर जातिको मात्रै ३२ घर छ। सबै तरकारी खेतीमा मग्न छन्। अन्य समुदायको पनि पेशा खेती किसानी नै हो। छिमेकी लोकीमाया मगर पनि गोलभेँडा टिपेर बेच्नमै व्यस्त छन्। 

सिद्धलेख–४ का वडाध्यक्ष रामहरि बराकोटी पैसा लुकेर बसेको छ, टिप्न खोज्दैनन्, पैसा फल्छ झैँ गरेर विदेश जान्छन्, गरे यहीँ छ भन्छन्। गाउँका किसानले गरेको कमाइले पनि यो कुरा प्रष्ट पार्छ।

उनका अनुसार वडामा ७७५ घरधुरी रहेको छ। त्यसमा ९० प्रतिशत कृषि, १० प्रतिशत बाह्य रोजगारी र केही अन्य व्यवसायमा आबद्ध छन्। गोलभेँडा, काउली, बन्दा, घिउसिमी, बोडी, पशुपालन यहाँको मुख्य पेशा हो। 

माथिल्लो भागमा बाख्रापालन राम्रो छ भने तल्लो भागमा गाई–भैँसी पालेर दूध बिक्री हुन्छ। मौसमअनुसार सबै क्षेत्रमा तरकारी खेती हुन्छ। 

गाउँमा रहेको साना किसान कृषि सहकारी संस्थाले किसानलाई ठूलो सहयोग गरेको उनी बताउँछन्। सहकारीसँग स्थानीय तहको समेत राम्रो समन्वय रहेकाले किसानलाई राहत भएको  छ। संस्थालेले मात्रै वार्षिक २२ करोड बढी मूल्यको तरकारी संकलन गर्ने गरेको छ। 

आफ्नो वडामा मात्रै ३०० परिवारलाई कुनै न कुनैरुपमा कृषि अनुदान दिइएको र सडक सञ्जाल, विद्यालय, खानेपानीमा सहयोग गरिरहेको वडाध्यक्ष बराकोटीले जानकारी दिए।  उनका अनुसार गाउँमा ८० प्रतिशत घरधुरीमा एक घर एक धारा बनिसकेको र बाँकी २० प्रतिशतलाई पनि यही वर्ष पानी पुर्याउने लक्ष्य  छ। 

उनले भने, ‘गाउँवासी कृषिमा आबद्ध भएकाले कसरी अनुदानका कार्यक्रम ल्याएर प्रोत्साहन गर्न सकिन्छ र बजारीकरणमा सहयोग गर्न सकिन्छ भन्नेमा वडाको ध्यान छ।’ 

यस गाउँपालिकामा चैत÷वैशाखका समयमा बेँसीभेग आरुबाससटार, दारिमटार, निबुवाटार, मझुवाटार र बुङचुङ क्षेत्रमा पकेटकै रुपमा तरकारी उत्पादन हुन्छ। 

हिउँदे मौसममा माथिल्लो आरुबास, भेँडाबारी, गौँथले, सलाङ मैदान, खोगफोक, द्वारथोक, चालिसे, वसन्त, इटपानी, झारलाङ्दीलगायतमा तरकारी खेती राम्रो हुने गरेको छ। 

किसानले उत्पादित तरकारी सलाङ्घाट बजारमा किसानले ल्याउँछन्। यसपछि सहकारीले काठमाडौं, कास्की र  चितवनमा पुर्याइने गरेको छ। यस क्षेत्रमा गोलभेँडा अत्यन्तै धेरै उत्पादन हुने गरेको छ। 

प्रतिक्रिया दिनुहोस्